चाडपर्व लक्षित सर्लाहीमा सवारीसाधन चेकजाँचमा कडाइ

364 Shares

आसन्न दशैँ,तिहार र छठपर्वलाई लक्षित गरी नेपाल प्रहरी र ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले संयुक्त रुपमा टोली परिचालन गरी चाडपर्वको समयमा यात्रुहरूको भीड बढ्ने, सवारी साधनको चाप उच्च हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले विशेष अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

WhatsApp Image 2025-09-25 at 9.51.19 PM.jpeg
उनका अनुसार,यात्रु वाहक सवारीसाधनले अनिवार्य रूपमा क्षमता अनुसार मात्र यात्रु चढाउनुपर्ने,अत्यधिक भाडा असुल्न नपाइने,चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको र चाडपर्वको समयमा अपराधिक गतिविधिहरु पनि बढ्ने भएकाले प्रहरीले सक्रियता देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले विभिन्न स्थानमा चेकपोस्ट मार्फत मापसे गरेर सवारी चलाउने,क्षमता भन्दा बढी यात्रु चढाउने र तोकिएको भन्दा बढी भाडा असुल्ने कार्यको चेकजाँच सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले बताए ।
उनका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै चेकजाँचमा कडाइ गरिएकाले कुनै पनि अवस्थामा यात्रुहरूले आफ्नो अधिकारको संरक्षण गर्न सक्ने व्यवस्था मिलाइएको छ।यात्रुलाई आवश्यक परे तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीलाई जानकारी दिनपनि प्रहरीले अनुरोध गरेको छ।
चाडपर्वको समयमा लामो दूरीका यातायात साधन प्रयोग गर्ने यात्रुको संख्या अत्यधिक बृद्धि पुग्ने भएकाले सरकारले यसलाई संवेदनशील विषय मानेर विशेष सतर्कता अपनाएको गृह मन्त्रालयले जनाएको छ ।सवारी चेकजाँचमा कडाइ गरेसँगै यात्रु वाहक सवारी साधनहरुको लार्पबाही नियन्त्रण हुने र दुर्घटनाको जोखिम न्यून हुने ट्राफिक प्रहरीले विश्वास लिएको छ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीमा करिब ७५ वटा प्रहरी युनिटहरु रहेका छन् भने ११ वटा ट्राफिक प्रहरी युनिटहरु रहेका छन् ।

सम्बन्धित समाचार