गतवर्षको अनुदानको माग गर्दै उखु उत्पादक किसानहरुको ध्यानाकर्षण

133 Shares

सर्लाहीका उखु उत्पादक किसानहरुले अनुदान वापतको गत वर्षको पाउन बाँकी प्रति प्रतिक्विन्टल रु ३५  अनुदान रकम माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उखुको अनुदान रकम प्रतिक्विन्टल रु ७० दिने भनेर रु ३५ मात्रै दिएको भन्दै असन्तुष्ट बनेका उखु उत्पादक किसानहरुले प्रमुख जिल्ला अधिकारी रामराज कडरिया मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका किसान अगुवा शेष इस्तिहारले बताए ।
उनका अनुसार वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.मदन प्रसाद परियारले अनुदान वापतको प्रतिक्विन्टल रु ३५ रकमका लागि मंसिर महिनाभरको समयसीमा दिएका भएपनि सो समयावधिमा रकम प्राप्त नभएपछि उखु उत्पादक किसानहरु तातेका हुन ।
गत वर्षको अनुदान वापतको प्रतिक्विन्टल रु ३५ रकम माग गर्दै संयुक्त उखु किसान संघर्ष समिति सर्लाहीले प्रमुख जिल्ला अधिकारी कडरियामार्फत कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ।समितिले गतवर्षको अनुदान वापतको प्रतिक्विन्टल ३५ तुरुन्त भुक्तानी सहित छिमेकी मुलुक भारतको मुल्यलाई बिचार गरी यो वर्षका लागि उखुको मुल्य कम्तीमा प्रतिक्विन्टल रु छ सय ३३ कायम गर्न माग गरेको छ । तर दुई साताअघि सरकारले उखुको मुल्य यो वर्षका लागि प्रतिक्विन्टल रु छ सय २० तोकिसकेको छ ।
यसमा सरकारले थप प्रतिक्विन्टल रु ७० अनुदान दिने भनेको छ।उखु उत्पादक किसानहरुले भने उद्योगीले दिनुपर्ने रकम कम्तीमा पनि भारतकै सरह अर्थात् प्रतिक्विन्टल रु छ सय ३३ हुनुपर्ने माग गरिरहेका छन्।संयुक्त उखु किसान संघर्ष समितिले माग पुरा गर्न एक हप्ताको समय दिएर ध्यानाकर्षण पत्र बुझाएको हो ।

सम्बन्धित समाचार