सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ।१४ औँ राष्ट्रिय कर दिवसको अवसरमा करदाता सेवा कार्यालय लालबन्दीले सबै भन्दा बढी आयकर बुझाएको भन्दै सगुन सहकारीलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गतका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवसको अवसर पारेर सगुन सहकारीलाई सम्मान गरिएको करदाता सेवा कार्यालय लालबन्दीले जनाएको छ ।
करदाता सेवा कार्यालयले प्रदान गरेको सम्मान–पत्र संस्थाको तर्फबाट सञ्चालक समिति सदस्य सुशीला कुमारी कटुवाल र सूचना अधिकारी निरोज कुमार दाहालले ग्रहण गरेका सहकारीका अध्यक्ष केशव ढकालले जानकारी दिए ।उनका अनुसार सगुन सहकारी मधेश प्रदशमै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा परिचित छ।प्रदेश सरकारले समेत संस्थालाई यसअघि नै प्रदेशको उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको सहकारीका व्यवस्थापक रवीन्द्र राना मगरले बताए ।
सर्लाहीमा रहेका दुईवटा करदाता सेवा कार्यालयहरु मध्ये लालबन्दी स्थित कार्यालयले इश्वरपुर,लालबन्दी,हरिवन,हरिपुर,बागमती र बरहथवा गरी छ वटा पालिका तथा मलंगवा स्थित रहेको कार्यालयले सर्लाहीका बाँकी १४ वटा पालिकाकालाई सेवा प्रदान गर्दै आइरहेका छन् ।