सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सोलार खरिद देखि आयूर्वेद औषधि खरिद सम्म अनियमितता गर्ने गरेको रहस्य बाहिरिएको छ।अनियमितता र भ्रष्टाचारमा पटक पटक विवादित बनेको चन्द्रनगर गाउँँपालिका र गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले सोलार खरिद देखि आयूर्वेद औषधि खरिद सम्म करिब रु २५ लाख अनियमितता गरेका महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुशासन, विकास र समृद्धिका भाषण गरि नथाक्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले विद्युतीय चुलो खरिदमा रु आठ लाख अनियमितता र आयुर्वेद औषधि खरिदमा नियम उल्लंघन, गरी रु पाँच लाख अनियमितता गरेका प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार चन्द्रनगर गाउँपालिकाले रु आठ लाख खर्च गरी दुई सय थान विद्युतीय चुलो खरिद गरेकोे थियो।नविकरणीय उर्जा अनुदान परिचालन कार्यविधि २०७३ अनुसार उपभोक्ताले १० प्रतिशत नगद योगदानको आधारमा साना जलविद्युत,बायोग्यास वा अन्य वैकल्पिक उर्जा प्रवद्र्धन गर्ने व्यवस्था छ।तर,चन्द्रनगरले उपभोक्ताको सहभागिता सुनिश्चित नगरी कोटेशनमार्फतै नेपाल उर्जा विकास कम्पनी प्रा.लि.बाट प्रतिचुलो रु चार हजारका दरले खरिद गरी रु आठ लाख भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यविधि अनुसार लाभग्राही पहिचान गरी वितरण गर्नुपर्नेमा खरिद गरिएको चुलो जिन्सी खातामा मात्र दाखिला भएको र उपभोक्तासम्म पुगेको छैन् । यसरी नियम विपरीत खरिद तथा भुक्तानी दिइएकाले रु आठ लाख अनियमितता गरिएको महालेखाको निष्कर्ष छ ।
प्रतिवेदन अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को नियम ८५ को उपनियम अनुसार,खरिद गर्दा कम्तीमा तीन आपूर्तिकर्ताबाट लिखित दरभाउपत्र लिनु अनिवार्य छ। त्यस्तै,सो आपूर्तिकर्ताले आफ्नो उत्पादनको खुद्राम तथा डिलर मूल्य उल्लेख हुनुपर्ने व्यवस्था छ।तर चन्द्रनगर गाउँपालिकाले प्राकृतिक हर्बास्युटिकल्स प्रा.लि.सँग रु.चार लाख ९९ हजार नौ सय ९६ को आयुर्वेद औषधि खरिद गर्दा नियम उल्लंंघन गरेको छ। प्रतिवेदनमा यस रकम अनियमितता भएको उल्लेख गरिएको छ।महालेखा परीक्षकले पालिकालाई खरिद प्रक्रियालाई नियमअनुसार नियमित गर्न निर्देशन दिएको छ। यस विषयमा पालिकाले तत्काल प्रतिक्रिया नदिएको जनाइएको छ।
प्रतिवेदनमा भनिएको छ कि सोझै खरिद गर्दा मौजुदा सूचीमा रहेका कम्तीमा तीन आपूर्तिकर्ताबाट दरभाउपत्र वा प्रस्ताव माग गरिनु पर्नेमा पालिकाले नियमको पालना नगरी सामान खरिद गरेको देखिएको छ।प्रतिवेदन अनुसार चन्न्द्रनगर गाउँपालिका ७ मा रहेको ट्रान्सफर्मर मर्मत खर्चमा कानूनी प्रक्रिया उल्लंघन गरि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,२०७६ को नियम ८५(४) कोे उल्लंघघन गरेको पाइएको हो ।तर,चन्द्रनगर गाउँपालिकाले रु दुई लाखको खर्च गर्दा पेश गरिएका दरभाउ पत्रमा कुनै पनि प्रस्ताव दाताको छाप नरहेको प्रतिवेदनले औंल्याएको छ।महालेखाले प्रस्तुत दरभाउ पत्र नै सम्बन्धित आपूर्तिकर्ता कै हो भन्ने यकिन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै पालिकाले अनियमित रूपमा रु.दुई लाख खर्च गरेको देखिएको र नियमित प्रक्रिया नअपनाई गरिएको यस खर्चलाई प्रतिवेदनले अनियमित मानेको छ। यसबारेमा पालिकाले थप स्पष्टता दिनुपर्ने तथा रकमलाई नियमित गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले दिएको छ।
प्रतिवेदनले पालिकामा सार्वजनिक खर्च व्यवस्थापनमै गम्भीर अनियमितता भएको देखाएको छ। प्रतिवेदन अनुसार गाउँपालिकाले सोलार खरिदमा मात्रै करिब रु नौ लाख ४० हजार नियम विपरीत भुक्तानी गरेको उल्लेख छ।नविकरणीय उर्जा अनुदान परिचालन कार्यविधि २०७३ ले उपभोक्ता समितिको माध्यमबाट १० प्रतिशत नगद योगदानमा मात्र वैकल्पिक उर्जाका स्रोत जस्तै साना जलविद्युत,बायोग्याँस प्लान्ट वा सोलार प्रणाली जडान गर्न सक्ने व्यवस्था छ।
तर गाउँपालिकाले उक्त कार्यविधि विपरित पीआर मल्टीपल ट्रेडस एण्ड सप्लायर्स प्रा.लि. मार्फत आठ थान सोलार खरिद गरी रु.नौ लाख ४० हजार एक सय चार भुक्तानी गरेको छ।खरिद गरिएका ती सोलार जिन्सी खातामा दाखिला गरिएको देखिए पनि लाभग्राही पहिचान, जडान तथा वितरण भएको प्रमाण संलग्न नगरिएको महालेखाले प्रष्ट्याएको छ। त्यसकारण खरिद प्रक्रिया नै नियमविपरीत देखिएको र तत्काल नियमित गर्नुपर्ने निष्कर्ष प्रतिवेदनमा समेटिएको छ।
लेखा परीक्षण प्रतिवेदनले पालिकाले आवश्यकता पहिचान नगरी मनपरी ढंगले खर्च गरेको जनाउँदै सो रकम अनियमित भएको उल्लेख गरेको छ। प्रतिवेदन सार्वजनिक भएपछि चन्द्रनगर गाउँपालिका सार्वजनिक खर्चमा पारदर्शिता र जवाफदेहिताको सवालमा प्रश्न चिन्हसहित आलोचनामा परेको छ।