Close This

चक्रघट्टाका निवर्तमान अध्यक्ष यादव सहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१६ गते   ३४३ पटक हेरिएको

सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निवर्तमान अध्यक्ष विक्रम यादवसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । निवर्तमान अध्यक्ष यादव,निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठक,इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहा लगायतलाई विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिका भित्रको पक्की नाला निर्माण गर्दा झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदन कै आधारमा रु ४ लाख ४२ हजार ५ सय ४४ रुपैयाँ १३ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
अख्तियारले उनीहरूविरुद्ध प्रतिव्यक्ती रु ३ लाख ४१ हजार ५ सय ४४ रुपैयाँ १३ पैसा बिगो कायम गरी कैद एवम जरिबाना तथा बिगोसमेत असुल उपर हुने मागदाबी गरेको हो । 
त्यस्तै चक्रघट्टा गाउँपालिका ४ का वडाध्यक्ष अब्दुल अहद कवारी,सव इन्जिनियर जितेन्द्र यादव,गाउँ कार्यपालिका सदस्यहरू विजय कुमार चौधरी,विनोद साह,उपभोक्ता समितिका अध्यक्ष शेख मो.इरफान अलि,कोषाध्यक्ष हजरा खातुन र सचिव मो.इरफानलाई पनि विपक्षी बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech