मधेश सरकार गठन विरुद्ध दलहरु आन्दोलित,प्रदेश प्रमुख भण्डारी पदमुक्त

369 Shares

मधेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता अर्जुन साहले मधेश प्रदेशमा गैर संवैधानिक तरिकाले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन। संसदमा विश्वासको मत नलिइ मुख्यमन्त्री जितेन्द्र साह सोनलले राजीनामा दिएकापछि फेरि पनि धारा १६८ को उपधारा (२) नै आकर्षित हुने र सरकार बन्ने अवस्था हुँदाहुँदै धारा १६८ (३) मा गएर असंवैधानिक मुख्यमन्त्री सरोज कुमार यादव प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरिएको रिट निवेदनमा उल्लेख छ । 
त्यसैगरी रक्की प्रसाद साह र सुजित यादवले मधेश प्रदेश प्रमुखको कार्यालय,मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन्।संविधानको धारा १६८ को उपधारा (२) जीवित रहेको अवस्थामा धारा १६८ (३) अनुसार प्रदेश प्रमुख भण्डारीले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ । उनीहरुले दायर गरेको रिटको पेशी मंगलबार तोकिएको छ।
सोमबार बिहान प्रदेश प्रमुख भण्डारीले महोत्तरीको कालापानीमा रहेको एक होटलमा संविधानको धारा १६८(३)अनुसार नेकपा(एमाले)का नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन्।स्वास्थ्य सम्बन्धी समस्या देखाएर जनकपुरबाट हिडेकी प्रदेश प्रमुख भण्डारीले कालापानीको एक होटलमा सोमबार बिहान करिब ४ बजे यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेशको राजधानी जनकपुरको अवस्था तनावपूर्ण बनेको थियो ।
यता,मधेस प्रदेशका जनतासँग धोका भएको र स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख भण्डारीले कालापानीको एक होटलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरेकी निवर्तमान मुख्यमन्त्री सोनलले बताए ।उनका अनुसार अहिलेको यो घटनाले प्रदेशको राजनीतिक नेतृत्व मात्रै नभई प्रदेश प्रमुख भण्डारीको भूमिका र प्रक्रियाको आधिकारिकता माथि पनि प्रश्न खडा गरेको छ । 
त्यसैको उपज स्वरुप मधेश प्रदेशको राजधानी जनकपुरमा सुरक्षाकर्मीहरु माथि नै हमला भएको छ।प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्य मन्त्रीमा नियुक्त गरेपछि मधेश प्रदेश सभाकासदस्यहरू तथा विभिन्न दलका नेता,कार्यकर्ताहरूले प्रदेश प्रमुख तथा मुख्यमन्त्री कार्यालयमा आक्रमण गर्न खोज्दा डिउटीमा खटिएका सुरक्षाकर्मीहरु माथि हातपात तथा दुव्र्यवहार भएको भिडियो सामाजिक सुञ्जालहरुमा भाईरल भएका छन् । 
जेन जी आन्दोलन पछि जाँचबुझका लागि गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरीलाई प्रमुख दोषी जस्तो देखाएर पत्र काट्ने,मिडियाबाजी गर्ने,बयानमा बोलाउने, जरिवाना गर्ने र स्पष्टीकरण सोध्न जस्ता कार्य गरेर मनोवल गिराइ रहेको अवस्थामा सुरक्षाकर्मीहरु माथि नै पटक पटक विभिन्न वाहनामा हमला हुनुले प्रहरी संगठन थप निरिह बनेको जानकारहरु बताउँछन् ।
मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गरिएको छ। सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई प्रदेश प्रमुख पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।उनका अनुसार सरकारको सिफारिसमा धनुषाका सुरेन्द्र लाल कर्णलाई नयाँ प्रदेश प्रमुखको रूपमा नियुक्त गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरिएको छ।

सम्बन्धित समाचार