स्वतःप्रकाशन गर्न सिन्धुलीका सरकारी तथा सार्वजनिक निकायहरुलाई अनुगमन ईकाईको आग्रह

482 Shares

सिन्धुलीका सरकारी तथा सार्वजनिक निकायहरुलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वत प्रकाशन गर्न जिल्ला अनुगमन ईकाई सिन्धुलीले आग्रह गरेको छ।ईकाइका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८१।०८२ को अन्तीम(चौथो) त्रैमासिकमा जिल्लाका १९ वटा कार्यालयहरुले स्वतः प्रकाशन नगरेको पाइएपछि सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका २०७६ को दफा ६ बमोजिम सबै नागरिकहरुलाई सरकारी तथा सार्वजनिक निकायहरुका काम कार्बाही र गतिविधिहरु जानकारी पाउने अधिकार उल्लेख गरेको र सोही अनुसार काम गर्न पनि जिल्लाका सरकारी तथा सार्वजनिक निकायहरुसंग आग्रह गरिएको ईकाइका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी भूसालले बताए ।
उनका अनुसार सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र नियमावली २०६५ को नियम ३ बमोजिम तथा सूचना अधिकारीको काम,कर्तव्य र जिम्मेवारी सम्बन्धी निर्देशिका २०७३ मा उल्लेख भए अनुसार हरेक तीन–तीन महिनामा सबै सरकारी तथा सार्वजनिक निकायहरुले आफुले गरेका कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको र सोही अनुसार सिन्धुलीका सबै सरकारी तथा सार्वजनिक निकायहरुलाई आग्रह गरिएको हो ।
ईकाइका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी भूसालको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका जिल्ला समन्वय अधिकारी तिर्थराज पौडेल र जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाको उपस्थितिमा बसेको बैठकले जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायहरुको सूचनाको हक सम्बन्धी प्रावधानको परिपालनाको अवस्था,सूचना अधिकारीको बैठकको निर्णय कार्यान्वयन र स्वतःप्रकाशनका सम्बन्धमा छलफल तथा समीक्षा गर्दै सूचनाको हक सम्बन्धी व्यवस्थाको कार्यान्वयनको अवस्थामा सुधार भएतापनि प्रभावकारी बनाउन थप प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायहरुको चौथो त्रैमासिक (२०८२ वैशाख–२०८२ असार) स्वतः प्रकाशनको अनुगमन गर्दा संघीय २० वटा कार्यालयहरु मध्ये १५ वटा,प्रादेशिक १४ वटा कार्यालयहरु मध्ये छ वटा तथा नौ वटा स्थानीय तहहरु मध्ये तीन वटा स्थानीय तहहरुले मात्रै स्वतःप्रकाशन गरेको पाइएको ईकाई सदस्य एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत थापाले बताए ।
उनका अनुसार पाँच वटा संघीय कार्यालयहरु,आठ वटा प्रादेशिक कार्यालयहरु र छ वटा स्थानीय तहहरु गरी १९ वटा कार्यालयहरुले तोकिएको समय सीमाभित्र स्वतःप्रकाशन नगरेको पाइएको हो । यसबाट सिन्धुलीका १९ वटा कार्यलयहरु नागरिकलाई सूचना दिने काममा पछि हटेका छन् जसबाट ती कार्यालयहरुले गरेका गतिविधिहरु प्रति नागरिकहरुले शंका गर्नु पर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार