निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सिन्धुलीको दुधौली नगरपालिका स्थित जगाडि र धन्सरीका स्थानीयमा चिन्ता थपिएको छ।लामो समयपछि पिच सडक निर्माणको काम सुरु भएको भएपनि गुणस्तरहीन काम भएपछि स्थानीयमा देखिन लागेको खुसी हराएको हो । विकास निर्माणका नाममा संघीय,प्रादेशिक र स्थानीय सरकारका साथै दातृ निकायहरुको अरबौँ रकम खर्च गरेर निर्माणको काम हुने गरेको भएपनि छिटो काम सकाउँने दाउमा निर्माण कम्पनीहरु लाग्दा निर्माण कार्य गुणस्तरहीन हुने गरेको प्रतिनिधिमूलक दृश्य सिन्धुलीको दुधौली नगरपालिका अन्र्तगत जगाडिदेखि धनसरी सम्मको क्षेत्रमा देखिएको छ ।
यसियाली विकास बैँक(एडिबी)को ३३ करोड ६३ लाख ३८ हजार आठ सय २६ रुपैँया ३९ पैसा आर्थिक सहयोगमा एमएस दिवा÷पाण्डे जेभीले २०८१ फागुन १५ गते दुधौली नगरपालिका¬ स्थित जगाडि देखि धनसरी हुँदै धनुषाको गणेशमान चारनाथ नगरपालिका जोड्ने सडक निर्माणको ठेक्का लिएको थियो।२०८६ फागुन १४ गते निर्माण सक्ने गरी ठेक्का सकार गरेको निर्माण कम्पनीले करिब १६ किलोमिटर सडकको काम एक वर्षको अवधिमा करिब ७० प्रतिश सकाएको दाबी गरेपनि सडक निर्माणको काम गुणस्तरहीन रहेको भन्दै स्थानीयले गुनासो गरेपछि कमलामाई मिडिया प्रा.लि.ले स्थलगत अवलोकन गरेको थियो ।
पछिल्लो समयमा निर्माण कम्पनीको लापरबाही,कमजोर अनुगमन तथा राजनीतिक संरक्षणका कारण गुणस्तरहीन निर्माण कार्य हुने क्रम बढ्ने गरेको व्यापक गुनासोका विच उक्त सडकको काम पनि निर्माणकै चरणमा कालोपत्रेको नाममा सडकमा हालिएको गिट्टी उक्किनु,सडक चिरा पर्नु तथा ढल निकासको उचित व्यवस्था नहुनु तथा मापदण्डविपरीत सामाग्री प्रयोग हुनु सामान्य जस्तै बनेको छ।निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेको देखाउन हतारमा काम गर्दा सडकको गुणस्तर कमजोर हुने गरेका धेरै उद्धाहरणहरु रहेका छन् ।त्यो कार्यबाट उक्त सडकपनि अच्छुतो रहन सकेन् ।बागमती प्रदेश र मधेश प्रदेशलाई जोड्ने उक्त ग्रामीण सडकमा केही दिन पहिला मात्रै गरिएको पिचको गिट्टी अहिले उक्किएर सडकका दुवै किनारामा पुगेको दृश्य स्पष्ट देखिन्छ ।मापदण्ड अनुसारको गिट्टी,बालुवा तथा बिटुमिनको प्रयोग नगरिएको भन्दै निर्माण सुरु गर्दा नै विवादमा परेको उक्त सडक र निर्माण व्यावसायीले अहिलेपनि आफ्नो कमिकमजोरी सुधार नगरेका पाइएको हो ।
निर्माण कम्पनीले काममा चरम लापरबाही गरेको दुधौली नगरपालिका ६ का स्थानीय डम्बर दिप कार्कीले बताए।“दिनभरि धुलो उडाएर काम गरेजस्तो देखाइन्छ तर सडक बनेको केही दिनमै उप्किन थाल्यो,लामो समय कच्ची सडकमा हिडेकोमा सडक पिच हुने भएपछि खुसीयाली छाएको भएपनि निर्माण नसकिँदै सकड उक्किन थालेको छ।हामीमा फेरी निराशा उत्पन्न भएको छ।सडक यति कमजोर हुनु दुःखद कुरा हो।”उनले बताए ।
सडक निर्माणका क्रममा प्राविधिक मापदण्ड पालना नभएको साथै सडक निर्माण गर्दा रोलर पर्याप्त नचलाइएको,कमसल निर्माण सामाग्रीको प्रयोग गरिएको तथा प्राविधिकको नियमित उपस्थिति समेत नदेखिएको स्थानीयको गुनासो छ ।“काम छिटो सकाएर भुक्तानी लिन निर्माण कम्पनीलाई हतार देखिएको तर गुणस्तरमा कसैले ध्यान दिएन।”उनले बताए ।स्थानीयवासीले सडक निर्माणको क्रममा सम्बन्धित सरकारी निकायले प्रभावकारी अनुगमन नगरेको आरोप लगाएका छन्। निर्माण स्थलमा प्राविधिक कर्मचारी कमै देखिने गरेको तथा अधिकांश समय ठेकेदारका प्रतिनिधिले मनोमानी ढंगले काम गराउने गरेको उनीहरूको आरोप छ ।
