संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ वटा स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ।उपसचिव तथा शाखा अधिकृतहरुको दरबन्दी रहेका स्थानीय तहहरुमा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले चलाई रहेकामा मन्त्रालयले दरवन्दी अनुसार कै उपसचिव तथा शाखा अधिकृतहरुलाई सरुवा गरी पठाइएको हो ।
जसमा सर्लाही सदरमुकाम स्थित रहेको सर्लाही कै सबै भन्दा पुरानो नगरपालिका मलंगवा नगरपालिकामा उपसचिव होम प्रसाद घिमिरेलाई पठाईएको छ भने शाखा अधिकृतहरुको दरवन्दी रहेका ब्रम्हपुरी र कौडेना गाउँपालिकामा पनि दरवन्दी अनुसार कै शाखा अधिकृतहरुलाई सरुवा गरी पठाईएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ब्रम्हपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनन्जय प्रसाद दास र कौडेना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुरेश प्रसाद दासलाई सरुवा गरी पठाईएको छ ।ब्रम्हपुरी गाउँपालिकामा करिब दुई वर्षदेखि स्वास्थ्य तर्फका अधिकृत छैठौं उपेन्द्र राउतले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका थिए।नयाँ अधिकृतहरूको सरुवा र आगमनसँगै ब्रम्हपुरी गाउँपालिकाको प्रशासनिक कामकाज थप प्रभावकारी हुने ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीले बताए ।
कौडेना गाउँपालिकामा पनि करिब १० महिनादेखि आयुर्वेद शाखाका कविराज सोनेलाल साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेका थिए।सरुवा भई आएका अधिकृतहरुलाई जनप्रतिनिधिहरुले स्वागत गरेका छन् ।यता,सर्लाहीको हरिपुर नगरपालिका विगत लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाई रहेका छन् भने हरिपुर्वा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।