जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि सम्पूर्ण सेवा प्रवाह गर्ने भएको छ ।सोमबारदेखि नागरिकता,राष्ट्रिय परिचय पत्र सहितका सबै सेवा सूरु हुने सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले जानकारी दिए ।उनका अनुसार आगजनी र तोडफोड नभएका अन्य कार्यालयहरुलाई पनि पूर्णरुपमा सेवा दिन निर्देशन दिइएको छ।सर्लाहीका इश्वरपुर, लालबन्दी, हरिवन, बागमती,हरिपुर र बरहथवा नगरपालिकाका साथै चन्द्रनगर गाउँपालिकामा आगजनी र तोडफोड भएका कारण समस्या रहे पनि अन्य गाउँपालिका र नगरपालिकाले आईतबार(आज)देखि नै नियमित सेवा दिन थालिसकेका छन् ।आगजनी भएका पालिकाहरुमा पनि प्रमुख प्रशासकीय अधिकृतहरुसँग कुरा गरेर वैकल्पिक व्यवस्था गरी आधारभूत सेवा तत्काल प्रवाह गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
जिल्लामा रहेका संघीय कार्यालयमध्ये मलंगवास्थित रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ,सर्लाहीको फर्निचर र सवारी साधन आगजनीबाट जलेको छ।अवस्था सामान्य बनाउन र सबै कार्यालयहरुको सेवा पूर्ववत रुपमा फर्काउन समन्वय जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।तोडफोड तथा आगजनी भएका पाकिला तथा कार्यालयहरुमा स्थलगत अवलोकन गरी मुचुल्का बनाउने काम पनि सुरु भई सकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।