Close This

सर्लाहीमा वन क्षेत्रबाटै गैर कानुनी तरिकाले नदी उत्खनन् 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२२ गते   ३१५ पटक हेरिएको

सर्लाही–महोत्तरीको सिमा क्षेत्रमा वन क्षेत्रमै अवैध उत्खनन भइरहेको पाइएको छ । बाँके नदीमा उत्खनन्को ठेक्का पाएको क्रसर उद्योगले अवैध रुपमा वन क्षेत्रमै उत्खनन् गरेको भेटिएको हो ।
जिल्लाको ईश्वरपुर नगरपालिकाले उत्खनन्का लागि नदीको करिब एक किलोमिटरभित्र ठेक्का लगाइएको भनिए पनि क्रसर उद्योगले वन क्षेत्रमा नै उत्खनन् गरिरहेको छ । वन क्षेत्रमा थोरै लगानीमा राम्रो र बढी कच्चा पदार्थ पाउने भएपछि क्रसर उद्योगीले जंगलमा उत्खनन् गरेको स्थानीयको भनाई छ । नगरपालिकाले वडा नम्बर १३ बाँके नदीको चार स्थानबाट उत्खनन्का लागि ठेक्का लगाएको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो ।
वडा नम्बर १३ को १२ नम्बर टोल क्षेत्रबाट रु ५ लाख ७५ हजार १ सय १२ घनमिटर, घाटटोल क्षेत्रबाट रु ४ लाख ५० हजार ८ सय ८८ घनमिटर, वडा नम्बर १३ मै पर्ने नदीको अन्य क्षेत्रबाट रु ५ लाख ३६ हजार ७ सय ६८ घनमिटर र रेल्वे क्षेत्रबाट रु ३३ हजार ७ सय ३९ घनमिटर नदी उत्खनन्का लागि रु १ करोड ८ लाखमा शिवम् कन्स्ट्रक्सन जनकपुरलाई ठेक्का दिइएको नगरपालिकाले जनाएको छ ।
तर गैर कानुनी रुपमा वन क्षेत्र ठेक्का र उत्खनन् गरिएपछि स्थानीयदेखि वन परियोजनाका कर्मचारी समेत विरोधमा उत्रिएका छन् ।  वन क्षेत्रमा नियम मिचेर ईश्वरपुर नगरपालिकाले नदी उत्खनन्को ठेक्का लगाएको सागरनाथ वन विकास परियोजनाका प्रमुख जितेन्द्र कर्माचार्यले बताउनु भयो ।
परियोजना क्षेत्रमा उत्खनन्को ठेक्का लगाउँदा नगरपालिकाले कुनै परामर्श र सहकार्य नगरेको उहाँको भनाइ छ । ईश्वरपुर नगरपालिकाकी उप प्रमुख एकावतीदेवी चौधरीले नियमअनुसार नै उत्खनन्का लागि ठेक्का लगाइएको बताउनु भयो । जिल्ला समन्वय समिति सर्लाहीले दिएको वातावरणीय मूल्यांकन प्रतिवेदन अनुसार ठेक्का लगाएर उत्खनन्को सम्झौता भएको उहाँको भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech