सिन्धुलीमा सात हजार र सर्लाहीमा २२ हजार बढी मतदाता थपिए

198 Shares

सिन्धुलीमा सात हजार भन्दा बढी मतदाता थपिएका छन्।फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोतिएपछि असोज १० गतेबाट मंसिर ५ गते सम्म मतदाता नामावली संकलन गरिएकोमा सात हजार एक सय ४० जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका प्रमुख एवम जिल्ला निर्वाचन अधिकारी इश्वर नाथ मिश्रले जानकारी दिए ।
उनका अनुसार मतदाता नामावली सम्वन्धी अध्यादेश जारी भएदेखि मंसिर ५ गतेसम्म थपिएका सात हजार एक सय ४० नयाँ मतदातामा दुई हजार एक सय ४० जनाले सदरमुकाम सिन्धुलीमाडी स्थित निर्वाचन कार्यालयमै पुगेर नामावली दर्ता गराएका हुन्।कार्यालयमा आएर बायोमेट्रिक दिइ नामावली दर्ता गराउने भन्दा अनलाइनबाट दर्ता गराउने सेवाग्राहीहरु दोब्बर अर्थात पाँच हजार जना रहेका  छन्।निर्वाचन घोषणा भएपछि थपिएका सात हजार एक सय ४० मतदाता बाहेक यस अघि दुई लाख आठ हजार चार सय १५ जना मतदाता रहेका थिए ।
अब दुई लाख १५ हजार पाँच सय ५५ जना मतदाता भएका जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि मंसिर २१ गतेदेखि २७ गतेभित्र निवेदन दिन सक्ने उल्लेख गरेको छ।भने,फागुन २१ गतेको निर्वाचनको तयारी स्वरुप जिल्ला सुरक्षा अधिकारी र निर्वाचन कार्यालयको टोलीले मतदानस्थलहरुको निरीक्षण सुरु गरेको जिल्लास्तरिय सुरक्षा समिति सिन्धुलीले जनाएको छ ।
दुई वटा प्रतिनिधि सभा निर्वाचन र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीको क्षेत्र नम्बर १ मा ७७ वटा र क्षेत्र नम्बर २ मा ७४ वटा गरी कुल एक सय ५१ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरी,सर्लाहीमा २२ हजार भन्दा बढी मतदाता थपिएका छन्।फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएपछि असोज १० गतेबाट मंसिर ५ गते सम्म मतदाता नामावली संकलन गरिएकोमा २२ हजार पाँच सय ७९ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले बताए।
उनका अनुसार मतदाता नामावली सम्वन्धी अध्यादेश जारी भएदेखि मंसिर ५ गतेसम्म थपिएका २२ हजार पाँच सय ७९ नयाँ मतदातामा छ हजार चार सय ८४ जनाले सदरमुकाम मलंगवा स्थित निर्वाचन कार्यालयमै पुगेर नामावली दर्ता गराएका हुन् ।कार्यालयमा आएर बायोमेट्रिक दिइ नामावली दर्ता गराउने भन्दा अनलाइनबाट दर्ता गराउने सेवाग्राही तेब्बरले बढी अर्थात १६ हजार ९५ जना रहेका  छन्।निर्वाचन घोषणा भएपछि थपिएका २२ हजार पाँच सय ७९ मतदाता बाहेक यसअघि चार लाख ९० हजार चार जना मतदाता रहेका थिए ।
अब सर्लाहीमा पाँच लाख १२ हजार पाँच सय ८३  जना मतदाता भएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि मंसिर २१ गतेदेखि २७ गतेभित्र निवेदन दिन सक्ने उल्लेख गरेको छ।भने,फागुन २१ गतेको निर्वाचनको तयारी स्वरुप जिल्ला सुरक्षा अधिकारी र निर्वाचन कार्यालयको टोलीले मतदानस्थलहरुको निरीक्षण सुरु गरेको जिल्लास्तरिय सुरक्षा समितिले जनाएको छ । चार वटा प्रतिनिधि सभा निर्वाचन रहेको सर्लाहीको क्षेत्र नम्बर १ मा ७८,२ मा ७७,क्षेत्र नम्बर ३ मा ७६ र क्षेत्र नम्बर ४ मा ८१ गरी कुल तीन सय १२ मतदान स्थल र छ सय मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार