युथ फर नेचर (जेडवाईएन)द्धारा मधेश प्रदेश सरकारसंग साँत बुँदे माग

369 Shares

युथ फर नेचर (जेडवाईएन)ले मधेश प्रदेश सरकारलाई आफ्ना साँच बुँदे मागहरु राखी आफुहरुको माग पुरा नभए कडारुपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।शनिवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी युथ फर नेचर (जेडवाईएन)ले लुटतन्त्र र भ्रष्टाचारको जालो फैलिएको भन्दै त्यसका विरुद्धमा अवस्था परिवर्तन, सुशासन र वातावरण मैत्री विकासका लागि आफुहरु तयार रहेको बताएको छ ।“हामी व्यवस्थाको विरोधी होइनौं,हामी अवस्थाको विरोधी हौँ।लोकतन्त्रको मूल्य मान्यता विपरित सरकारले गर्ने क्रियाकलापको विरोधमा छौं।”जेडवाईएनका सदस्य सुनिल यादवले बताए ।
प्रदेशमा पनि अन्तरिक सरकार गठन हुनुपर्ने,विज्ञताको आधारमा सानोभन्दा सानो मन्त्री परिषद् विस्तार गर्नुपर्ने,प्रदेशसभाको निर्वाचन मिति तत्काल सार्वजनिक गर्नुपर्ने,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने साथै स्थानीय तहको निर्वाचन गैर दलीय आधारमा हुनुपर्ने युथ फर नेचर (जेडवाईएन)ले बताएको छ ।लुटतन्त्र र भ्रष्टाचार तन्त्रको अन्त्य हुनुका साथै मधेश र देशलाई यसबाट मुक्त गराउन निष्पक्ष नागरिक आयोग गठन गरी भ्रष्टाचार छानबिन हुनपर्ने समेत माग गरिएको छ ।
त्यसैगरी चुरे भावर क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने,तत्काल प्राकृतिक स्रोत साधन र सम्पदाको दोहन तथा अतिक्रमण रोक्नुपर्ने,चुरे क्षेत्रबाट बग्ने नदीहरुमा ३ देखि ५ चरणमा चेक ड्याम निर्माण गर्नुपर्ने,चुरे वन जंगलको संरक्षणका लागि विशेष फोर्स गठन गरी त्यसलाई डिभिजन वन कार्यालय अन्तरगत राख्नुपर्ने लगायतका मागहरु युथ फर नेचर (जेडवाईएन)ले राखेको छ ।
कुनै संयोजक नरहेको युथ फर नेचर (जेडवाईएन)ले आफुहरुका मागहरु प्रदेश सरकारले समयमै सम्बोधन नगरे दशैं अगाडि नै आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।“अवस्था परिवर्तन,सुशासन र वातावरण मैत्री विकास”भन्ने नारा सहित आयोजना गरिएको पत्रकार सम्मेलनमा युथ फर नेचर (जेडवाईएन) चुरे तथा वनजंगल संरक्षण अभियानसंग जोडिएको आशंका गरिएको छ ।  साथै, जेन जी पुस्ताले उठाएका सम्पूर्ण जायज मागहरूलाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ । सो अवसरमा २३ र २४ गते शहादत प्राप्त गरेका युवा विद्यार्थीहरूलाई श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो । 

सम्बन्धित समाचार