Close This

पशु चौपायमा अज्ञात रोगको प्रकोप

रासस    प्रकाशित: २०७७-४-२५ गते   ३१४ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशु चौपायमा अनौठो खालको रोग देखा परेको छ । पशु चौपायमा देखा परेको अनौठो रोग हरिहरपुरगढी गाउँपालिका ५ र दुधौली नगरपालिका ४,५ र ११ नम्बर वडाहरुमा देखा परेको जनप्रतिनिधिहरुले बताएका छन ।
पशु चौपायको गोडा सुनिने घाँस नखाने र झोक्रएर बस्ने जस्ता समस्या देखिएको अनौठो रोग देखा परेको हरिहरपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष झलक कुमार माझीले जानकारी दिनु भयो । उहाँका अनुसार उहाँको वडामा करिब ४५÷५० जना किसानहरुले पालेका पशु चौपायमा यस्तो पहिचान नै हुन नसकेको रोग देखा परेको छ । 
किसानहरुले जीविको पार्जनका लागि पालेका पशु चौपायमा यस्तो पहिचान नै हुन नसकेको रोग देखा पर्दा सो क्षेत्रका किसानहरु चिन्तीत बनेका छन ।  अचानक देखा परेको यो रोग कस्तो खालको रोगहो भन्ने अहिले सम्म पशु चिकित्सकहरुले पनि पहिचान गर्न सकेका छैनन् । पहिचानको काम भई रहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताउनु भयो ।
यो रोगको लक्षण देखा परेका पशु चौपायहरुमा गोडा सुनिने,छालामा डावर देखिने,खाने कुरा नखाने, र्याल बगाउने र उच्च ज्वरो आउने गरेको पाईएको अर्का पशु चिकित्सक विपिन जंग राईले बताउनु भयो । अहिले जिल्लाका दुई स्थानिय निकायका सिमित स्थानमा यो रोगको प्रकोप देखिएको भएपनि जिल्लाभर फैलन सक्ने भन्दै जिल्लाका किसानहरु चिन्तीत बनेका छन ।
यो रोगका कारण अहिले सम्म पशुचौपायको मृत्यु भई नसकेको भएपनि चाँडै पहिचान हुन नसकेको र त्यसको व्यावस्थापन समयमै नभए धेरै किसानहरुले जीविको पार्जनका लागि पालेको पशु चौपायको मृत्यु हुने पशु चिकित्सकहरुले बताएका छन । यो रोग सरुवा प्रकृतिका जस्तो देखिएका कारण रोग पहिचान नभए सम्म आफ्ना पशु चौपाय छाडा नछोड्न र गाउँका अरु पशु चौपायसंग संगै नचराउन पनि पशु चिकित्सकहरुले आग्रह गरेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech