Close This

विावदका कारण राहत वितरण भद्रगोल 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१८ गते   २८१ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट मुलुकलाई बचाउन गरिएको लकडाउनका कारण संकटमा परेका विपन्न,गरीब परिवारलाई वितरण गरिनु पर्ने राहत सामग्री सर्लाहीमा अझैपनि वितरण नै हुन सकेको छैन । लकडाउन सूरु भएको ३८ औं दिन वित्न लाग्दा समेत जिल्लाका कतिपय स्थानीय निकायहरुले राहत वितरण नै गर्न सकेको छैन ।
कतिपय स्थानीय निकायहरुमा राहत वितरणमा विवाद हुँदा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार समेत गर्नु परेको छ भने कुनै स्थानीय निकायहरुमा जनप्रतिनिधि माथि नै स्थानीयले आक्रमण गरेका छन् ।  रामनगर गाउँपालिका–४ मा राहत वितरण गर्ने क्रममा स्थानीयको भिडले वडा कार्यालयमा तोडफोड सहित जनप्रतिनिधिमाथि आक्रमण गरेका थिए । विवाद भएपछि उक्त वडामा हाल राहत वितरण रोकिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार बर्माले जानकारी दिनुभयो । त्यसैगरी ईश्वरपुर नगरपालिका–१५ गौरिशंकरमा केही दिनअघि राहत वितरणका क्रममा झडप भयो । वास्तविक विपन्न परिवार छुटेको तर नेता कार्यकर्ताका परिवार राहत पाउने लिष्टमा परेको भन्दै स्थानीयले वडाध्यक्ष सहितलाई आक्रमणको प्रयास गरेका थिए । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले २ सेल अश्रुग्याँस नै प्रहार गरेको थियो । 
कौडेना गाउँपालिकाकामा अहिलेसम्म राहत वितरण सुरु नै हुन सकेको छैन । वडाबाट विपन्न परिवारको लगत संकलनमा ढिलाई भएकाले राहत वितरणको काम नै सूरु गर्न नसकिएको गाउँपालिका अध्यक्ष रामप्रसाद राय यादवले जानकारी दिनु भयो । ‘खाद्यान्न खरिदका लागि टेण्डर लागिसकेको छ, अब एकदुई दिनभित्र एकसाथ सबै वडामा राहत वितरण सूरु गर्नेछौं ।’ गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । उक्त गाउ पालिकामा तीन हजार परिवारले राहत पाउने छन ।
बलरा नगरपालिकाकाका केही वडामा बाहेक अरु वडामा राहत वितरण हुन सकेको छैन । ११ वटा वडा रहेको बलरामा ३ नं. वडा बाहेक सबैमा नगद नै दिने तयारी भईरहेको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिनु भयो । ‘सबै वडालाई ३–३ लाखको दरले बजेट निकासा गरिएको र सबै वडाले त्यही ३ लाखलाई परिवार संख्या अनुसार दामासाही नगद नै दिने तयारी गरिरहेका छन् ।’ नगर प्रमुख सिंहले बताउनु भयो । नगरपालिकामा हालसम्म वडा नम्बर ३, ७, ९ र ११ मा राहत वितरण भईसकेको साथै २ र ४ नम्बर वडामा पनि दुई दिनभित्र राहत वितरण सूरु हुने नगर प्रमुख सिंहले बताउनु भयो ।
त्यस्तै बसबरिया गाउँपालिकामा पनि हालसम्म राहत वितरण हुन सकेको छैन । खाद्यान्न खरिदका लागि टेण्डर प्रकृया सकिएको र अब एक दुई दिनभित्र गाउँपालिका कार्यालयमा सामान आईपुग्ने बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले बताउनु भयो । त्यहाँ पनि वडा वडाबाट संकलन भएको लगत अनुसार तीनहजार घरधुरीलाई राहत वितरण गर्ने तयारी भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech