२५८ औँ ऐतिहासिक सिन्धुलीगढी बिजय उत्सव सोमबार,विजय प्राप्त गरेको दिन असोज १५ गते

406 Shares

२५८ औँ ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव सोमबार धुमधामका साथ मनाउन लागिएको छ । २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले आयोजना गरेर सुरु गरेको विजय उत्सव त्यसपछि स्थानीय तहले हरेक वर्ष मनाउँदै आएको नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाले बताए।महासंघले सुरु गरेको एतिहाँसिक कार्यलाई स्थानीय सरकारले निरन्तरता दिएको प्रति गर्व लागेको अध्यक्ष देवकोटाले बताए ।
कमलामाई नगरपालिकाको आयोजनामा हुने विजय उत्सव कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले प्रमुख आतिथ्यता जनाउने कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिए ।उनले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ सालदेखि मनाउन सुरु गरेको विजय उत्सव स्थानीय तह कायम भएपछि कमलामाई नगरपालिकाले निरन्तर मनाउदै आएको छ । 
सिन्धुलीगढीको इतिहाँस
काठमाडौंदेखि एक सय ५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास स्थल अर्थात नेपाल अंग्र्रेज युद्धको जीवित दस्तावेज हो ।नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको तथा विदेशी हमलालाई परास्त गराई राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान बोकेको छ । वि.सं. १८२४ मा इष्ट इन्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको दुई हजार चार सय अंग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरायसी हतियारबाटै पराजित गरेका थिए।जबकी बेलायती सेनासँग अत्याधुनीक हात हतियार रहेको थियो ।
संसारभर आफ्नो साम्राज्य जमाउँदै हिँडेका अंग्रेजले सिन्धुलीगढीमा पहिलो पटक गोर्खाली सेनासँगै हार बेहोर्नु परेको थियो।सोही कारण नेपालीको शीर सधैं उच्च छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा यस क्षेत्रमा आफूलाई चिनाउँदै आएको छ ।
सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको छ।यस कारणले पनि नेपाल कसैको औपनिवेशिक राष्ट्र बन्नु परेन।जसले नेपालीलाई गोर्खालीको पहिचान दिलायो ।
त्यसबेला हाम्रा पुर्खाको वुद्धि विकेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण असम्भव प्रायः हुने इतिहासकारहरु बताउँछन्।उनीहरुका अनुसार हामी अंग्रेजहरूको उपनिवेश बनेर बस्नुपर्दथ्यो।अहिले नेपाल अभिवाज्य राष्ट्रका रुपमा रहन्थ्यो कि रहँदैनथ्यो भनेर यसै भन्न सकिँदैन।त्यसैले नेपालको इतिहासमा सिधुलीगढीलाई राष्ट्रिकै गौरव र सानका रुपमा लिन सकिन्छ ।
सिन्धुलीगढीमा त्यसबेला शत्रुलाई आक्रमण गर्न निर्माण गरिएका आड तथा दुर्गहरूका साथै  किल्ला,दरबार,अदालतको भग्नावशेष अहिले पनि देख्न सकिन्छ।कतिपय संरचनाको भग्नावशेष नै संरक्षण हुन नसक्दा धेरै सम्पदाहरु हराएका छन्।धेरै शिलालेखहरू हराएका छन् भने भएका शिलालेखको पनि संरक्षण गरिएको छैन ।
 जापान सरकारको सहयोगमा पूर्वी नेपाललाई जोड्ने बी.पी राजमार्ग सिन्धुलीगढीबाटै निर्माण भएपछि यसको आकर्षण थप बढेको छ।स्वदेशीमात्र नभइ विदेशी पर्यटकले पनि सिन्धुलीगढीको ऐतिहासिकता तथा किँवदन्ती जस्तै लाग्ने मौलिक युद्धका विषयमा बुझ्न चाहने गरेका छन् । यसबाट त्यस क्षेत्रको पर्यटकीय महत्व थप बढेको छ ।तर,पछिल्लो समय सिन्धुलीगढीमा पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माण सुरु हुँदा त्यसले यस गढीको मौलिक अस्तित्व नै समाप्त पार्ने हो कि भन्ने चिन्ता सबैमा बढेको छ ।
मेटिएको इतिहास
२०५२ फागुन १ गते रोल्पा र सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमा एकसाथ आक्रमण गरेर तत्कालीन माओवादीले जनयुद्धको सुरुवात ग¥यो।नेपालको इतिहासमा एउटा नमेटिने घटना हो माओवादी जनयुद्ध।जनयुद्ध सुरु हुँदा आक्रमण भएको सिन्धुलीगढीको प्रहरी चौकी पछिसम्म भग्नाषेशमा थियो।उक्त प्रहरी चौकी माओवादी जनयुद्धको संग्रहालय र युद्धको एउटा जीवित दस्तावेज नै बन्न सक्थ्यो ।
