मधेश प्रदेशमा सरकार विस्तारको तयारी भइरहेका बेला सर्लाहीका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहालाई मन्त्री बन्न र बनाउन नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताहरुको दवाव सृजना भएको छ ।माओवादी केन्द्रका कार्यकर्ताहरूका साथै स्थानीय समर्थकहरूले कुशवाहालाई मन्त्री बनाउँदै प्रदेश सरकारमा माओवादी केन्द्रको राजनीतिक सशक्त उपस्थिति सुनिश्चित गर्न दबाब दिएका छन् ।
जनमत पार्टीको नेतृत्वमा रहेको सरकार ढलेपछि नयाँ सरकार विस्तारको क्रममा रहेको मधेश प्रदेशमा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य कुशवाहालाई कुनैपनि हालतमा मन्त्री बन्न दवाव सृजना भएको माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव गौरी महतोले बताए ।
उनका अनुसार एक कुशल शैक्षिक अभियन्ता तथा सर्लाही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य माओवादी केन्द्रका नेता,अभिभावक,अभियन्ता तथा इमान्दार मानिस कुशवाहालाई मुख्यमन्त्री जितन्द्र प्रसाद सोनल नेतृत्वको वर्तमान मधेस प्रदेश सरकरमा महत्वपूर्ण मन्त्रालय उपलब्ध गराएर जनताको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ । माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव महतोले आफ्नो फेशबुकमा स्टाटस लेख्दै “पछिल्लो अनि अग्रगामी पुस्ता (जेन–जी) पुस्ताको मुद्दा सम्बोधन हुनेगरी सर्लाहीका प्रदेश सभा सदस्य कुशवाहालाई मन्त्री मण्डलमा समेटियोस भन्ने हाम्रो माग हो ।”भनेका छन् ।माओवादी केन्द्रका धेरैजसो नेता र कार्यकर्ताहरूले उनलाई “समर्पित,संघर्षशील र जनतामुखी नेता”भन्दै मन्त्री बनाउने मागसहित पार्टीको प्रदेश नेतृत्व सहित नवनियुक्त मुख्य मन्त्री सोनललाई ध्यानाकर्षण गराएका छन् ।
२०७९ मा भएको प्रदेश सभा निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका प्रदेश सभा सदस्य कुशवाहा हाल माओवादी केन्द्रमा आवद्ध छन् ।प्रदेश सभामा उनले बारम्बार सन्तुलित र विकासमुखी आवाज उठाउँदै जनताको पक्षमा बोल्ने नेता भनेर पहिचान बनाएका छन्।सर्लाहीको सडक,शिक्षा,सिँचाइ,स्वास्थ्य र उद्योगका साथै भ्रष्टाचार मुक्त मधेश प्रदेशका सवालमा उनले निरन्तर पहल गर्दै आएका छन्।उनको कार्यशैलीका कारण स्थानीय जनता र कार्यकर्ताहरूबीच लोकप्रियता बढ्दै गएको माओवादी केन्द्रका कार्यकर्ताहरू बताउँछन्। यही कारणले अहिले मन्त्री पदका लागि उनको नामप्रति व्यापक समर्थन देखिएको हो।
कुनै लोभ नभएका प्रदेश सभा सदस्य कुशवाहालाई माओवादी केन्द्र सर्लाही र छिमेकी जिल्लाका कार्यकर्ताहरूले सामूहिक रुपमा आवाज उठाइ मन्त्री बन्न र बनाउन दवाव सृजना गरेका माओवादी केन्द्र बागमती नगर कमिटि सचिव हरिवल्लभ खड्काले बताए । उनका अनुसार कुशवाहा मन्त्री बने मधेशमा माओवादी केन्द्रको सशक्त पहिचान पुनःस्थापित हुने साथै अहिलेको परिस्थितिमा उनीभन्दा उपयुक्त व्यक्ति अरू कोही छैन् ।
माओवादी केन्द्र मधेश प्रदेशमा सत्तारूढ गठबन्धनको प्रमुख साझेदारको रूपमा रहेको छ। हाल प्रदेशमा मन्त्री चयनका विषयमा आन्तरिक सल्लाह चलिरहेको छ।पार्टीका नेताहरूका अनुसार प्रदेशमा समावेशी सन्तुलन,भौगोलिक प्रतिनिधित्व र राजनीतिक अनुभव”लाई प्राथमिकता दिनु पर्छ ।स्रोतका अनुसार माओवादी केन्द्रलाई दुई वटा मन्त्रालय भागमा पर्ने र त्यस मध्य एउटा मन्त्री कुशवाहालाई बनाउन पार्टीका नेताहरु र मुख्य मन्त्रीलाई दवाव सृजना भएको हो ।
सर्लाहीमा पछिल्ला वर्षहरूमा औद्योगिक विकास,सिँचाइ प्रणाली र रोजगारका अवसर अभावमा जनस्तरमा असन्तुष्टि बढ्दै गएको छ।जन प्रतिनिधिहरूले बारम्बार प्रतिबद्धता जनाए पनि ठोस काम हुन सकेको छैन।यही सन्दर्भमा कुशवाहालाई मन्त्री बनाइएमा सर्लाहीको आवाज प्रदेश सरकारभित्र मजबुत रूपमा उठ्ने अपेक्षा गरिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रमा कुशवाहाको पक्षमा आवाज जति तीव्र छ,पार्टीभित्र केही नेताहरूले सन्तुलनको कुरा पनि उठाएका छन्।प्रदेशमा जातीय,भौगोलिक र लैङ्गिक सन्तुलन कायम गर्नुपर्ने भन्दै आवाजपनि उठि रहेका छन् ।तर कुशवाहा समर्थकहरूले भने उनको जनआधार र संगठनप्रतिको योगदानलाई ध्यानमा राखी प्राथमिकता दिनुपर्ने बताउँछन्।पार्टीभित्र अन्तिम निर्णय लिँदा केन्द्रीय नेतृत्वले पनि मधेशमा माओवादीको भविष्य सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।
कुशवाहाको संयमित प्रतिक्रिया
मन्त्री पदको चर्चा बढेपछि स्वयं कुशवाहाले संयमित प्रतिक्रिया दिएका छन्।उनले भने,“म पार्टीको निर्णयमा भरोसा गर्छु।कार्यकर्ताहरूको माया र समर्थनले जिम्मेवारी थप बढाएको छ। मन्त्री बनाउने वा नबनाउने कुरा नेतृत्वको निर्णय हो,तर जनताको विश्वासलाई कहिल्यै तोड्ने छैन।”उनको यो भनाइले कार्यकर्ताहरूबीच थप सकारात्मक सन्देश दिएको छ। धेरैले उनलाई “संगठनलाई प्राथमिकता दिने,पदभन्दा जनताका लागि काम गर्ने नेता”का रूपमा चित्रण गरिरहेका छन्।
प्रदेश सभा सदस्य कुशवाहालाई मन्त्री बनाउने माग केवल व्यक्तिगत आकांक्षा होइन, माओवादी केन्द्रभित्रको राजनीतिक सन्तुलन,जनताको अपेक्षा र संगठनको पुनःउत्थानसँग जोडिएको विषय बनेको छ।कार्यकर्ताहरूको तीव्र दबाब,जनताको समर्थन र प्रदेश राजनीतिमा सन्तुलनको समीकरणबीच अन्ततःपार्टी नेतृत्व कुन निर्णयमा पुग्छ।त्यो अहिलेको मुख्य राजनीतिक कौतुहलको विषय बनेको छ।