सर्लाहीको हरिवन नगरपालिका ११ स्थित हरिवन बजारका दुई वटा सुनचाँदी पसलमा राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको टोलीले छापामारी गरेको छ।विशेष सूचनाको आधारमा राजश्वको टोलीले अचानक छापामारी गरेपछि सर्लाहीका सुनचाँदी व्यवसायीहरु आक्रोसित भएका छन् ।
राजश्वको टोलीले हरिवन नगरपालिका ११ स्थित हरिवन बजारको पप्पु जलरी उद्योग र जय किशन ज्वेलर्समा छापामारी गरेपछि सर्लाही सुनचाँदी व्यवसायी संघले चाडपर्व नजिकिँदै गर्दा राजस्वले बजारमा आतंक फैलाउने र विभिन्न बहनामा व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै आक्रोस व्यक्त गरेको छन् ।सत्यतथ्य नबुझी हचुवाको भरमा व्यवसायी एवम मजदुरलाई अनावश्यक दुःख दिने र झमेलामा पार्ने काम राजश्वको टोलीले गरेको भन्दै यस्ता कार्यलाई तुरुन्त रोक्न संघका अध्यक्ष निरन्जन कुमार साहले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका छन् ।
सरकारको व्यवसायप्रति नीति,नियम झन्झटिलो र अव्यवहारिक रहेको,अनुगमनको नाममा अनावश्यक दुःख दिने कार्य भएकाले तत्काल रोक्न संघले माग गरेको छ ।राजश्वको टोलीले देखाएको आतंकका विरुद्ध पहिलो चरणमा जिल्लाका सबै सुनचाँदी पसल बन्द गरिएको छ । राजस्वको टोलीले अनुगमन गरेका दुईवटा सुनचाँदी पसलबाट केही बिल तथा कागजात नियन्त्रणमा लिएर गएको स्थानीयले बताएका छन्।नियमित अनुगमनको क्रममा हरिवन नगरपालिका ११ का दुईवटा सुनचाँदी पसलको अनुगमन गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी पुष्पराज कोइरालाले बताए।उनले अनुगमन टोलीले प्रतिवेदन तयार पारेपछि मात्रै यसबारेमा थप बोल्न सकिने समेत बताए।अनुगमन गरिएका दुइवटै पसलका सञ्चालकलाई थप सोधपुछका लागि पथलैया स्थित कार्यालयमै बोलाइएको कार्यालयले जनाएको छ ।
यता,राजश्वको टोलीले अनुगमन तथा छापामारी गरि समानहरु तथा विल विजक नियन्त्रणमा लिने र तत्कालै कुनै विवरण सार्वजनिक नगर्ने अनी रातारात कमिसन बार्गेनिङ गर्ने र कमिसन असुलेर“हात्ति आयो हात्ति आयो फुस्सा”भने झैँ छाड्ने गरेका धेरै उद्धाहरणहरु रहेका स्थानीय जानकारहरु बताउँछन्।प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान कार्यालयको काम अनुसन्धान गर्नुको सट्टा अनुसन्धानको वाहनामा कमिसन असुल्ने मात्रै भएको उनीहरुको आरोप छ ।