नेपालमा इन्धनको व्यापार वर्षौंदेखि विवाद र प्रश्नको घेरामा रहँदै आएको छ।कहिले आपूर्तिको कमी त कहिले गुणस्तर र परिमाणको गम्भीर समस्याका कारणले पेट्रोलियम पदार्थहरू उपभोक्ताका मुख्य चिन्ताको विषय बनेका छन्।पछिल्ला वर्षहरूमा बजारमा पेट्रोल, डिजेल,मट्टीतेल र एलपी ग्यासमा मिसावट र परिमाणमा कमीका गुनासा तीव्र बन्दै गएका छन्।तर सरोकारवाला निकाय भने बेखबर देखिएको छ ।
मिसावटको जालो : नाफा लोभमा गुणस्तरको हत्या
नेपालमा पेट्रोलियम पदार्थमा मिसावटको प्रमुख कारण नाफा कमाउने लोभ हो।इन्धन आपूर्तिकर्ता वा पेट्रोलपम्प सञ्चालकहरूले सस्तो पदार्थ (जस्तै– मट्टीतेल,टोल्युन,थिनर वा अन्य सस्तो रासायनिक)मिसाएर पेट्रोल वा डिजेलको परिमाण बढाउने प्रवृत्ति व्यापक रूपमा फैलिएको छ।
विशेष गरी सीमावर्ती क्षेत्रहरूमा भारतबाट सस्तो मूल्यमा आउने मट्टीतेल वा अन्य रासायनिक पदार्थ पेट्रोलमा मिसाएर बिक्री गर्ने गरेको स्थानीय उपभोक्ताहरू बताउँछन्।यसले सवारी साधनको इन्जिनको आयु घटाउँछ,प्रदूषण बढाउँछ र उपभोक्ता ठगिन्छन्।
नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार पछिल्लो तीन वर्षमा सयौँ पेट्रोल पम्पहरूमा मिसावट पुष्टि भइसकेको छ।तर कारबाही भने नगण्य मात्र भएको छ।अधिकांशलाई चेतावनी वा सानो जरिवानामा उन्मुक्ति दिइन्छ,जसले समस्या झन् मौलाएको छ।
परिमाणमा कमी : उपभोक्ताको पैसामा कटौती
मिसावटको समस्या मात्र होइन,परिमाणमा कमी पनि उस्तै गम्भीर छ।उपभोक्ताले पाँच लिटर पेट्रोल माग्दा वास्तविकतामा ४ दशमलव ८ वा ४ दशमलव ९ लिटर मात्र पाउने गरेको व्यापक गुनासो छ ।
३० प्रतिशतभन्दा बढी पेट्रोल पम्पमा परिमाणमा त्रुटि फेला परेको आकस्मिक अनुगमनमा सञ्चालन गरेको अनुगमनबाट देखिएको नापतौल विभागले जनाएको छ ।
ट्यांकरबाट इन्धन ढुवानी गर्दा नै फरक उपकरण प्रयोग गरी मात्रा घटाउने र पम्पमा लगेर डिजिटल मिटरमा सेटिङ परिवर्तन गर्ने प्रवृत्ति पाइन्छ।यस्ता प्रविधीय हेरा फेरीहरूले हरेक लिटरमा करिब १०–२० मिलिलिटर घटाइदिन्छ,जसको जम्मा हिसाब गर्दा पेट्रोलपम्प सञ्चालकहरू दैनिक हजारौँ अतिरिक्त नाफा कमाउँछन्।
मिसावटको असर : इन्जिनदेखि वातावरणसम्म खतरा
मिसावट गरिएको इन्धन केवल उपभोक्ताको आर्थिक क्षति मात्र नभई सवारी साधन र वातावरण दुवैका लागि खतरा हो।
१.इन्जिनमा क्षतिः मिसावट पदार्थहरूले इन्धनको दहन क्षमता घटाउँछ, जसले पिस्टन, भल्भ, र फ्यूल इन्जेक्सन सिस्टममा क्षति पु¥याउँछ।
