हरितालिका तीज सर्लाही सहित देशैभरी भव्यताका साथ मनाइँदै

396 Shares

हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व सर्लाही सहित देशभर धुमधामका साथ मनाइँदै छ।भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा,उपासना गरेमा पारिवारिक सुख,शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको र सोही अनुसार हरेक वर्ष भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा,उपासना गरेमा पारिवारिक सुख,शान्ति र कल्याणका लागि हिन्दू नेपाली नारीहरुले हरितालिका तीज मनाउने गर्छन् ।
सोमबार दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा सर्लाही सहित देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।द्धितियाका दिन राती दर खाएपछि तृतीयाका दिन तीजको व्रत बस्ने गरिन्छ ।निराहार व्रत बस्ने प्रचलनका कारण स्वास्थ्यमा गम्भीर किसिमका समस्याहरु देखिन सक्ने भएकाले तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुले सुझाब दिएका छन् ।
स्वास्थ्य मानिस र शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले सुझाब दिए ।निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न उनले सुझाव दिए ।सक्नेले निराहार,नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख छ।स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी,मकैको रोटी,स्याउ,सुन्तला र केराजस्ता फलहरु खाएरपनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।
यस्तै तीजको दिन मंगलबार(आज)सर्लाहीका विभिन्न मन्दिर तथा चोक,चौतारा र सार्वजनिक स्थलमा नाचगानसहित भव्यरुपमा सांस्कृतिक कार्यक्रम हुँदै छन्।लालबन्दीको डुमडुमे र हरिवनको सुखेपोखरीलगायत गाउँ गाउँका शिव मन्दिरहरुमा तीजको दिन उल्लेख्य संख्यामा महिलाहरु उपस्थित भएर नाचगान गर्ने प्रचलन रहेको छ । साथै मंगलबार(आज)नै सर्लाहीका ग्रामीण भेगमा चौरचन पर्व पनि मनाइँदै छ ।भदौ शुल्क चतुर्थीका दिन मधेश र पाहाडका कतिपय ठाँउहरुमा उदाउँदो चन्द्रमाको पूजा गरेर यो पर्व मनाईन्छ ।
लोककथा अनुसार,प्राचीन समयमा एक महिलाले चतुर्थीको व्रत गर्दा अधैर्य भएर चन्द्र उदाउनु अघि नै खाना खाइन्।त्यसले गर्दा उनको परिवारमा अशुभ घटना भयो।पछि उनले पुनः नियमपूर्वक व्रत गरी चन्द्रलाई पूजा गरेपछि परिवारमा शान्ति र समृद्धि फर्कियो।त्यसबेलादेखि नै महिलाले नियमपूर्वक चन्द्र पूजा गर्दै आफ्नो घर परिवारको मंगलकामना गर्ने परम्परा सुरु भएको मानिन्छ।यसरी,चौरचन पर्व धार्मिक श्रद्धा,पारिवारिक ऐक्यता र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो।

सम्बन्धित समाचार