दशैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढ्यो,टिकाको शुभ साइत ११ : ५३ मा

497 Shares

नेपालीहरुको महान चाड वढा दशैँ नजिकिएसँगै सर्लाहीका बजारमा किनमेल गर्नेहरुको चाप बढ्न थालेको छ।दशैँका लागि नयाँ कपडा,खाद्यान्न र विभिन्न किसिमका घरायसी सममानहरुको व्यापार बढ्न थालेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी(दिपक)ले जानकारी दिए ।
उनका अनुसार विशेष गरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा दशैँको किनमेल गर्न आउनेहरुको चाप बढेको छ ।सर्लाही सहित छिमेकी जिल्ला सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाबाट समेत सर्वसाधारण किनमेलका लागि लालबन्दी बजारमा आउने गर्छन् ।
लालबन्दीसहित नवलपुर,हरिवन,बागमती,बयलवास,बरहथवा र मलंगवालगायतका बजारमा पनि दशैँमा प्रयोग हुने सामग्री सहित कपडाहरु खरिद गर्ने स्थानीयको चाप बढेको छ। घटस्थापनापछि बजारमा अझ भीडभाड बढ्ने स्थानीय व्यापारीहरुले बताएका छन् ।
अबका केही दिन लालबन्दी,हरिवन र बयलवास बजारमा खसीबोकाको व्यापार पनि उल्लेख्य हुने उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले बताए ।उनका अनुसार “जेन जी” पुस्ताको आन्दोलनपछि जनजीवन सामान्य बनेसँगै हाटबजारमा किनमेल गर्नेको उपस्थिति बढ्न थालेको हो ।
यस्तै दशैँकै लागि सहर,बजारबाट गाउँघर फर्किने क्रम पनि सुरु भएको छ। सर्वसाधारणले दशैँका लागि घर,आँगन सरसफाई सहित अन्य तयारीका काम धमाधम गर्न थालेका छन् ।
यता,यस वर्षको दसैँको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।
समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ बजेर २५ मिनेटमा,जापानको टोकियोमा अक्टोबर २ को ११ बजेर ३१ मिनेटमा,अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ बजेर ४३ मिनेटमा,पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ बजेर २३ मिनेटमा र बेलायतको लन्डनमा अक्टोबर २ को ९ बजेर १७ मिनेटमा दसैँको टीकाको शुभसाइत रहेको छ।

सम्बन्धित समाचार