भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि कांग्रेस सर्लाहीका सभापति सिंहद्धारा पदबाट राजिनामा

305 Shares

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले राजिनामा दिएका छन्।भ्रस्टाचार मुद्दामा दोषी ठहर भएका सभापति सिंहले अन्ततःपदबाट राजिनामा दिन बाध्य भएपछि राजिनामा दिएका हुन ।मनुष्मारा सिँचाइ आयोजना अन्तर्गतको क्षेत्रका रुख कटान प्रकरणमा २०७१ पुस २५ गते विशेष अदालतबाटै भ्रष्टाचारी ठहरिएका सभापति सिंह लामो समयदेखि सर्वोच्च अदालतको पुनरावेदन र पार्टीका नेतृत्वको आश्रयमा सभापति मै टिकिरहेका थिए।करिब १० वर्षसम्म मुद्दा अल्झाएर आफूलाई निर्दोष साबित गर्ने प्रयत्न गरेका सभापति सिंह अन्ततःसर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले २०८० फागुन १५ उनी विरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका थिए।
सभापति सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सजाय कम भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो।त्यसपछि उनले पनि फैसलामाथि पुनरावेदन गरे।तर,सर्वोच्च अदालतका न्यायाधीश रेग्मी र पौडेलको इजलासले दुवै दावी खारेज गर्दै विशेष अदालतको फैसलालाई नै कायम राख्यो।यससँगै सभापति सिंह कानुनी रूपमा पनि भ्रष्टाचारी प्रमाणित भए।तर,सर्लाही कांग्रेसको इतिहासमा सबैभन्दा लज्जास्पद पक्ष भने सभापति सिंहकै बचाउमा केन्द्रका शीर्ष नेताहरू लागेको थिए।स्थानीय कार्यकर्ताहरूले पटक–पटक आन्दोलन गर्दै पार्टी विधान अनुसार उनलाई निष्कासनको माग गरे पनि केन्द्रीय तहबाट जोगाइएका कारण उनले अहिले सम्म पदमै टिकिरहेका थिए। 
अन्ततःउनले अहिले राजिनामा पत्र बुझाउँदै आफू अन्यायको शिकार भएको दाबी गरे।तर, उनले दिएको अभिव्यक्ति कार्यकर्ताको दृष्टिमा“भ्रष्टाचार ढाकछोप गर्ने अन्तिम प्रयत्न मात्र” ठानिएको नेपाली कांग्रेस कै नेताहरु बताउँछन्।पार्टीभित्र व्यापक आलोचना खेपिरहेका सभापति सिंहलाई अन्ततःकानुनी बाध्यताले पदबाट हटायो ।
कांग्रेस विधान अनुसार उपसभापति डा.सरोज कुमार यादव कार्यवाहक सभापतिको भूमिकामा आउने भएका छन्।नेपाली कांग्रेस सर्लाहीमा सिंहको पतनले नयाँ शक्ति समीकरण सिर्जना गर्ने निश्चित रहेको केही नेताहरु बताउँछन् तर कार्यकर्ताहरूले भने“भ्रष्टाचारलाई पार्टीले ढाकछोप गर्ने संस्कार अन्त्य नगरेसम्म सर्लाही कांग्रेस शुद्धिकरण सम्भव नभएको बताए ।

सम्बन्धित समाचार