देशभरका एम्बुलेन्स चालकहरुले एकै पटक ४० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्र बुझाएका छन्।संयुक्त एम्बुलेन्स चालक संघ नेपालको आव्हानमा सर्लाही सहित विभिन्न जिल्लामा ज्ञापन पत्र बुझाइएको संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।उनका अनुसार स्वास्थ्य ऐन २०७५ संशोधन गर्न,स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्न,हाल क,ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिने लगायत माग राखेर ज्ञापन पत्र बुझाईएको हो ।
यसैगरी,एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्न,सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था गर्न,सरकारले चालकलाई स्वास्थ्य सामग्री,एम्बुलेन्समा आवश्यक औषधि र चालकलाई सुरक्षा पोसाक व्यवस्था गर्न संघले माग गरेको संयुक्त एम्बुलेन्स चालक संघ नेपाल सर्लाहीका अध्यक्ष देव कुमार लामाले बताए ।उनका अनुसार सबै जिल्लामा एउटै माग राखेर प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाउने केन्द्रीय निर्देशन अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी बिदामा रहेका कारण सहायक प्रमुख जिल्ला अधिकारी शिव हरी पोखरेलले ज्ञापनपत्र बुझाइएको हो ।
आफ्ना मागप्रति सरकार सकारात्मक नभएपछि देशभरबाट स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र पठाइएको संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य मोहन बहादुर कार्कीले बताए । उनका अनुसार देशभर करिब छ हजार एम्बुलेन्स सञ्चालनमा रहेका छन्। तीमध्ये ८० प्रतिशत एम्बुलेन्सहरु ऐनका कारण नवीकरण हुन सकेका छैनन् ।