सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पतालमा इकोकार्डियोग्राफी सेवा सुरु भएको छ।लालबन्दी नगरपालिका सहित छिमेकी स्थानीय तहहरु र छिमेकी जिल्लाका नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गरी रहेको लालबन्दी नगर अस्पतालले आफ्नो सेवालाई थप व्यवस्थित र गुणस्तरिय बनाउन इकोकार्डियोग्राफी सेवा सुरु गरेको नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय स्त्री तथा प्रसुती सहितका विभिन्न विशिष्ट सेवा प्रदान गरी रहेको लालबन्दी नगर अस्पतालले इकोकार्डियोग्राफी सेवा समेत सुरु गरेपछि मुटुका बिरामीहरुलाई इको गराउन अन्यन्त्र जानु पर्ने बाध्यता अन्त्य भएको हो ।लालबन्दी नगर अस्पतालका इन्टरनल मेडिसिन डा.अभिनेष कुमार झा वीर अस्पताल काठमाडौंमा इको सेवा सम्वन्धी एक महिने तालिम लिएर आएकाले इकोकार्डियोग्राफी सेवा सञ्चालन सुरु गरिएको र बिरामीको मुटुमा समस्या भए÷नभएको पत्ता लगाउन सकिने लालबन्दी नगर अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार लालबन्दी नगर अस्पताल आफैले आवश्यक उपकरण खरिद गरेर इकोकार्डियोग्राफी सेवा सुरु गरेको हो।तत्कालका लागि डा.झाले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म इकोकार्डियोग्राफी सेवा प्रदान गर्ने नगर अस्पताल लालबन्दीले जनाएको छ ।
लालबन्दी नगर अस्पतालमा मानसिक रोग विशेषज्ञ डा.चौधरीले मानसिक रोगका बिरामी र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.राम विश्वास राय दनुवारले प्रसुती सेवा प्रदान गर्दै आइरहेकामा अब डा.झाले मुटुको इकोकार्डियोग्राफी सेवा समेत प्रदान गर्ने लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले जानकारी दिए ।उनका अनुसार अस्पतालमा पछिल्लो समय ओपिडीतर्फ पनि चिकित्सक बसेर सेवा प्रवाह गर्न थालेसँगै बिरामीको चाप बढ्दो छ ।
लालबन्दी नगरपालिका मातहत रहेको नगर अस्पतालमा क्रमिकरुपमा अन्य विशिष्टीकृत सेवा थप गर्दै लैजाने योजना रहेको नगरप्रमुख वासुदेव अधिकारीले बताए ।तर लालबन्दी नगर अस्पतालमा स्त्री तथा प्रसुती सेवामा शल्याक्रिया समेत गर्ने गरिएको भएपनि नवजात शिशुहरुलाई आईसीयु तथा एन आईसीयु र भेन्टीलेटरमा राख्नु पर्दा अस्पतालमा सो सेवा छैन् ।जसका कारण स्त्री तथा प्रसुती सेवामा शल्याक्रिया गर्दा नवजात शिशु तथा आमालाई असामान्य अवस्था सृजना भएमा नीजि अस्पतालहरुमा पठाउनु पर्ने बाध्यता रहेको अस्पताल प्रशासनले गुनासो गरेको छ ।
लालबन्दी नगरपालिका स्त्री तथा प्रसुती सेवामा शल्याक्रिया गरेका नवजात शिशुहरु र असामान्य अवस्था सृजना भएका प्रसुतीहरुलाई नीजि अस्पतालमा पठाएर अस्पताल प्रशासनले कमिसन लिने गरेको समेत स्थानीयबाट समय समयमा गुनासाहरु आउने गरेका छन् ।नगरपालिकाले तोकेको सामान्य पनि मापदण्ड नपुगेका र आईसीयु तथा एन आईसीयु र भेन्टीलेटर राख्ने अनुमती समेत नपाएका नीजि अस्पतालमा त्यस्ता प्रकारका बिरामी पठाएर लालबन्दी नगर अस्पतालका चिकित्सकहरुले कमिसन असुली रहँदा पनि सरोकारवाला निकाय लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा यस विषयमा अनभिज्ञ रहेको स्थानीयको आरोप छ ।
यता,आईसीयु तथा एन आईसीयु,भेन्टीलेटर तथा एनेथेसिया र बालरोग विशेषज्ञ नभएको अस्पतालमा सल्यक्रिया गर्नु पर्दा समस्या सृजना हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।लालबन्दी नगरपालिकाको अनुगमन समितिले एक वर्ष पहिला नगर सबै नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गरी मापदण्ड विपरित रहेका नीजि स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पुर्याएर चलाउँन भन्दै कतिपय नीजि स्वास्थ्य संस्थाहरु सिल समेत गरेको भएपनि अहिले सम्म उक्त निर्णय कार्यन्वयन हुन सकेको छैन्।जसका कारण नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिन नेतृत्वको उक्त अनुगमन समिति माथि समेत स्थानीय कमिसनको चलखेलको आशंका गर्न थालेका छन् ।