उत्त सडकमा निर्माणको काम गुणस्तरहन भएको भन्दै कमलामाई मिडिया प्रा.लि.लाई जानकारी दिएपछि हाम्रो टिम स्थलगत गर्न पुग्दा पिच गरिएको भनिएको खण्डमा गिट्टी छर्ने मात्रै काम भएको र उक्त गिट्टी सडकको दुवै किनारामा थुप्रिएको दृश्य स्पष्ट देखिएपछि निर्माण कम्पनीका प्रतिनिधि हरेराम दिक्षितलाई फोन गर्दा उनले उत्त सडकको जगाडिदेखि तल्लो धनसरी सम्मको करिब १६ किलोमिटर सडकको करिब ७० प्रतिशत काम सकिएको र पिच सकिएको ठाउँमा गाडिहरु कुदेर पिचमा हालिएको गिट्टी उक्कीएको स्वीकार गरे ।उनका अनुसार यसियाली विकास बैँक(एडिबी)को रुलर कनेक्टीभिटी इम्प्रोभमेन्ट प्रोजेक्ट अन्र्तगत सुरु भएको कार्यक्रमको करिब ७० प्रतिशत काम सकिएको र केही स्थानमा साईट क्लियर विवाद नभएका स्थान बाहेक करिब नौ किलो मिटर सडक पिचको काम सकिएको बताए ।तर हाम्रो टिमले करिब छ किलो मिटर पिचको स्थलगत अवलोकन गर्दा सबै सडकमा पिचमा हालिएको गिट्टी सडकको दुवै किनारमा पुगि सकेको पाइयो ।उनले उक्त सडकमा निस्केको गिट्टी बढारेर हटाउने र फष्ट कोड र सेकेण्ड कोडको रुपमा ठेक्का लिएको र अहिले फष्ट कोडको काम मात्रै भएको समेत बताए ।
दिक्षितले जगाडिदेखि तल्लो धनसरी सम्मको १६ किलोमिटर लम्बाई र आठ मिटर चौडाईको काम मौसमले साथ दिएमा यही भदौ सम्ममा काम सकाउने गरी काम गरि रहेको समेत बताए ।उनले इन्धन र निर्माण सामाग्रीको मुल्य बृद्धि भएको अवस्थामा पनि काम नरोकिएको र यस अघिपनि यस विषयमा विवाद सृजना भएको साथै पिच भन्ने बित्तिकै सबै कालो पिच नहुने भन्दै उनले निर्माण कम्पनीकोे बचाउ गरे।उनले प्राविधिक स्टमेट अनुसार नै काम गरेको र पिच भएको भनिएको क्षेत्रमा अन्तीम काम सकिएकाले अब बढारेर निस्केको गिट्टी फाल्ने समेत बताए ।
यता,कतिपय निर्माण कम्पनीले लागत घटाउन कमसल सामाग्री प्रयोग गर्ने र छिटो भुत्तानी लिन हतार हतारमा काम गर्ने र हतारमा काम गर्दा गुणस्तरको ख्यान नगर्ने प्रचलन रहेको जानकारहरु बताउँछन् ।जानकारहरुका अनुसार “कतिपय ठेकेदारले समयमै काम सम्पन्न गरेको देखाउन वर्षायाममै कालोपत्रे गर्ने,पर्याप्त सुक्न नदिई काम अघि बढाउने जस्ता गल्ती गर्ने र सडकको आयु छोट्याउँछ काम हुन्छ।”
स्थानीयवासीले भने निर्माण कम्पनीको दाबी पत्याएका छैनन्।उनीहरूले सडक निर्माणमा व्यापक अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्।निर्माण सम्पन्न नहुँदै सडक बिग्रिन थालेपछि निर्माण कम्पनीको लापरबाही छरपष्ट भएको छ ।नेपालमा सडक निर्माणको गुणस्तर कमजोर हुनुको मुख्य कारण प्रभावकारी अनुगमन अभाव, ठेक्का प्रक्रियामा राजनीतिक हस्तक्षेप तथा कम लागतमा बढी नाफा कमाउने साथै सडक निर्माणमा प्रयोग हुने सामाग्रीको नियमित परीक्षण नहुनु तथा काम सम्पन्न भएपछि मात्र औपचारिक निरीक्षण गरिने प्रवृत्तिले समस्या बढाएको जानकारहरूको भनाइ छ ।
सडक निर्माणको प्रत्येक चरणमा प्राविधिक निगरानी अनिवार्य हुनुपर्ने र सडकको सब–बेसदेखि कालोपत्रेसम्म हरेक तहमा गुणस्तर परीक्षण हुनुपर्छ,तर व्यवहारमा त्यसो हुन नसकेको पूर्वाधार विज्ञहरुको भनाई छ ।उनीहरुका अनुसार निर्माण कम्पनीले लागत बचत गर्न कमसल सामाग्री प्रयोग गर्दा सडक छोटो समयमै बिग्रिने गरेको छ।“राज्यले निर्माण कम्पनीलाई मात्रै दोष दिएर हुँदैन,अनुगमन गर्ने निकाय पनि उत्तिकै जिम्मेवार हुन्छ।” स्थानीय तहका जनप्रतिनिधिहरूले समेत गुणस्तरहीन निर्माणप्रति चासो राख्नु पर्नेमा दुधौली नगरपालिका ६ का वडा अध्यक्ष कमान सिंह आल मगरका साथै दुधौली नगरपालिका ११ का वडा अध्यक्ष पवन कार्की र दुधौैली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारु गैर जिम्मेवार देखिएका छन्।उनीहरुलाई फोन गर्दा फोन उठ्दैन् ।