सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा प्याराफिट सहितको खेल मैदान तयार पारिएको छ।जिवेश्वर युवा क्लब नवलपुरले पाँच वर्षमा विभिन्न निकायबाट प्राप्त बजेटले पाँच सय जना दर्शक अट्ने व्यवस्थित प्याराफिटसहितको रंगशाला तयार पारेको हो । आर्थिक वर्ष २०८१÷०८२ मा मधेश प्रदेश सरकारले प्रदान गरेको रु ५० लाखबाट उल्लेख्य काम हुँदा प्याराफिटसहितका संरचना तयार भएसँगै खेल मैदान राष्ट्रियस्तरकै फुटबल प्रतियोगिता आयोजना गर्न योग्य भएको जिवेश्वर युवा क्लब नवलपुरले जनाएको छ ।
क्लबका अनुसार खेल मैदान तयार पार्नका लागि लालबन्दी नगरपालिका १ ले रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।सर्लाही क्षेत्र नं. १ प्रदेशसभा ९क०की प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुंगेलीबाट प्राप्त भएको रु १० लाखबाट काम सुरु गरेर रु ९५ लाख खर्चिएर खेल मैदान मिलाउने,जाली हाल्ने र प्याराफिट निर्माण गर्ने लगायतका काम सम्पन्न गरिएको क्लबले जनाएको छ ।
प्याराफिटसहितको खेल मैदान तयार भएसँगै अब मधेश प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न समस्या नहुने भएको स्थानीय सुशिल चालिसेले बताए । आफ्नै ठाउँमा आकर्षक फुटबल मैदान तयार भएपछि स्थानीय फुटबल प्रेमी खुसी भएका छन्।यस भेगकै म्याराफिटसहितको नमुना फुटबल मैदान तयार हुँदा खुसी लागेको फुटबल प्रशिक्षक अर्जुन चौधरीले बताए ।नवलपुरको खेल मैदानमा यसअघि गाउँघरमा हुने फुटबल प्रतियोगिता र नगरपालिकाले सञ्चालन गर्ने राष्ट्रपति रनिङशिल्ड खेलकुद मात्रै आयोजना हुने गरेको थियो ।