Close This

सर्लाहीमा मंगलबार कोरोना संक्रमित सुन्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२७ गते   ३५७ पटक हेरिएको

सर्लाहीबाट संकलन गरेर पठाइएको थ्रोट स्वाबको मंगलबार कुनै पनि प्रयोगशालाबाट आधिकारिक रुपमा परीक्षण रिपोर्ट प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाएका भएपनि मंगलबार कुनै पनि ठाउँको रिपोर्ट प्राप्त नभएको जानकारी दिनु भयो ।
 स्वास्थ्य मन्त्रालयले नियमित गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका ३४ जना र सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जनाको स्वाब टेष्ट गराउँदा पोजिटिभ रिपोर्ट आएको उल्लेख गरेका भएपनि सर्लाहीको कुन स्थानिय निकाय हो भनी एकिन नभएकाले परिक्षणको रिपोर्ट प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
मन्त्रालयले मिडिया ब्रिफिङमा सर्लाहीका ३६ जना नयाँ संक्रमित थपिएको उल्लेख गरेपनि आफूहरुलाई आधिकारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कोरोना सम्वन्धी जानकारीहरु स्वास्थ्य मन्त्रालयबाट आएको नियमित हेर्ने र गृह मन्त्रालयमा यहाँको विवरण पठाउने प्रशासकीय अधिकृत राम प्रमोद यादवले मंगलबार कत्तैको पनि रिपोर्ट नआएको बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका कोभिड फोकल पर्सन सुशील झाले पनि जिल्लामा संक्रमित थपिएको आधिकारकि कुनै जानकारी कुनै ल्याबबाट नआएको बताउनु भयो ।
जिल्लाका विभिन्न स्थानिय निकायले पछिल्लो समय तीव्र रुपमा संकलन गरेर पठाएको थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech