प्रतिनिधि सभाको ६ निर्वाचन मध्य ४ पटक प्रतिनिधि सभा विघटन

422 Shares

नेपालको संसदीय अभ्यास इतिहासमा प्रतिनिधि सभाको विघटन कुनै नयाँ घटना नभएपनि यस पटकको विघटन अघिल्लो पटकको भन्दा फरक देखिएको छ।२०७९ पुस २५ मा सुरु भएको कार्यकाल अझै करिब आधा बाँकी रहँदै २०८२ भदौ २७ मा प्रतिनिधि सभा विघटन भएको छ ।यसअघि प्रधानमन्त्रीले संसद्बाटै निर्वाचित भएर सिफारिस गर्ने परम्परा रहेपनि यस पटक आन्दोलनको बलमा बनेको गैर संसदीय प्रधानमन्त्रीबाट विघटन सिफारिस गरिएको छ।यो संविधान र लोकतान्त्रिक अपेक्षाविपरीत भएको भन्दै नेपाली कांग्रेस,नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) सहित आठ राजनीतिक दलहरूले त्यसको विरोध समेत जनाई सकेका छन् ।
नेपालको इतिहासमा जननिर्वाचित सभाले पूर्ण कार्यकाल पूरा गरेको उदाहरण कमै छन्। २०५१ र २०७४ मा निर्वाचित सभाले मात्र सर्वोच्च अदालतको हस्तक्षेपका कारण कार्यकाल पूरा गरेका थिए।अन्य अधिकांश प्रतिनिधि सभा राजनीतिक संकट,दलभित्रको कलह र शासकको महत्वाकांक्षाको बलिबेदीमा चढ्न पुगेका राजनीतिक विष्लेषकहरुको भनाई छ ।उनीहरुका अनुसार पहिलो पटक २०१५ सालको निर्वाचनपछि बनेको संसद् तत्कालीन राजा महेन्द्रको २०१७ सालको “कु”को सिकार बन्यो।त्यसपछि पञ्चायती प्रणाली स्थापनासँगै लामो समयसम्म बहुदलीय संसदीय अभ्यास ठप्प रह्यो ।
२०४८ सालमा नयाँ संविधानपछि निर्वाचित संसद् पनि लामो समय टिकेन।आन्तरिक कलहकै कारण नेपाली काँग्रेसको तत्कालीन सरकारले मध्यावधि निर्वाचनको बाटो रोज्नुप¥यो।२०५१ मा निर्वाचित सभाले दुई पटक विघटनको मार खेपेर पनि अन्ततःकार्यकाल पूरा गर्न सक्यो, तर त्यो पनि सर्वोच्च अदालतको पुनःस्थापनाबाट सम्भव भएको थियो।२०५६ मा निर्वाचित सभा चाहिँ माओवादी द्वन्द्व र तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष हस्तक्षेपकै कारण २०५९ सालमै विघटन भयो,जसपछि पुनःस्थापना र गणतन्त्र घोषणा सम्मको ऐतिहासिक यात्रामा मुलुक प्रवेश ग¥यो ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संरचना अनुसार पहिलो पटक २०७४ मा निर्वाचित सभाले पनि स्थायित्व पाउन सकेन।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटनको सिफारिस गरे।तर दुवै पटक सर्वोच्च अदालतले बदर ग¥यो।यसरी नेपालमा प्रतिनिधि सभाको यात्रा प्रायःअधुरै रहने परम्परा झल्किन्छ।कहिले “कु”,कहिले दलभित्रको किचलो र कहिले प्रधानमन्त्रीको महत्वाकांक्षाका कारण,जनप्रतिनिधिमूलक संस्था बारम्बार असफलताको सिकार बन्न पुग्यो ।
यसपटक पनि संविधान र नागरिक अपेक्षा विपरीत विघटन हुँदा इतिहास दोहोरिएको छ । अदालत र सडक दुवै मोर्चामा फेरि परीक्षणमा परेको संसद्को भविष्य कस्तो बन्ने हो भन्ने प्रश्नले देशलाई अनिश्चिततामा धकेलेको छ।२०७९ मा निर्वाचित सभाले पनि “जेन जी”पुस्ताको देशव्यापी आन्दोलनका कारण २७ घण्टा मै घुँडा टेकेपछि गैर संसदीय प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरियो।अब २०८२ फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुने वा नहुने र त्यसपछिको संसदको कार्याकाल कस्तो रहने भन्ने चौतर्फि चासोको विषय बनेको छ ।

सम्बन्धित समाचार