चाडपर्वहरू नेपाली समाजका लागि आपसी सद्भाव,मिलन, र सांस्कृतिक एकताका अमूल्य अवसर हुन्।दशैं,तिहार र छठ जस्ता महान चाडपर्वको अवसर पारेर राजनीतिक दल तथा नेताहरूले शुभकामना आदान–प्रदान कार्यक्रम गर्नु नेपालको राजनीतिक संस्कृतिमा नौलो होइन।तर,जब यही सांस्कृतिक र सामाजिक मिलनका पवित्र मञ्चहरूलाई राजनीतिक स्वार्थ पूरा गर्ने,आचारसंहिताको धज्जी उडाउने र निर्वाचन प्रचार प्रसारको माध्यम बनाइन्छ,तब लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठ्छ।पछिल्लो समय नेपालका राजनीतिक दलहरुले चाडपर्वको शुभकामना आदान–प्रदानको आवरणमा जुन तरिकाले आक्रामक चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन्।त्यो राजनीतिक बेइमानी र अवसरवादको पराकाष्ठा हो।
परिवर्तन र सुशासनको ठूला–ठूला नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जुन किसिमको राजनीतिक संस्कारको अपेक्षा गरिएको थियो।व्यवहारमा त्यो ठीक विपरीत देखिएको छ।पुराना दलका विकृति र विसंगतिको विरोध गर्दै राजनीतिमा प्रवेश गरेका यी नयाँ भनिने पात्रहरूले पनि तिनै पुराना दलका सबैभन्दा खराब तौरतरिका र तिकड्महरूलाई अन्धानुकरण गरिरहेका छन्।निर्वाचन आयोगले तोकेको आचारसंहिता,नैतिक सीमा र राजनीतिक मर्यादालाई ठाडै बेवास्ता गर्दै चाडपर्वको खोल ओढेर भोट माग्ने यो प्रवृत्तिले नेपाली राजनीतिलाई झन् गहिरो दलदलमा धकेल्दैछ।
सांस्कृतिक चाडपर्वहरूलाई राजनीतिक रङ्ग दिनु र त्यसलाई जनताको आस्थामाथि खेलबाड गर्ने साधन बनाउनु कुनै पनि हालतमा क्षम्य हुन सक्दैन।रास्वपा सहित अन्य पुराना भनेका दल र तीनका नेता तथा कार्यकर्ताहरूले देशका विभिन्न क्षेत्रमा आयोजना गरेका भनिएका तथाकथित ’शुभकामना आदान–प्रदान सभा’हरूलाई नजिकबाट नियाल्दा प्रस्ट हुन्छ कि यी कार्यक्रमहरूको उद्देश्य न त चाडपर्वको प्रवद्र्धन गर्नु हो,न त आपसी सद्भाव बढाउनु नै।मञ्चहरूमा राखिएका ठूला ब्यानर,गुञ्जिएका चुनावी नारा र नेताहरूले भाषणमा ओकलिरहेका भोट माग्ने शैलीले ती कार्यक्रमहरू विशुद्ध चुनावी सभा थिए भन्ने कुरा घाम जतिकै छर्लङ्ग पार्छ।चाडपर्वको यो पवित्र समयमा जनताको धार्मिक र सांस्कृतिक भावनालाई बन्धक बनाएर आफ्नो राजनीतिक रोटी सेक्ने यो हर्कतले रास्वपाको समेत मुकुट भित्रको असली अनुहार नाङ्गो पारेको छ।नयाँ राजनीतिक शक्तिको रूपमा आफूलाई उभ्याउने रास्वपाले यदि पुराना दलभन्दा फरक छु भन्ने दाबी गर्छ भने,उसको आचरणमा पनि त्यो भिन्नता झल्किनुपर्छ।तर यहाँ त उल्टै’चोरेको चन्दनको भाडै सास्ती’भने झैं,पुराना दलले गर्ने गरेका सबैखाले पाखण्ड र तिकड्महरूमा रास्वपा अब्बल देखिन थालेको छ।स्थानीय निकायको निर्वाचन घोषणा हुनुअघि नै चाडपर्वको नाममा मतदाता प्रभावित पार्ने यस्ता प्रपञ्च रचिनु लोकतान्त्रिक पद्धति माथिको ठाडो प्रहार हो। के जनताले परिवर्तनको आकांक्षा राख्दै यी दलहरूलाई साथ दिएका थिए कि उनीहरूले पुरानै शैलीका विकृति र अवसरवादलाई अझ परिष्कृत रूपमा देख्न पाइवोस ?
अहिले आम नागरिकले महँगी,बेरोजगारी र राजनीतिक अस्थिरताका कारण चरम निराशा भोगिरहेका छन्। चाडपर्वको मुखमा जनता आफ्नो चुलो चौको कसरी चलाउने भन्ने चिन्तामा छन्।यस्तो संवेदनशील समयमा जनताको पीडाहरुमा मलम लगाउनुको साटो,नेताहरू भने कसरी चुनावी लाभ लिने र कुन तिकड्म लगाएर भोट आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा लाग्नु अत्यन्तै लज्जास्पद छ। रास्वपाका नेताहरूले यो बुझ्न जरुरी छ कि जनता अब मूर्ख छैनन्।उनीहरूको प्रत्येक कदम र हर्कतलाई नागरिक समाज र मतदाताहरूले सुक्ष्म ढंगले नियालिरहेका छन्।सांस्कृतिक आडमा गरिएको यो राजनीतिक छलकपट धेरै दिन टिक्ने छैन।शुभकामना आदान–प्रदान जस्तो पवित्र सामाजिक परम्परालाई आफ्नो राजनीतिक स्वार्थको भर्याङ बनाउने यो कुत्सित प्रयासको जति नै निन्दा गरे पनि कम हुन्छ।यदि रास्वपाले साँच्चै नै देशमा पारदर्शी,उत्तरदायी र फरक राजनीतिक संस्कृति स्थापित गर्ने हो भने सस्तो लोकप्रियतावाद र छलकपटयुक्त रणनीतिहरू तुरुन्त बन्द गर्नुपर्छ।लोकतन्त्रमा विधि,पद्धति र आचारसंहिताको ठूलो महत्व हुन्छ।कानुनका छिद्रहरू खोज्दै र नैतिकताको सीमा नाघ्दै गरिएको यो चुनावी प्रचार प्रसारले रास्वपाको वैचारिक र नैतिक पतनलाई मात्र उदाङ्गो पारेको छ।
अन्तमा,राजनीतिक दलहरूले यो बुझ्न अति आवश्यक छ कि जनताको विश्वास जित्नका लागि चाडपर्वको दुरुपयोग गर्ने होइन, इमानदारिता,सुशासन र जनपक्षीय काम गर्नुपर्छ। सांस्कृतिक पर्वहरूलाई राजनीतिक दाउपेचको क्रीडास्थल बनाउने प्रवृत्तिलाई समयमै रोक्न सकिएन भने यसले हाम्रो समग्र लोकतान्त्रिक प्रणालीलाई नै गम्भीर संकटमा पार्नेछ।रास्वपाले आफ्नो यो दोहोरो चरित्र र अवसरवादी राजनीतिक शैलीलाई तत्काल सच्याओस्,अन्यथा जनताले यसको उचित हिसाब आगामी निर्वाचनमा ब्यालेटमार्फत लिने नै छन्।