राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिक लगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक,जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षसँग सहयोग मागेका हुन्।उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन जी पुस्ताका प्रतिनिधि समेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपील गरेका छन्।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय भवनमा समेत तोडफोड र आगजनी गरेका थिए।सोमबारबाट सुरु भएको जेन जी पुस्ताको प्रदर्शनका क्रममा संघीय राजधानी काठमाण्डौँ सहित देशभरीका अधिकांक सरकारी कार्यालय र संवैधानिक निकायका कार्यालयहरूमा आक्रमण र आगजनी भएको छ।उनीहरूको निसानामा शीतल निवासस्थित राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार,सर्वोच्च अदालत,बालुवाटारस्थित प्रधानमन्त्री निवास,टंगलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सहित देशभरका सरकारी कार्यालयहरु परेका छन्।सिंहदरबार हातामा प्रदर्शनकारीले दिउँसो सुरक्षाकर्मीको हतियार समेत खोसेको थिए।संघीय राजधानी काठमाण्डौँका विभिन्न स्थानमा रहेका नेताहरुका घर र कार्यालयहरूमा पनि आन्दोलनकारीहरुले आक्रमण गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका छन्।राष्ट्रपति पौडेलले“उनको राजीनामा संविधान बमोजिम स्वीकृत गरी अर्को व्यवस्था नहुञ्जेलका लागि उनलाई नै काम चलाउ सरकारको जिम्मेवारी सुम्पिएका”राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार “संविधान बमोजिमको प्रक्रिया अघि बढाउन राष्ट्रपति पौडेलले उच्च स्तरमा परामर्श सुरु गरिसकेका छन्।”नेपाल सरकारका चार वटै सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूले सर्वसाधारणलाई संयमित हुन आव्हान गरेका छन्।प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भइसकेको परिस्थिति औँल्याउँदै चारवटै सुरक्षा निकायका प्रमुखहरू, मुख्यसचिव र गृहसचिवले उनीहरूले धनजनको थप क्षति हुन नदिन भन्दै राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न आमनागरिक सबैलाई आव्हान गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल,प्रधानसेनापति अशोकराज सिग्देल,गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका महानिर्देशक राजु अर्याल,प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो आव्हान गरेका हुन्।
मंगलबार थप दुई जनाको मृत्यु
काठमाण्डौमा मंगलबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचारको क्रममा निजामती कर्मचारी अस्पतालका मृत्यु भएको छ ।अस्पतालका कार्यकारी निर्देशक मोहन चन्द्र रेग्मीले अपरान्ह २ बजेसम्म ९२ जना घाइते ल्याइएका र तीमध्ये दुई जनाको मृत्यु भएको जानकारी दिए।

संघीय संसद् भवनमा आगजनी
सोमवार संसद् भवन परिसरमा प्रदर्शनकारीहरू छिरेर तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाएकने थियो।आक्रोशित प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार फेरि आक्रमण तथा आगजनी गरेका छन्।प्रदर्शनकारीहरूले सोमबार पनि त्यहाँ तोडफोड र आगजनी गरेका थिए।
चिनियाँ सहयोगमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभा राखिएको छ।सोमवार संसद् भवन परिसरमा प्रहरीले गोली चलाउँदा कैयौँ व्यक्तिको मृत्यु भएको थियो।भने सयौँ युवाहरु घाईते भएका छन् ।

पूर्वराजा शाहद्वारा समाधानका लागि आव्हान
पूर्वराजा ज्ञानेन्द्र शाहले“जेन जी”पुस्ताका प्रदर्शनकारीहरूको ज्यान जाने गरी सोमवार भएको घटनाको निन्दा गरेका छन्।शाहको संवाद सचिवालयले मंगलबार एउटा विज्ञप्ति जारी गर्दै जारी प्रदर्शनहरूबारे चासो व्यक्त गरेको हो ।
“जेन जी”ले देश र समाजका निम्ति केही राम्रा काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार युवायुवतीहरुले यही भदौ २३ गते काठमाण्डौँलगायत देशका धेरैजसो प्रमुख सहरहरूमा विरोध प्रदर्शन मार्फत् पोखेको आक्रोश आम चासोको विषय हो,”विज्ञप्तिमा भनिएको छ।

“युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद एवम निन्दनीय कार्य भएको छ।”भनिएको छ।उक्त घटना नेपाली समाजको मान्यता विपरीत रहेको पनि पूर्वराजा शाहको सचिवालयले बताएको छ।
घटनामा ज्यान गुमाएका युवाहरूप्रति पूर्वराजा शाह र परिवारका तर्फबाट श्रद्धाञ्जलि तथा उनीहरूका अभिभावकमा समवेदना व्यक्त गरिएको छ।देशभित्रबाटै समस्याको समाधान खोज्न समेत उनले अपील गरेका छन्। “पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्,अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् ” विज्ञप्तिमा भनिएको छ।
प्रदर्शनकारीहरूको निसानामा नेताका घर र पार्टी कार्यालय
स्थानीय प्रशासनले कफ्र्यु लगाएको भए पनि प्रदर्शनकारीहरूले संघीय राजधानी काठमाण्डौँ सहित देशभरका विभिन्न स्थानमा रहेका राजनीतिक नेता तथा पदाधिकारीहरूका घर तथा कार्यालयमा आक्रमण,तोडफोड र आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको काठमाण्डौँ र धनगढीस्थित छुट्टाछुट्टै निवासमा आक्रमण गरेका छन्।काठमाण्डौँमै राष्ट्रपति पौडेल तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निजी निवास,प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा तोडफोड र आगजनी गरेका छन् भने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को खुमलटारस्थित निवासन प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका छन्।त्यसैगरी चितवनमा रहेको प्रचण्डको घरमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।
नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय,नेकपा एमालेको च्यासलस्थित मुख्यालय,नेकपा(एकिकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय र माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा प्रदर्शनकारीहरुले आगजनी गरेका छन्।प्रदर्शनकारीहरुहरुले निवर्तमान गृहमन्त्री रमेश लेखक,ऊर्जामन्त्री दीपक खड्का लगायत अरु नेताहरुकोे घरमा तोडफोड र आगजनी गरेका छन् ।
संद्धीय संसद्बाहिर भेला भएका प्रदर्शनकारीलाई तितर बितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।नजिकै रहेको नापी विभागको भवनमा पनि आगजनी भएपछि उडेको धुवाँको कालो मुस्लो टाढासम्म देखिएको छ।संघीय राजधानी सहित देशभरका विभिन्न स्थानहरुमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
संविधान पालना गराउन नेपाली सेना“प्रतिबद्ध”: सहायक रथी बस्नेत
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले संविधानको पालना गराउन सेना प्रतिबद्ध रहेको बताएका छन्।जेन जी प्रदर्शनको दोस्रो दिन देशका विभिन्न ठाउँमा लगाइएको कफ्र्यु आदेशका विचपनि तोडफोडका घटनाहरु घटि रहेका छन्।“नेपाली सेना संविधानको पालना गराउन प्रतिबद्ध छ।अहिले म योभन्दा बढी बोल्न सक्ने अवस्थामा छैन।”उनले बताए ।
ईयूद्वारा स्वतन्त्र अनुसन्धानको आव्हान
नेपालमा जेन जी युवा पुस्ताले गरेको विरोध प्रदर्शनका क्रममा भएको हिंसाप्रति युरोपेली संघ ईयूले गहिरो दुःख व्यक्त गरेको छ।युरोपेली संघले मंगलबार विज्ञप्तिमा जारी गर्दै सोमवार प्रदर्शकारीहरू मारिएका घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने जनाएको छ।ईयूले संयम अपनाउन आव्हान गरेको छ र अधिकारीहरूलाई जीवन रक्षाका लागि आवश्यक सबै उपायहरू अपनाउन आग्रह गरेको छ।ईयूले मतभेदहरू समाधान गर्न र सबै मौलिक अधिकारहरू कायम राख्ने सुनिश्चितका लागि सबै पक्षहरू बीचको संवादलाई प्रोत्साहन गर्ने पनि बताएको छ।