२.धुवाँ र प्रदूषणः अशुद्ध इन्धनले अधजलेको धुवाँ निकाल्छ, जसले वायुमण्डलीय प्रदूषण बढाउँछ।
३.सुरक्षाको जोखिमः केही मिसावट पदार्थहरू अत्यधिक ज्वलनशील हुन्छन्, जसले आगलागी वा विस्फोटको जोखिम बढाउँछ।
४.आर्थिक घाटाः उपभोक्ताले उच्च मूल्यमा कम गुणस्तरको वस्तु किन्दा सीधा घाटा भोग्छन्।
नियामक निकायको निष्क्रियता
नेपाल आयल निगम,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,गुणस्तर तथा नापतौल विभाग र प्रहरी प्रशासन सबैले पेट्रोलियम पदार्थमा हुने बेथिती नियन्त्रण गर्ने जिम्मेवारी राख्छन्।तर समन्वय र कार्यान्वयनमा कमजोरी छ।
नेपाल आयल निगम इन्धन आपूर्ति गर्ने निकाय हो,तर खुद्रा बिक्रीमा मिसावट भए पनि त्यसको जिम्मेवारी लिँदैन।नापतौल विभागले अनुगमन गर्ने बताउँछ,तर जनशक्ति र बजेट अभाव देखाएर धेरैजसो ठाउँमा पुग्दैन।
प्रहरी प्रशासनले कहिलेकाहीँ संयुक्त अनुगमन गर्छ,तर कानूनी प्रक्रिया जटिल हुँदा मुद्दा अघि बढ्दैन।यसरी नियामक निकायबीचको दोषारोपण र समन्वयको अभावले उपभोक्ता ठगिनु स्वाभाविक बनेको छ।
कानूनी प्रावधान भए पनि कार्यान्वयन शून्य
नेपालमा मिसावट र परिमाणमा त्रुटि रोक्ने कानूनी व्यवस्था छन्।
उद्योग व्यवसाय ऐन २०७५
गुणस्तर मापदण्ड ऐन २०५३
नापतौल ऐन २०३३
यी सबैले ठगी,मिसावट वा गलत नापतौललाई आपराधिक कार्य ठहर गर्छन्।तर समस्या कार्यान्वयनमा छ।मुद्दा दर्ता भए पनि फैसला हुन वर्षौं लाग्छ। त्यसबीचमा सम्बन्धित व्यवसायी पुनःव्यापारमा फर्किन्छ।
सीमामा नियन्त्रण कमजोर
नेपाल–भारत खुला सीमाका कारण इन्धन मिसावटमा प्रयोग हुने पदार्थहरू भित्रिन सजिलो भएको छ।सस्तो मूल्यका मट्टीतेल,टोल्युन र अन्य रासायनिक मिश्रणहरू साना कन्टेनर र गाडीमार्फत छली गरेर ल्याइन्छन्।सीमास्तरीय सुरक्षा निकाय र भन्सारले बारम्बार चेकजाँच गर्ने बताए पनि स्थानीय स्तरमा राजनीतिक संरक्षण र घूस प्रथाका कारण यस्ता कारोबार रोकिएको छैन।
उपभोक्ताको असहाय अवस्था
उपभोक्तालाई पेट्रोल वा डिजेलको गुणस्तर चिन्न सक्ने सीधा प्रविधि छैन।मिसावट भएको इन्धन सामान्यतया देखेर वा सुँघेर मात्र पत्ता लाग्दैन।नेपाल आयल निगमले कहिलेकाहीँ “गुणस्तर जाँच रिपोर्ट”सार्वजनिक गरे पनि,त्यो कसरी,कहाँ र कुन नमुना आधारमा गरिएको हो भन्ने स्पष्ट हुँदैन।उपभोक्ताले गुनासो गर्न चाहँदा पनि ठोस प्रमाण नहुने कारण प्रशासनमा मुद्दा दर्ता गर्न गाह्रो हुन्छ।
विज्ञहरूको भनाइ
