सीमा नाका बन्द हुँदा चोरबाटो प्रयोग गर्न बाध्य स्थानीय

2.5k Shares

भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीय चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् ।कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरेसँगै सिमानाका बन्द गरिएको थियो ।

सीमानाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेललगायत आफन्तलाई भेट्न जाँदा समेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् ।व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन । पहिलाका सञ्चालित पुल सडकका नामको मात्र सीमानाका बन्द गरिँदा स्थानीयवासी मारमा परका छन् ।

जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्न गर्दछन् ।सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको छ ।दैनिक उपभोग्य वस्तु, कपडा लगायत सामान भारतीय बजार सुनवर्षाबाट चोर बाटो हुँदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।

२ नम्बर प्रदेशका ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । नाका खुलाउन सर्लाहीसहित २ नम्बर प्रदेशका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले सीमामै धर्ना समेत दिएका थिए ।सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढ्नाका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुला सीमा संवाद समूहमा रहेका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उनको भनाइ छ । सीमा बन्दले दैनिक जनजीवनसँगै जिल्लामा व्यापारव्यवसायसमेत प्रभावित भएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।६४ किलोमिटर खुला सिमाना रहेको सर्लाहीमा अधिकांश स्थानमा खेतको बाटोमा समेत प्रयोग बढेको छ । सिमानामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ रहेका छन् । दैनिक उपभोग्य सामग्री खरीदका लागि तराईका जिल्लाका स्थानीय भारतीय बजारमा जाने गर्दछन् ।

सीमानाका बन्दका बहानामा नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीय उपभोक्ताले बताएका छन् । सीमानाका बन्दका बहानामा तराईका जिल्लामा चोरी तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

सम्बन्धित समाचार