हुलाक सेवालाई स्मार्ट र डिजिटल बनाउँदै लैजाने विभागको तयारी रहेपनि बाराका कुनैपनि हुलाक कार्यालयहरुले पिट्स तथा स्मार्ट सेवा सुरु नगरेका पाइएको छ।दुई वटा उपमहा नगरपालिका,पाँच वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी १६ वटा पालिका रहेका र सबै पालिकामा पालिका हुलाक कार्यालय रहेका भएपनि कुनैपनि पालिका हुलाक कार्यालयबाट यो समाचार तयार पर्दा सम्म पिट्स तथा स्मार्ट सेवा सुरु नभएको पाइएको हो ।
हुलाक अधिकृतको दरबन्दी रहेको जिल्ला हुलाक कार्यालयमा नायव सुब्बाले निमित्त हुलाक अधिकृतको रुपमा काम गरि रहेका भएपनि त्यसतर्फ विभागको समेत ध्यानाकर्षण नभएको पाइएको छ ।जिल्लामा जति धेरै पालिका हुलाक कार्यालय छन्।त्यती नै धेरै बजेट आउने भएपनि जिल्ला हुलाक कार्यालय बाराले रु २९ लाख ११ हजार बजेट प्राप्त गरेकोमा ८२ दशमलव चार प्रतिशत रकम खर्च गरेपनि उत्त बजेट खर्चबाट हुलाक क्षेत्रमा हुनु पर्ने सुधारका कुनै काम नभएको हुलाकका एक कर्मचारीले बताए ।
१६ वटा पालिका हुलाक कार्यालय रहेको बारामा चार वटा पालिका हुलाक कार्यालयको आफ्नो भवन रहेको छ भने जिल्ला हुलाक कार्यालय सहित छ वटा पालिका हुलाक कार्यालयहरुको आफ्नो जमिन रहेको छ ।जिल्ला हुलाक कार्यालय बाराले उपलब्ध गराएको तथ्यांक अनुसार बाराका कुनैपनि पालिकाहरुले स्वतःप्रकाशन नगरेको पाइएको छ।यसबाट पनि बारामा सूचनाको हक कार्यन्वयन निकै कमजोर देखिएको छ।४१ वटा संघीय कार्यालय,१३ वटा प्रादेशिक कार्यालय,१६ वटा पालिका कार्यालय र १४ वटा संस्थान,समिति,निगम तथा सरकारी बैँक तथा बित्तिय संस्थाहरु गरी कुल ८४ वटा कार्यालय रहेको बाराका कुनैपनि कार्यालयले स्वतःप्रकाशन नगरेका जिल्ला हुलाक कार्यालय बाराले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
एउटा हलुका सवारी साधन,पाँच वटा मोटरसाईकल र एउटा स्कुटर गरी सात वटा सवारी साधन रहेको जिल्ला हुलाक कार्यालयमा हुलाक अधिकृत सहित कार्यालय सहयोगी सम्म ८१ जनाको दरबन्दी रहेको जिल्ला हुलाक कार्यालय बारामा हाल ६९ जना कार्यरत रहेका छन् भने १२ जनाको दरबन्दी खाली रहेको छ।जिल्ला हुलाक कार्यालय प्रमुख हुलाक अधिकृत सहित १० जना खरीदार सहित १२ जनाको दरबन्दी खाली छ भने नायव सुब्बा राजेश कुमार डंगोलले निमित्त प्रमुखको रुपमा लामो समयदेखि कार्यालय चलाई आफ्नो मानोमानी गरि रहेका हुलाक स्रोतको दाबी छ।केही महिना पहिला करारमा भर्ना गरीएका हुलाकी तथा हल्काराहरुमा चर्काे कमिसन असुलेर करारमा कर्मचारीहरु भनाई गरिएको समेत स्रोतको दाबी छ ।
यता,हुलाक सेवा विभागका सूचना अधिकारी ध्रुव आचार्यका अनुसार देशभरका ३४ वटा जिल्ला हुलाक कार्यालयहरु निमित्तको भरमा सञ्चालनमा रहेका छन् ।जसका कारण हुलाक सेवा विभागले बनाएको योजना अनुसार काम काम हुन नसकेको उनले स्वीकार गरे ।