इश्वरपुर १३ मा बस ट्रक ठोक्किँदा सात जना घाइते

372 Shares

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका १३ बाँके जङ्गलमा बस र ट्रक ठोक्किँदा सात जना घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १३ बाँके जङगलमा काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्वरको रात्रि बस र महोत्तरीको बर्दिवासबाट चामल बोकेर भैरहवातर्फ हिँडेको ना ६ ख २९२८ नम्वरको ट्रक आपसमा ठोक्किँदा सात जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोरङको विराटनगर महानगरपालिका ४ की अन्दाजी वर्ष २९ की सविक्षा राई,मोरङको रङ्गेली नगरपालिका ९ की अन्दाजी वर्ष ४० की लालकुमारी श्रेष्ठ, उनकी छोरी अन्दाजी वर्ष १५ की युनिष्का राउत,विराटनगर महानगरपालिका ३ की अन्दाजी वर्ष ३९ की सविता रेग्मी,उनकी छोरी अन्दाजी वर्ष आठ की प्रिसा भट्टराई,मोरङको सुन्दरहरैचा नगरपालिका ९ का अन्दाजी वर्ष ५२ का लोकबहादुर विक र भारतको बिहार कटैया पन्चायत ३ दरभङ्गा घर भइ काठमाडौं त्रिपुरेश्वर बस्ने रामशरण मण्डल घाइते भएका छन् ।
घाइते एक जनाको लालबन्दी मोडेल अस्पताल प्रा.लिमा र छ जना र्घातेहरुको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परेको रात्रि बस मुग्लिन–नारायणगढ सडकमा तीन दिन जाममा परेर बुधबार बल्ल छुटेर विराटनगरतर्फ गइरहेको समयमा ट्रकसँग ठोक्किएको हो ।
बसमा ३९ जना यात्रु सवार रहेका र ठोक्किए पछि ट्रक र बस आ–आफ्नो साइडमा पल्टिएका ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले बताए।उनका अनुसार दुर्घटनामा संग्लग्न दुबै सवारी साधन प्रहरीको निगरानीमा रहेका छन् ।

सम्बन्धित समाचार