Close This

नदीको ढुंगा,गिटी,बालुवा रातारात निकासी पैठारी गर्दै तस्करहरु

रासस    प्रकाशित: २०७७-२-२३ गते   ४२३ पटक हेरिएको

चुरेको सिरबाट बग्ने बागमती,लखन्देही,कालीन्जोर र फुलजोर नदी ढुंगा,गिटी बालुवाको ठूलो खानी हो । तर पछिल्लो समयमा नदीको ढुंगा रातारात संकलन गरी लगेपछि पातलिदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने बागमती र फुलजोर खोलाबाट ठूलो परिणाममा ढुंगा,गिटी बालुवा निकासी भयो ।

वन र स्थानीय प्रशासनले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् । अहिले त्यस क्षेत्रमा अर्को समूहले नदी जन्य पर्दाथको दोहन तथा उत्खन्न गरि रहेको छ । पूर्व–पश्चिम लोकमार्गबाट ५ सय मिटरदेखि करिब ६÷७ किलो मिटर उत्तर चुरेक्षेत्रबाट ढुंगा गिटी बालुवा तस्करी हुने क्रम रोकिएको छैन । प्रत्येक वर्ष असार–साउनमा बन्द भए पनि स्थानीयतहले ठेक्का लगाएपछि त्यसैको आडमा तस्करी हुने गरेको हो ।दिनहु धेरै संख्यामा ट्रिफरहरु तथा ट्याक्टरहरुले ढुंगा,गिटी,बालुवा ओसारेको स्थानीयबासीले बताएका छन ।
 चुरे फेदीमै पुगेर नदीजन्य पर्दाथ लैजान थालेका स्थानियबासीको भनाई छ । नगरपालिकाको दिएको ठेक्का भनेर ठेकेदारले नदी जन्य पर्दाथ निकासी पैठारी गरि रहेका छन । चुर फेदीबाटै तस्करहरुले ढुंगा ओसार्न थालेपछि वनले कडाइ गरेको थियो ।
वनले रोक्दा रोक्दै पनि ठेक्काको नाममा जथाभावी नदी दोहन, चुरे क्षेत्र अतिक्रमण र त्यस क्षेत्रको ढुंगा,गिटी,बालुवा तस्करीमा स्थानीय निकायका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको हुन सक्ने स्थानियको भनाई छ । यो क्रम पछिल्लो २ वर्षयता तिब्र भएको छ । केहीले नदीबाट ढुंगा,गिटी,बालुवा संकलन गरी बाटोमा राखेका छन् । बगमती, फुलजोर,कालीन्जोर र लखनदेहीको ढुंगा,गिटी,बालुवा जिल्लाका विभिन्न स्थानिय निकायको भित्रि बाटोको प्रयोग गर्दै छिमेकी देश भारत सम्म पनि पुग्ने गरेकोे पाइएको छ ।
सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा हरेक बर्ष केही न केही रकम विनियोजन गर्ने गरेको भएपनि त्यो रकम कहँ र कसरी खर्च भएको छ । दुरुपयोग भएको वा सदुपयोग भएको छ भन्ने लेखाजोखा नत संघिय सरकारसंग छ नत स्थानिय सरकारसंग नै छ । 
दुई दशक अघिसम्म चुरे पहाडबाट आउने नदीको पानी तराई मधेसमा उब्जनी बढाउने स्रोत मानिन्थ्यो । चुरेबाट बगेर आउने पांगो माटोले यस क्षेत्रलाई उर्वर बनाउथ्यो । पछिल्लो समय जताततै ढुंगा उत्खन्न, नदिमा खाडल, नदी तथा चुरे दोहनले सो नदीमा अहिले पांगो होइन, बालुवा र साना गिटि बग्छ । यसले तराई–मधेसमा हराभरा होइन उब्जनी कम र उजाड बनाएको पाईएको छ ।
पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढीपहिरोको मूल कारक मानिन्छ । चुरे क्षेत्रका रूख, ढुंगा,गिटी,बालुवा जथभावि निकाल्ने गरिएका कारण बाढी पहिरोको समस्या बढेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत माधव प्रसाद देवले बताउनु भयो । चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल लगायत नदीजन्य पदार्थ उत्खनन् गर्दा सतह खुकुलो भएर वर्षाको पानीस“गै बालुवा तराई मधेसका खोलामा थुप्रिएर सतह उठ्दै जान्छ । जसका कारण वर्षामा आउने भेल सिधै बस्तीमा पस्ने सम्भावना बढेको उहांले बताउनु भयो ।
मधेसमा बाढी र डुबान जस्ता समस्या समाधानका लागि खोलामा होइन मूल चुरे क्षेत्रमै उपचार खोज्नुपर्ने प्रदेश सभा सदस्य बेची लुंगेलीले बताउनु भयो । स्थानीय तहले हचुवाका भरमा नदीजन्य वस्तुको ठेक्का लगाउछ । त्यसैको आडमा तस्करले चुरे क्षेत्र प्रवेश गरी ढुंगा,गिटी,बालुवा लैजान्छ,उहाको भनाई छ । सम्बन्धित निकायबाट तत्कालै यस्तो कार्य रोक्नुपर्छ । र चुरेको संरक्षणमा जोड दिनुपर्छ । चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । मापदण्ड विपरित स्थानिय निकायले नदी जन्य वस्तुको निकासी पैठारीको  लागि ठेक्का लगाउने गरेको भन्दै त्यस्ता ठेक्का प्रक्रिया रोक्नु पर्ने जानकारहरुको माग छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech