Close This

सर्लाहीमा २१ जना कोरोना संक्रमित थपिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२६ गते   ३६९ पटक हेरिएको

सर्लाहीमा सोमबार थप २१ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । सोमबार थपिएका संक्रमितहरुमा मलंगवा नगरपालिका कार्यालयका दुई जना इन्जिनियर समेत रहेका छन् । मलंगवा नगरपालिका–१० र ११ घर रहेका सिभिल इन्जिनियर र उर्जा इन्जिनियरमा संक्रमण पुष्टी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिनुभयो ।

मलंगवा नगरपालिका कार्यालयले गत शुक्रवार १३९ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको थियो । जसमध्ये २१ जनाको पोजिटिभ रिपोर्ट आएको हो ।

संक्रमित दुवै इन्जिनियरलाई तत्काल आ–आफ्नो घरमै आइसोलेटेड भई बस्न सुबेदीको आग्रह छ । कोरोना महामारीकै बीच सेवामा खटिने नगरका कर्मचारी, स्वास्थ्यकर्मी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको थ्रोट स्वाब लिएर परीक्षण गराइरहेको मलंगवा नगरपालिकाले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आग्रह अनुसार केही दिनयता जिल्ला स्थित विभिन्न पालिकाहरुले धमाधम स्वाब संकलन गर्न सूरु गरेका छन् । विपद् व्यवस्थापन समितिले केही दिनअघि जिल्ला स्थित २० वटै स्थानीय तहलाई आ–आफ्ना पालिका भित्र समुदायसँग प्रत्यक्ष घुलमिल गर्ने सरकारी कर्मचारी, स्वास्थ्यकर्मीहरु, बैंक तथा वितिय संस्थाका कर्मचारी, व्यापारी लगायत गरी कम्तिमा ३०० जनाको स्वाब संकलन गरी परीक्षण गराउन आग्रह गरेको थियो ।

सोमबार नै लालबन्दी नगरपालिका कार्यालयले १२३ जनाको थ्रोट स्वाब संकलन गरेको छ ।। आइसोलेसनमा बसिरहेका दुई जना संक्रमित सहित जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयका कर्मचारीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाईएको नगरपालिका कार्यालयले जनाएको छ ।

लालबन्दीबाट गत शनिवार नै जनकपुर पठाईएको ६१ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नै छ । त्यस्तै हरिवन नगरपालिकामा पनि अहिले साँझसम्म थ्रोट स्वाब संकलनको काम जारी छ ।सोमबार थपिएका २१ जना समेत गरी सर्लाहीमा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech