Close This

असिना पानीका कारण बाटो अवरुद्ध हुँदा खाद्य संकट सृजना हुने आशंका

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१९ गते   ३३१ पटक हेरिएको

सर्लाही जिल्लाको उत्तरी अति विकट क्षेत्र लालबन्दी नगरपालिका १४ नारायणखोलामा लकडाउनपछि पर्याप्त खाद्यान्न ढुवानी नहुँदा स्थानीय वासिन्दा समस्यामा परेका छन् । लालबन्दी बजारदेखि पर्याप्त खाद्यान्न ढुवानी हुन नसक्दा सो क्षेत्रमा खाद्य संकट सृजना हुने अवस्था सृजना भएको जानकारहरुले बताएका छन ।

केही व्यवसायीले ट्याक्टर र जीपमा थोरै मात्रामा खाद्यान्न ढुवानी गर्दै आएपनि एक साताअघि बाट पटक–पटक भएको वर्षाले खोलाको बाटो बिगारेपछि समस्या भइरहेको स्थानीयबासीले गुनासो गरेका छन ।
सडक सञ्जालमा नजोडिएको नारायणखोलाबाट किनमेल वा औषधोपचार गर्न लखन्देही खोलाको बगर हुँदै लालबन्दी बजारसम्म आउनु पर्ने बाध्यता छ । पाखो बारीमा उब्जिएको अन्नबालीले केही महिना मात्रै खान पुग्ने नारायणखोलाका स्थानीयले धेरैजसो महिना किनेरै खाने गरेका छन् । पहिलेकै परिमाणमा खाद्यान्न ढुवानी नहुँदा समस्या पर्न थालेको वडाध्यक्ष सुबाईसिंह ब्लोनले बताउनुभयो । ब्लोनका अनुसार खाद्यान्न बिक्री गर्ने बजार क्षेत्रका अधिकांश उद्योग तथा पसल व्यवसाय लक डाउनका कारण बन्द भएकाले नारायणखोलामा पसल व्यवसाय गर्ने व्यवसायीले चाहेर पनि पर्याप्त खाद्यान्न ढुवानी गर्न नसकेका हुन । लकडाउनपछि समस्यामा परेका मजदुर तथा अति विपन्न,गरीब ८९ परिवारलाई विभिन्न संघ संस्थाहरुले पहिलो चरणको राहत वितरण गरिसकिएका छन ।
दोस्रो चरणको राहत वितरण गर्न पुनः लगत सङ्कलन गर्दा ६९६ परिवार पुगेका र संकलीत लगत विवरण नगरपालिमा बुझाइ सकेकोे वडाध्यक्ष ब्लोनले बताउनुभयो । एक महिना भन्दा बढीको लकडाउनले घरमा खाने अन्न सकिएको भन्दै राहतको माग गर्ने परिवार बढेका वडाध्यक्ष ब्लोनले बताउनु भयो ।यसैगरी सडक सञ्जालमा नजोडिएको लालबन्दी नगरपालिका–१५,परवानीपुर र ईश्वरपुर नगरपालिका–१२,कालिन्जोरको चुरेभेगमा पनि खाद्यान्नको समस्या हुन थालेको स्थानीय वासिन्दाले बताएका छन् । जिल्लाका चुरे क्षेत्रका बस्तीहरु सडक,खानेपानी,शिक्षा,स्वास्थ्य जस्ता आधारभुत विकासका पुर्वाधारबाट वञ्चीत छन ।
लालबन्दी नगरपालिका १४ नारायण खोला लालबन्दी बजारबाट २५ किलो मिटरको दुरीमा पर्दछ । कच्ची सडक, खोलाको बाटो प्रयोग गरेर त्यस बस्तीमा पुग्न सकिन्छ । खोलाको बाटो भएका कारण हिउँदको समयमा कष्टपुर्ण तरिकाबाट त्यहाँ पुग्न सवारी साधनको प्रयोग हुने भएपनि वर्षायाम सुरु भएपछि सवारी साधन आवतजावत नै बन्द हुन्छ । वर्षायामको ४ महिना सवारी साधन सञ्चालन नहुने गरेका कारण त्यस समयमा विरामी उपचारको लागि अस्पताल सम्म पुर्याउन पनि समस्या हुने गरेको स्थानियबासीको गुनासो छ । 
सवारी साधनको सहज आवतजावत नहुने गरेका कारण र स्वास्थ्य संस्था टाढा हुने गरेका कारण पनि सामान्य स्वास्थ्य समस्या देखा पर्दा गाउँ घरमा नै झारफुक गर्ने र झारफुकबाट निको नभएपछि बाध्यताले अस्पताल जाने गरेको स्थानिय सन्चमाया थिङले बताउनु भयो । हरिवन नगरपालिका १ को आँपडाँडा,धिमिले डाँडा,सानो कौवा,ईश्वरपुर नगरपालिकाको अड्डी,सानो फुलजोर,पिपल दमार लगायतका बस्तीहरुका स्थानिय बासी पनि कष्टपुर्ण जीवन विताई रहेका छन । ती बस्तीहरुमा  विजुली वक्ती ,खानेपानी,सडक,शिक्षा,स्वास्थ्य लगायतका आधारभुत पुर्वाधारको विकास भएको छैन ।
 सर्लाहीको कर्णाली भनेर चिनीने ति चुरे फेदीका बिकट गाउँहरु विकासले पछि परेका छन । सो क्षेत्रका स्थानियबासीले संघियता र विकास निर्माणको महसुस नै गर्न पाएका छैन्न । संघिय संरचना भएपछि गाउँनै विकास हुने अपेक्षा गरेका सो क्षेत्रका स्थानिय बासी अहिले निराश हुन थालेका छन । देशकै सबै भन्दा धेरै स्थानिय निकाय रहेको जिल्लामा लालबन्दी,हरिवन,ईश्वरपुर र बागमती नगरपालिका विकास निर्माणका हिसाबले अगाडी देखिन्छन तर विकट गाउँ बस्तीहरुमा विजुली वक्ती,खानेपानी,सडक,शिक्षा,स्वास्थ्य लगायतका आधारभुत पुर्वाधारको अभावमा  अल्झीरहेका छन । जनप्रतिनिधीहरुले भोट माग्न आउँदा चासो दिने तर भोट पाएर गएपछि आफुहरुलाई वास्था नगरेका कारण चुरे फेदीका गाउँहरु विकासको प्राथमिकतामा नपरेको स्थानियको गुनासो छ । तर ती नगरपालिकाहरुले चुरे क्षेत्रलाई विकासको प्राथमिकतामा राखेर काम गरि रहेको दाबी गरेका छन । 
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले सो क्षेत्रमा प्राविधिक सहितको टोली पुगेर खानेपानी लगायतका आधारभुत विकासका कार्यहरुको अध्यायन गरेको बताउनु भयो । चुरे फेदीका बस्तीहरुमा विजुली वक्ती ,खानेपानी,सडक,शिक्षा,स्वास्थ्य लगायतका आधारभुत पुर्वाधारका लागि प्राविधिक सहितको टोली लागि रहेको नगर प्रमुख देवकोटाले बताउनु भयो । स्थानिय सरकारको बजेटले भ्याए सम्म चुरे क्षेत्रको विकासमा लागि परेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । उहाँले पहिलाको तुलनामा निकै विकास भएको बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech