जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक विशाल बुढाथोकी भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।मानवश्रोत व्यवस्थापन शाखामा दरबन्दी भई प्रशासन शाखा प्रमुख तथा अपरेसन इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी निरीक्षक बुढाथोकीले हालैको “जेन जी”आन्दोलनको समयमा सर्लाहीमा न्यूनतम बल प्रयोगको सिद्धान्त अपनाउँदै सरकारी,सार्वजनिक र निजी सम्पत्तिलाई क्षति हुन नदिएको भन्दै उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरी निरीक्षक बुढाथोकीले भदौ महिनामा परेका कृष्ण जन्माष्टमी,गणेश चतुर्थी र मोहम्मद डे लगायतका चाडपर्वमा प्रभावकारी प्रहरी परिचालन गरी जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न सफल भएका थिए ।प्रहरी कर्मचारीको आचरण र अनुशासनमा सुधार ल्याउनुका साथै जनशक्ति व्यवस्थापन, गुनासो समाधान तथा फरार प्रतिवादी नियन्त्रणमा समेत प्रहरी निरीक्षक बुढाथोकीले उल्लेखनीय भूमिका निर्वाह गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए ।उनका अनुसार प्रहरी निरीक्षक बुढाथोकीको योगदानप्रति आभार प्रकट गर्दै प्रहरी निरीक्षक बुढाथोकीको अनुशासित,ईमान्दारीता र कर्तव्यनिष्ठ कार्यले संगठनको छवि उच्च राख्न मद्दत पुगेको छ ।
त्यसैगरी,ईलाका प्रहरी कार्यालय ढल्बेकर धनुषाका प्रमुख एवम प्रहरी निरीक्षक जटाशंकर यादव पनि भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक यादवलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।प्रहरी निरीक्षक यादवले अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका,“जेन जी”आन्दोलनको समयमा कार्यालयको सुरक्षा र भौतिक तथा मानवीय क्षति हुन नदिने काममा महत्वपूर्ण भूमिका खेलेका कारण मधेशका धेरै प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी हुँदा ईलाका प्रहरी कार्यालय ढल्केवर सुरक्षित राखेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए ।
उनका अनुसार “जेन जी”आन्दोलनको क्रममा जिल्ला कारागारबाट भागेका कैदीमध्ये प्रहरी निरीक्षक यादवले पाँच जनालाई पक्राउ गरी कारागार कार्यालयमा बुझाएका छन्।लागु औषध नियन्त्रणका साथै चोरी तथा लुटपातमा समेत प्रहरी निरीक्षक यादवको सक्रियता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।