सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छन्।उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मन्त्रिपरिषद्को प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन।यससँगै पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला सरकार प्रमुखको रुपमा पनि अर्को इतिहास बनाएकी छन् ।
“जेन जी”आन्दोलनले नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला सरकार प्रमुख बन्न सफल भएकी हुन्।गत भदौ २३ गते“जेन जी”पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा सुरक्षाकर्मीहरु सहित ५१ जना युवाको मृत्यु भएको थियो।“जेन जी”आन्दोलनले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेपछि वर्तमान सरकार घुँडा टेक्न सफल भएको थियो ।
त्यसपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए।ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको लामो छलफलमा संसद् विघटन र “जेन जी”का माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।
अन्तरिम सरकार प्रमुख बनेकी कार्की सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिईन्।नेपालमा न्यायालय स्थापना भएको ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी औपचारिक नियुक्तिपछि नेपालमा प्रजातन्त्र आएको ७५ वर्षमा अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन ।
वि.सं २००९ जेठ २५ गते विराटनगरमा जन्मिएकी उनी महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दू विश्व विद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिईन् ।
उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस,धरानमा अध्यापन गरेकी थिइन् ।विराटनगरस्थित नेपाली कांग्रेसको कोइराला परिवारसँग निकट रहेको पारिवारिक पृष्ठभूमिमा जन्मिएकी उनले दुर्गा सुवेदीसँग विवाह गरिन्।वकिलबाट प्रधानन्यायाधीश सम्मको यात्रामा पती दुर्गाको साथ र इमानदारिताको ठूलो भूमिका रहेको उनैले बताउने गरेकी छन् ।
२०३५ सालमा वकालत सुरु गरेकी उनले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारी सम्हालिन्।२०६१ मा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी थिईन् ।उनी २०६७ मा स्थायी न्यायाधीश भएकी थिइन् ।तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले“सुशीला कार्कीमा क्षमता देखेर नै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको”बताएका थिए।न्यायाधीशका रूपमा कांग्रेस नेता जेपी गुप्ता बहालवाला सञ्चारमन्त्री रहेकै बेला भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि कार्कीको चर्चा हुन थालेको थियो ।
प्रधानन्यायाधीश भएकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्की विरुद्धको मुद्दामा फैसला पुनरावलोकन गर्न भनी दिएको निवेदनमा कार्कीले मुद्दा ब्युँतिने गरी निस्सा हुने आदेश दिएकी थिइन्।त्यसपछिको उनी बाहेकका तीन न्यायाधीशको पूर्ण इजलासले लोकमानसिंह पदमुक्त हुने निर्णय गरेका थिए ।
२०७३ सालमा प्रधानन्यायाधीश नियुक्त भएकी कार्कीको ११ महिनाको कार्यकाल विवादरहित भने बन्न सकेन।११ महिने कार्यकालयमा उनले महाअभियोग खेपिन्।त्यतिबेला नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वको सरकार थियो।नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) को वन्ने भन्ने विषयको विवादलाई लिएर कार्कीमाथि संसद् सचिवालयमा महाअभियोग दर्ता भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वकको तत्कालीन सरकारले आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए।सर्वोच्चले एकै दिनमा निवेदन लिएर सोही दिन चन्दलाई प्रहरीको प्रमुख नियुक्त नगर्न आदेश दिएको थियो।सो फैसलाका कारण कार्कीमाथि महाअभियोग दर्ता भयो।कार्कीविरुद्ध २०७४ बैशाख १७ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई सय ४९ सांसदहरुको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो।तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र दिइयो ।
यद्यपि तत्कालीन न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाअभियोग निष्क्रिय हुने भन्दै कार्कीलाई सर्वोच्च फर्काएको थियो।अवकाशको अन्तिम समयमा भने सुडान घोटाला भ्रष्टाचार प्रकरणको विषयमा भने उनी विवादरहित बन्न सकिनन्।बहुचर्चित सुडान घोटालामा करोडौँ हिनामिना गर्ने नेपाल प्रहरीका पूर्वमहानिरिक्षकहरु ओमविक्रम राना,होमबहादुर गुरुङ, तत्कालीन प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीले करोडौको हिनामिना गर्दा न्यून सजाय दिएको भनी आलोचना भएको थियो ।
२०६२÷०६३ को १९ दिने दोस्रो जनआन्दोलनपछि बनेको संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ जारी भइसकेपछि प्रधानन्यायाधीश भएकी कार्कीलाई संघीय संरचना अनुसार कसरी अघि बढ्ने भन्ने चुनौती थियो।सातै प्रदेशमा उच्च अदालत गठन र न्यायपालिकाको प्रशासनिक चुनौतीलाई चिर्दै उनले न्यायालय सम्हालेकी थिइन् ।
उनले २०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म यो पद सम्हालेकी थिइन् । न्यून न्यायाधीशहरुबाट न्यायिक कार्यसम्पादन भइरहेका बेला वर्षौदेखि न्यायाधीश रिक्तताको अवस्थामा उनले न्यायापालिकाको नेतृत्व लिएकी थिइन् ।
न्यायाधीश नियुक्त गर्दा उनले राजनीतिक व्यक्तिलाई ठाउँ दिएको र निष्पक्ष निर्णय गर्न नसकेको भन्ने उनीमाथि आरोप लागेको थियो।२०७३ पुस २९ मा कार्कीले न्याय परिषद्को बहुमत सदस्यको बलमा उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गरेकी थिइन् । न्यायाधीश नियुक्तिको प्रक्रियाको विषयमा बैधानिकताको प्रश्न उठेको थियो।सो विरुद्ध सर्वोच्चमा रिट पनि दर्ता भयो।तर सर्वोच्चले २०७५ चैत २९ मा सो रिट खारेज गरिदियो । अदालतमा १० वर्षभन्दा लामो समयदेखि सुनुवाइ हुन नसकेर थन्किएर बसिरहेका बेला न्यायाधीश नियुक्त हुन नसक्दा हजारौँ विचाराधीन मुद्दा फस्र्यौट हुन सकेको थिएन।विवादकै बिच रहेर उनले उच्च अदालतको न्यायाधीश नियुक्त गर्दा अपजसको भारी खेप्नु परेको थियो ।
उनले न्यायालय सम्हाल्दा सर्वसाधारणबाट त्यति प्रश्न उठाएका थिएनन्।उनले न्यायालयमा हुँदा भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिएर सुनुवाइ गरेकी थिइन्।न्यायालयबाट ६५ वर्ष उमेर हदका कारण प्रधानन्यायाधीशबाट सेवा निवृत्त भएपछि पनि भ्रष्टाचार र कुशासनको विषयमा खरो रुपमा अभियानकै रुपमा उत्रिरहेकी थिइन्।
प्रधानमन्त्रीले पदबाट ओलीले राजीनामा दिएपछि रिक्तता भएपछि उनी सरकार प्रमुखको पद सम्हाल्न आइपुगेकी छन्।अहिले भने अनुमान नगरिएको परिस्थितिमाझ निकै प्रतिकूल अवस्थामा उनी अन्तरिम सरकारको नेतृत्वमा आइपुगेकी हुन ।उनी नेपालको ४२ औँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।