ईन्धन विशेषज्ञ र वातावरणविद्हरूका अनुसार नेपालमा पेट्रोलियम मिसावट रोक्नका लागि व्यवस्थापकीय सुधार र प्रविधीय निगरानी अनिवार्य छ।“हामीसँग आधुनिक ल्याव परीक्षण प्रणाली छैन।भारतजस्तो देशमा प्रत्येक ट्यांकरबाट नमुना परीक्षण हुन्छ तर नेपालमा त्यो औपचारिकता मात्रै हो।”एक ऊर्जा विज्ञ इन्जिनियरले बताए।उनका अनुसार,“मिसावट गरिएको इन्धनले हावाको गुणस्तरमा प्रत्यक्ष असर पार्दैछ।उपत्यकामा बढ्दो धुवाँ र धुलोमा इन्धनको गुणस्तर पनि जिम्मेवार छ।”
समाधानका सम्भावना
विशेषज्ञ र उपभोक्ता अधिकारकर्मीहरूले निम्न उपाय तत्काल लागू गर्नुपर्ने सुझाव दिएका छन्
१.डिजिटल मिटर र सेन्सर प्रणालीः प्रत्येक पम्पमा सरकारद्वारा अनुमोदित डिजिटल मिटर अनिवार्य गरिनुपर्छ।
२.अनिवार्य नमुना परीक्षणः प्रत्येक ट्यांकरबाट पेट्रोल वा डिजेलको नमुना लिएर प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था।
३.सजाय कडा पार्नेः मिसावट प्रमाणित व्यवसायीलाई लाइसेन्स खारेज र जेल सजायसम्मको कानूनी व्यवस्था लागू गर्नुपर्ने।
४.उपभोक्ता शिक्षाको कार्यक्रमः गुणस्तर र परिमाण पहिचानका सामान्य उपायबारे जनचेतना अभियान सञ्चालन।
५.स्वतन्त्र नियामक निकाय गठनः वर्तमान आयल निगमको मोनोपोलि अन्त्य गर्दै स्वतन्त्र नियामक निकाय स्थापना।
राजनीतिक प्रभाव र संरक्षक जालो
मिसावट र अनियमितता नियन्त्रण नहुनुको अर्को मुख्य कारण राजनीतिक संरक्षण र ठूला व्यापारीको गठजोड हो।धेरैजसो पेट्रोलपम्प सञ्चालकहरू स्थानीय वा केन्द्रीय राजनीतिसँग प्रत्यक्ष सम्बन्धित छन्।अनुगमन टोलीले कारबाही गर्न खोज्दा राजनीतिक दबाबका कारण कार्यवाही रोक्ने वा ढिलो गर्ने उदाहरण प्रशस्त छन्।
नापतौलको नाफा र जनताको घाटा
नेपालमा पेट्रोलियम पदार्थको मिसावट र परिमाण घटाउने प्रवृत्ति अब सामान्य समस्या होइन, संवेदनशील राष्ट्रिय समस्या बन्दै गएको छ।सरकारले हरेक वर्ष अरबौं रुपैयाँ अनुदानमार्फत इन्धन आपूर्ति गर्छ, तर त्यसको गुणस्तर र मात्रा नियन्त्रण गर्न असमर्थ छ।उपभोक्ताको पैसामा पेट्रोलपम्प सञ्चालक र आपूर्तिकर्ताले अवैध नाफा कमाइरहेका छन्।
यदि अब पनि सम्बन्धित निकायहरूले सिस्टम सुधार, प्रविधि प्रयोग र कानूनी कठोरता अपनाएनन् भने,उपभोक्ता ठगिने सिलसिला अझै दीर्घकालसम्म रोकिँदैन।पेट्रोलियम क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व स्थापित गर्न सके मात्र उपभोक्ताले आफ्नो पैसाको मूल्य र सुरक्षाको विश्वास गर्न सक्नेछन्।