Close This

खुल्ला सिमानाका कारण लागु औषध र साना हतियार कारोवार तिब्र

रासस    प्रकाशित: २०७७-३-१ गते   ४४७ पटक हेरिएको

छिमेकी मुलुक भारतसंग सिमा जोडिएका तराई मधेशका जिल्लाहरुमा साना हतियार र लागु औषध सधैँ चुनौतीको विषय बन्ने गरेको छ ।  सिमा क्षेत्रका बजारहरुमा सहजै पाउन सकिने साना हतियार र लागु औषधी अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाईएको छ । 
अबैध हतियार बोकेको नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरुको समुह रहेको  जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताउनु भयो । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा अपराधिक गतिबिधीहरु हुने गरेका प्रहरीले अनुमान गरेको छ । 
प्रहरी उपरिक्षक पोखरेलले खुल्ला सिमानाको प्रयोग गरि साना हतियार र अवैध लागु  औषध सहजै नेपाली बजारमा आउने गरेको भएपनि यसलाई रोक्ने प्रयास गरि रहेको बताउनु भयो । “हामीले सिमाक्षेत्रमा निकै कडाई गर्दै आएका छौँ तर पनि खुल्ला सिमाना भएकाले कतै न कतैबाट चोरबाटो हुदैँ अबैध साना हतियार र लागु औषध बोकेर नेपाल प्रवेश गर्ने अपराधीक समुह रहेकाले उच्च सर्तकताका साथ खटेर काम गरेका छौँ” उपरिक्षक पोखरेलले बताउनु भयो ।
सिमा क्षेत्रको भारतीय बजारहरुमा अवैध साना हतियार र लागु औषध  खुलेआम बिक्रि हुने हुँदा चुनौती बढेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो । जसका कारण दुवै देशका नागरीकलाई सुरक्षा चुनौती बढेको उहाँले बताउनु भयो ।माओबादी द्धन्द्धको समयमा साना हतियारहरुका साथै अवैध लागु औषधको निकै बिगबिगी भएको थियो । त्यस बेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको अनुमान छ । 
हत्या,अपहरण,लुटपाट जस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाई छ ।सुरक्षा अधिकारीहरुकोे सिमा बैठकमा साना हतियार तथा अवैध लागु औषधको विषयमा कुरा उठ्ने गरेको पाईएको छ ।
यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरु समेत सहमत हुँदै आएका छन । प्रमुख जिल्ला अधिकारी जिसीले तराई मधेशका सबै जिल्लाहरुको सिमाना खुल्ला रहेका कारण अवैध साना हतियार र लागु औषधको ओसार पसार गम्भिर सुरक्षा चुनौती भएको बताउनु भयो । 
खुल्ला सिमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एक अर्कालाई सहयोग गर्यो भने समस्या समाधानमा सहज हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो । साना हतियार र लागु औषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउन सक्ने भएका कारण पनि जिल्लाको सुरक्षामा चुनौती हुने गरेको प्रजिअ जिसीको भनाई छ ।
साना सवारी साधनको केही भागमा लुकाएर साना हतियार तथा अवैध लागु औषध ओसार पसार गर्दै आएको पाईएको र खुल्ला सिमानाका कारण जिल्लामा अबैध साना हतियार र लागु औषध नियन्त्रण कार्य निकै चुनौती पुर्ण रहेको प्रजिअ जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech