सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगन्जमा रहेको कैलाश ट्रेडर्सको गोदाममा आगलागि भएको छ ।लालबन्दी नगरपालिका ७ स्थित रहेको कैशाल ट्रेडर्सको लालबन्दी नगरपालिका ५ स्थित गोदाममा कार्तिक ३ गते लक्ष्मी पूजाको दिन राति करिब ११ः३० बजे अचानक आगलागि भएको हो ।
लालबन्दी नगरपालिका ५ मेजरगन्ज स्थित रहेको इँटाले बेरेको एक तले गोदाम घरमा आगलागी हुँदा करिब चार करोड १५ लाख ८९ हजार एक सय ८९ रुपैयाँ ७९ पैसा बराबरको नौ सय प्रकारका किराना समान जलेर नष्ट भएको गोदामधनी तथा कैलाश किराना पसलका सञ्चालक कैलाश साहले बताए ।
कात्तिक ३ गते लक्ष्मी पूजाको राती करिब साँढे ११ बजे लागेको आगो नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेक र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीका साथै स्थानीय र कालिध्वज गण पाँचकुमारी ब्यारेकको बारुण यन्त्र(दमकल)ले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली सेनाको दमकलसहित सुरक्षाकर्मी र गाउँले भएर करिव एक घण्टापछि आगलागी नियन्त्रणमा लिएका र प्रारम्भिक रुपमा विवरण संकलनको काम भएको छ ।आगलागी के कारण भएको भन्ने एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यता,कैलाश ट्रेडर्स,कैलाश किराना पसल र आर्शिवाद किराना पसल गरी तीन वटा पसलहरुमा अधिकांश सामानहरु भन्सार छलीका तथा प्रयोग म्याद गुज्रेका रहने गरेका र इन्सोरेन्स दाबी गर्न आगजनी गरिएको हुन सक्ने स्थानीय स्रोतले जनाएको छ ।तर गोदामधनी साहले बजारमा रहेका पसलहरुमा मालवाहक सवारी साधन ल्याउन समस्या हुने भएकाले गोदाम अलगै राखिएको दाबी गरे ।