तर चौकी रहेको उक्त स्थानमा १२ वर्ष अगाडि सिन्धुलीगढी स्मारक खडा गरिएको छ । चौकीको अस्तित्व अहिले देख्न सकिँदैन।अझ विडम्बना के छ भने त्यस बेला पृथ्वीनारायण शाहको छोरा रणबहादुर शाहले गढीको पुनर्निर्माण गरेर लेखिएको शिलालेख गढीको एउटा कुनामा फालिएको छ । अरू थुप्रै शिलालेखको संरक्षण गरिएको छैन।यद्यपि,सिन्धुलीगढी स्मारक बनाउने नाममा मेयर, गणपति र कर्णेलका नाम उल्लेख गरेर नयाँ शिलालेख खडा गरिएको छ ।जसले गर्दा पुराना इतिहास मेटेर नयाँ इतिहास खडा गर्ने दुष्प्रयास भइरहेको छ ।स्थानीय आफ्नो धरोहर मेटिँदा पनि टुलुटुलु हेरेर बसिरहन विवश छन।गढीमा यस्ता अरू कति पुराना ऐतिहासिक संरक्षणको अस्तित्व मेटिएको छ । त्यसको थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
जथाभावी निर्माण हुदै भौतिक संरचना
मल्लकालमा उच्च रणनीतिक भूभागमा धेरै गढीहरु स्थापना गरिएको थियो।पूर्वदेखि पश्चिमसम्म अहिले पनि धेरै गढीहरुको भागनाशेष कायम नै छ।त्यहीमध्य सिन्धुलीगढी एक हो।त्यस बेला उपलब्ध सामग्रीले नै गढी स्थापना गरिएको थियो।कतिपय गढीहरुमा राजाहरूको बसोबासको लागि दरबार पनि निर्माण गरिएको थियो।त्यस बेला दुश्मनलाइ आक्रमण गर्न ढुंगाबाट निर्माण गरिएका बंकर,कोतघर,मन्दिर,पोखरी,इनार,ढुंगेधारा,शिलालेख, वास्तुकलाले भरिएको दरबार र पाटीपौवा,खुल्ला मैदान नै गढीको मौलिकता हो ।
अहिले गढीको पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माणको काम भइरहँदा त्यसले गढीको मौलिक अस्तित्व नै धरापमा पारेको छ।जथाभावी घर,स्मारक,सिमेन्टको सिँढी, सडक निर्माण भइसकेका छन।भवन,गेट,पार्क बनाउन धमाधाम टेन्डर भइरहेको छ।स्थानीय सरकार र प्रदेश सरकारले गढीमा नयाँ संरचना बनाउन प्रतिस्पर्धा गरिरहेका छन । यसरी निर्माण भइरहेका संरचनाले गढीको मैलिक अस्तित्व मासेर गढी क्षेत्रÞलाई सहरीकरण गर्ने योजनामा उद्यत देखिन्छन ।
युद्ध संग्रहालय
नेपाली सेनाले सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण गरेको छ । चार करोड लागतमा निर्माण भएको उक्त संग्राहलयसंगै प्रदेश सरकारकोे पुरातत्व विभागले तयार गरेको डिजाइनमा सिन्धुलीगढीमा रहेको राणाकालीन दरबारको पुनर्निर्माण गर्ने काम गरेको छ ।प्रदेश सरकारले रु चार करोड बजेट विनियोजन गरि १४ ढोका र ५६ झ्याल भएको उक्त विशाल दरबार पुनर्निर्माण भइसकेपछि के गर्ने भन्ने बारेमा कुनै योजना बनिसकेको छैन ।उक्त दरबारमा संग्रहालय स्थापना गर्नुको सट्टा संग्रहालयका लागि अलग्गै भवन निर्माण गर्नु आवश्यक छैन ।
विजय उत्सवको भ्रम
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको सक्रियतामा २०७६ सालदेखि हरेक वर्षको कात्तिक २४ गते अग्रेजसँग युद्ध जितेको अवसरमा विजय दिवस मनाउने गरिएको छ।गढीको प्रचार प्रसार र इतिहासको सम्मानमा यो प्रशंशनीय कार्य हो।तर सिन्धुलीगढीमा युद्धको मिति यकिन गर्न अध्ययन र छलफल हुँदा असोज १५ गते विजय हासिल गरेको तथ्य प्रमाणित भएको छ ।
इतिहासविद् प्राध्यापक दिनेशराज पन्त र नेपाली सेनाका पूर्व महासेनानी एवम गढी तथा किल्ला विशेषज्ञ डा.प्रेमसिंह बस्न्यातले सिन्धुलीगढी युद्धले असोज १५ गते नै विजय प्राप्त गरेको पुष्टि गरेका छन ।
कमलामाई नगरपालिकाले स्थापना गरेको स्मारकमा समेत असोज १५ गते विजय भएको लेखिएको छ।इतिहासको तथ्य बाहिर आइसक्दा समेत कात्तिक २४ गते नै विजय दिवस मनाइरहँदा त्यसले बिस्तारै इतिहास तोडमोड हुने चिन्ता बढेको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार विजयउत्सव वर्षभरी मनाउन सकिन्छ तर विजय दिवस यकिन मितिमा मनाउनुपर्छ।असोज १५ गते कुनै कार्यक्रम नगर्ने र स्थानीय सरकारले सार्वजनिक बिदा दिएर कार्तिक २४ गते विजय दिवस मनाइरहदा ऐतिहासिक तथ्यलाई गलत सावित गर्ने प्रयास भएको देखिन्छ ।
यस्ता ऐतिहासिक धरोहर र सम्पदाको संरक्षण गर्ने दायित्व पुरातत्व विभागको हो।तर विभागले यसमा खासै चासो र सक्रियता देखाएको देखिँदैन।त्यसैले ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा पुरातत्वको मात्र भर परेर हुँदैन।नागरिक स्तरबाट पनि निरन्तर खबरदारी आवश्यक छ र सिन्धुलीगढीमा पनि जथाभावी संरचना बन्नबाट रोक्नैपर्छ । सिन्धुलीगढीबाट संकलन भएको राजश्व कमलामाई नगरपालिकाले एकलौटी रुपमा प्रयोग गर्दै आएको भएपनि त्यहाँ देखिएका समस्याहरुमा मोन बसेको समेत स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार