कहिले कहिले र कोकोबाट भए प्रतिनिधि सभा विघटन र विघटनका प्रयास

645 Shares

पहिलो विघटनः गिरिजा प्रसाद कोइराला,२०५१
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि पहिलो पटक २०५१  असार २६ गते प्रतिनिधि सभा विघटन गरे।त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन प¥यो।२०५१ भदौ २७ मा सर्वोच्च अदालतले “संविधानले कुनै पूर्वशर्त व्यवस्था नगरेको र संसदको अधिवेशन चालुरहेको अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउनुहुन्न भन्न मिल्ने देखिएन”भन्यो।विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्न सर्वोच्च अदालतले अस्वीकार ग¥यो।
दोस्रो विघटनः मनमोहन अधिकारी,२०५२
तत्कालीन प्रधानमन्त्री कोइरालाले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन गराए।उक्त निर्वाचनबाट अल्पमतको सरकार बनाउँदै तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले नौ महीना सरकार चलाए। अधिकारीले आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गरी विशेष अधिवेशन बोलाइएको अवस्थामा प्रतिनिधि सभा विघटन गरे।त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा निवेदन प¥यो। २०५२ भदौ १२ मा सर्वोच्च अदालतले “अर्को सरकार गठन हुने विकल्प प्राप्त हुँदाहुँदै प्रतिनिधि सभा विघटन गर्नु संविधानको भावना अनुकुल देखिँदैन”भनेर प्रतिनिधि सभा पुनस्र्थापना गरिदियो।
विघटनको तेस्रो प्रयासः सूर्य बहादुर थापा,२०५४
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पार्टीभित्रको विभाजन र  कांग्रेससँगको सहमतिमा समस्या आएपछि २०५४ पुस २४ गते प्रतिनिधि सभा विघटन गर्न राजासमक्ष सिफारिस गरेका थिए। तर,त्यसैदिन प्रतिनिधि सभाका ९६ जना सदस्यले “प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन दरबारमा निवेदन दर्ता”गराए।
दरबारले“सांसदहरूको निवेदनले प्राथमिकता पाउँछ वा प्रधान मन्त्रीको सिफारिसले”भनी सर्वोच्च अदालतको राय माग्यो। अदालतले संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिसलाई भन्दा पहिले संसदको अधिवेशन बोलाउने सांसदहरूको निवेदनलाई प्राथमिकता दिनुपर्ने राय राजालाई दियो।यो रायमा पनि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार शर्त र बन्देज सहितको हो भनेर बोलिएको थियो। प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको यो प्रयास असफल भयो।
विघटनको चौथो प्रयासः गिरिजा प्रसाद कोइराला, २०५५ 
त्यो समयमा नेपाली कांग्रेस र नेकपा (एमाले)सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। उनले २०५५ सालको अन्त्यमा प्रतिनिधि सभा विघटनको सिफारिस गरेका भए पनि प्रधानमन्त्री सूर्यबहादुर थापाको सिफारिसमा देखाइएकै कारणले सभा विघटन हुन पाएन। २०५६ मा प्रतिनिधि सभाले पाँच वर्षे कार्यकाल पूरा गरेर नयाँ निर्वाचन भयो।
पांचौ विघटनः शेरबहादुर देउवा, २०५९ 
२०५६ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गरेको थियो। एकातर्फ अहिले नेकपामा जस्तै कांग्रेसभित्र सत्ताको झगडा झाँगिँदै थियो भने अर्कोतर्फ तत्कालीन विद्रोेही नेकपा(माओवादी) को हत्या हिंशा बढ्दो थियो। २०५८ सालमा राजदरबार हत्या काण्डपछि देशको राजनीति अझ तरल भएको थियो।नयाँ राजा ज्ञानेन्द्र शाहले विस्तारै राजनीतिमा सक्रिय हुने मनसाय देखाइरहेका थिए। माओवादीको मुकाबिला कसरी गर्ने भन्नेबारे विवाद बढेपछि देउवाले २०५९ असोज ८ मा प्रतिनिधि सभा भंग गरे। तोकेको समयमा निर्वाचन गर्न सकेनन्। राजाले शासन हातमा लिए।त्यसविरुद्ध भएको जन आन्दोलनको बलमा देउवाले भंग गरेको प्रतिनिधि सभा पुनस्थार्पित भयो।
छैठौं विघटनः केपी शर्मा ओली,२०७७ 
संविधान सभाका दुई दुई वटा निर्वाचनपछि २०७२ असोज  ३ मा संविधान जारी भयो।२०७४ मा संघीय व्यवस्था बमोजिम तीन वटै तहका सरकारको निर्वाचन सम्पन्न हुनुलाई संविधान कार्यान्वयनका लागि महत्वपूर्ण उपलब्धीको रूपमा हेरिएको थियो।
तत्कालीन चुनावी गठगन्धन गरेका नेकपा एमाले र एकिकृत नेकपा(माओवादी केन्द्र)को बीचको पार्टी एकीकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई तिहाइ बहुमतको सरकार चलाएका थिए।
तर,पार्टीभित्रको विवाद व्यवस्थापन गर्न असफल भइरहेका उनले अन्ततः२०७७ पुस ५ मा अपर्झट मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने निर्णय गराए।उक्त सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो प्रतिनिधि सभा विघटन गरिदिइन्।
 राष्ट्रपतिले विघटन गर्नुअघि नै नेकपाका ९० जना सांसदले संसद सचिवालयमा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई नयाँ प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए।
२०४७ सालको संविधानमा जस्तो यो संविधानमा प्रतिनिधि सभा विघटन गर्ने स्पष्ट अधिकार प्रधानमन्त्रीलाई छैन।प्रतिनिधि सभाको निर्वाचन पश्चात कम्तिमा चार वटा विकल्पमा प्रयास गर्दा पनि प्रधानमन्त्री चयन हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने व्यवस्था छ। 
 यद्यपि, अहिले प्रधानमन्त्री चयनका ती विकल्पहरुको परीक्षण हुनै बाँकी छ।प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटनको निर्णयविरुद्ध तीन वटा रिट निवेदनहरू सर्वोच्च अदालत पुगेका थिए। प्रधानमन्त्री र राष्ट्रपतिका निर्णयविरुद्ध “जुडिसियल रिभ्यू”सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्ने र उक्त इजलासको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका थिए।भने न्याय परिषद्को सिफारिसमा बनेको नौ जनाको रोष्टमबाट इजलासका अन्य चार जना सदस्यहरु तोकिए ।
सातौं विघटनः गैर संसदबाट २०८२ 
२०७९ मा निर्वाचित सभाले पनि “जेन जी”पुस्ताको देशव्यापी आन्दोलनका कारण २७ घण्टा मै घुँडा टेकेपछि गैर संसदीय प्रधानमन्त्रीबाट प्रतिनिधि सभा २०८२ भदौ २७ मा विघटन गरियो। अब २०८२ फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुने वा नहुने र त्यसपछिको संसदको कार्याकाल कस्तो रहने भन्ने चौतर्फि चासोको विषय बनेको छ ।
फरक संवैधानिक व्यवस्था
२०४७ सालको संविधानले संसद विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिए पनि अहिलेको नेपालको संविधानले प्रष्ट रुपमा त्यो अधिकार दिएको छैन।नेपाल अधिराज्यको संविधान २०४७ को धारा ५३ को उपधारा ४ ले प्रधानमन्त्रीले संसद विघटनका लागि सिफारिस गर्न सक्ने प्रष्ट व्यवस्था गरेको थियो।उक्त दफामा भनिएको थियो।“श्री ५ बाट प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको विघटन गर्न सकि बक्सने छ।त्यसरी प्रतिनिधि सभाको विघटन गरिबक्सँदा छ महिनाभित्र नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन हुने मिति समेत तोकिबक्सनेछ।”तर नेपालको संविधानले विगतमा जसरी प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन। 
 संविधानको धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी व्यवस्था गरेको छ।८५ (१) मा भनिएको छ। “यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ।”यो धाराले प्रतिनिधिसभा विघटन हुन सक्ने सम्भावनालाई स्वीकार गरेर“यस संविधान बमोजिम”भने पनि संविधानमा अन्त कहीँ पनि विघटनबारे चर्चा गरिएको छैन।
राष्ट्रपतिबाट जारी भएको संसद विघटन सम्बन्धी सूचनामा धारा ८६ सँगै अहिलेको अवस्थामा आकर्षित नै नहुने धारा ७६ समेत उल्लेख गरिएको छ। 
 संविधानको धारा ७६ मा सरकारको निर्माणको व्यवस्थाबारे उल्लेख छ भने सरकार गठन हुन नसकेमात्र संसद विघटन गरेर अर्को चुनावमा जानसक्ने प्रावधान उल्लेख छ। अहिलेको अवस्थामा आकर्षित नहुने यो धारा राष्ट्रपतिले संसद विघटनको सूचना उल्लेख गरेकी छन्। 
ससंद विघटन अदालतले उल्टाएका तथा ब्रेक लगाएका अन्तराष्ट्रिय उदाहरणहरु
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने आशासहित एउटा पक्ष बसेको छ।अर्को पक्ष प्रतिनिधिसभा विघटनको निर्णय सदर हुने दाबी गर्दै आएको छ। के अदालतले प्रतिनिधिसभा विघटनको निर्णय उल्टाएका छन् त ? विश्व संसदीय इतिहासमा संसद विघटन जस्तो अप्रिय निर्णयलाई अदालतले उल्टाएका तथा ब्रेक लगाएका उदाहरणहरु छन्।
केन्यामा यसरी लाग्यो ब्रेक
केन्यामा सम्पन्न निर्वाचन परिणामले संवैधानिक संकट उत्पन्न ग¥यो।२०२० को संवैधानिक प्रावधानअनुसार त्यहाँको संसदमा कुनै एक लैंगीक समुदायको प्रतिनिधित्व दुई तिहाई बढी नहुने छ। निर्वाचनमा त्यहाँको तल्लो सदनमा २२ प्रतिशत र माथिल्लो सदनमा ३१ प्रतिशत मात्र महिलाको प्रतिनिधित्व भयो।
त्यहाँका प्रधान न्यायाधीशले संसद विघटन गर्न राष्ट्रपतिलाई सुझाव दिए।तर उनको सुझावलाई कार्यान्वयन नगर्न त्यहाँको उच्च अदालतले निर्देशन दिँदै संसद विघटनको सम्भावित कदमलाई ब्रेक लगाइदियो।
प्रधान न्यायाधीश डेविड मारागाको सुझावविरुद्ध उच्च अदालतमा पुगेको रिटमा सुनुवाइ गर्दै अदालतले उनको सुझाव कार्यान्वयन नगर्न र संसद विघटनको कदम रोक्न आदेश दिएको थियो।त्यससँगै अदालतले संसदलाई संसद विघटन हुन सक्ने चुनौतीलाई रोक्नका लागि कानुन निर्माण गर्न समेत निर्देशन दिएको थियो। साथै संवैधानिक प्रावधान अनुसार महिलाको प्रतिनिधित्व सुनिश्चितता गर्ने गरी कानुन बनाउन निर्देशन दिएको छ।
श्रीलंकामा निर्णय नै खारेज
२०१८ को नोभेम्बरमा श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रयतिको संसद विघटनको निर्णयलाई खारेज गरिदिएको थियो।२०१५ को निर्वार्चनपछि राष्ट्रपति बनेका मैत्रिपाला सिरिसेनाको क्याविनेटमा प्रधानमन्त्रीको रुपमा रानिल विक्रमासिंगे थिए।तर २०१८ को अक्टोवर २६ मा सिरिसेनाले प्रधानमन्त्री विक्रम सिंगेलाई हटाएर महिन्दा राजा पाक्षेलाई प्रधानमन्त्री चयन गरे।जनवरी ५ मा निर्वाचनको मिति घोषणा गरे।राष्ट्रपतिको निर्णयसँगै श्रीलंकामा राजनीतिक संकट देखिन सुरु भयो।एकैपटक दुई नेताले सरकार चलाए।विक्रमसिंगेले प्रधानमन्त्री निवास टेम्पल ट्री छाड्न इन्कार गरिदिए।त्यसपछि राष्ट्रपति सिरिसेनाले नोभेम्वर १४ मा संसद सुरु गर्न राजी त भए तर, त्यसको अघिल्लो दिनै त्यहाँको सर्वोच्च अदालतले जनवरी ५ का लागि तोकिएको निर्वाचनलाई “होल्ड” गरिदियो।
बहुमत प्राप्त प्रधानमन्त्रीलाई हटाएपछि राष्ट्रपतिले तोकेको नयाँ निर्वाचनको मितिलाई अदालतले खारेज मात्र गरेन संसद विघटनको निणयलाई डिसेम्बर १३, २०१८ मा फैसला गर्दै संसद विघटन असंवैधानिक भएको फैसला गर्दै पूर्व निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्न निर्देशन दियो।जस अनुरुप २०२० मा मार्च १९ मा निर्वाचन हुनुपथ्र्यो। तर कोभिड(१९ कारण निर्वाचन स¥यो। ५ अगस्टमा निर्वाचन सम्पन्न भयो।
बेलायतमा बोरिस्को प्रयास असफल
प्रतिनिधिसभा लाई निस्क्रिय पार्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको आदेशलाई पनि बेलायतको अदालतले खारेज गरेको इतिहास छ।बोरिस जोनसनले २०१९ को अक्टोबरमा यस्तै अलोकप्रिय निर्णय लिए।सेप्टेम्वरमा नियमित अधिवेशन सुरु हुने संघारमा प्रधानमन्त्री जोनसनले अगस्ट २८ मा महारानी एलिजाबेथ द्वितियबाट पाँच साताका लागि संसद निलम्बनको आदेशलाई स्वीकृत गराएका थिए।
तर उनको यो निर्णयलाई त्यहाँको अदालतले कानुनसम्मत नभएको निर्णय सुनायो।न्यायाधीशहरुले जनताका प्रतिनिधिहरुलाई उनीहरुको कामबाट रोक्नु कानुनसम्मत नभएको र गलत कार्य भएको बताएका थिए।ब्रेक्सिटको अन्तिम डेडलाइन नजिकँदै गर्दा संसद निलम्बन भएको थिए। जोन्सन आफैमाथि राजीनामा दिन दबाब बढ्दै गएको थियो। अदालतको आदेशसँगै संसद सञ्चालनमा आएको थियो।संसदमा दबाबमा रहेका प्रधानमन्त्रीले जनप्रतिनिधिको समाना गर्नुभन्दा सहज संसद निलम्बनलाई रोजेका थिए। जोन्सनले संसदमा उठ्ने प्रश्नलाई छल्नकै लागि सेप्टेम्बर १० देखि अक्टोबर १४ सम्मका लागि संसद निलम्बन गरेका थिए।

सम्बन्धित समाचार