रामनवमी पर्व सर्लाही सहित देशैभरी श्रद्धा भक्तिपूर्वक मनाईयो

109 Shares

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बुधबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी सर्लाही सहित देश भरि हर्सोउल्लासका साथ मनाइएको छ ।त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षेत्र थियो ।
कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य,मंगल,गुरु,शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो।वर्षका चार नवरात्र मध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मेका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरे का थिए ।रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचन अनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप,पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ।यस अवसरमा सर्लाही जिल्ला सहित नेपालको विभिन्न ठाउमा रामलीला प्रदर्शन गरिएको छ ।
रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा,पाठ एवम आराधना गरेमा“श्री”प्राप्त हुने शास्त्रीय मान्यता छ।यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने उल्लेख छ ।असत्य माथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिएको छ ।
त्रेतायुगमा यसै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ,अध्यात्म,वाल्मीकीय,तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरी भजनकीर्तन गर्ने परम्परा रहि आएको छ ।
यस दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा“व्रतार्क”नामक धर्मग्रन्थमा उल्लेख छ।अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मे का श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरे।आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्रीरामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिए।यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार