नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा मधेश प्रदेशले अनावश्यक दुख दिएको भन्दै पराल तथा भुस बोकेका ट्रक चालकहरू धर्नामा बसेका छन् ।चोरीको स्कापियो भन्सार बुझाउनुको सट्टा आफैँले प्रयोग गरेका तथा मधेशमा विभिन्न किसिमका असुली चलाएर विवादीत बनेका प्रहरी उपरीक्षक राजकुमार सिलवालले पराल तथा भुस बोकेका ट्रक चालकहरुलाई अनावश्यक दुख दिएका भन्दै उनीहरु आक्रोसित भएका हुन ।
पराल,भुसलगायत कृषि उत्पादनमा आवश्यक कच्चा पदार्थ बोकेका ट्रक र ट्याक्टरलाई अनावश्यक ट्राफिक प्रहरीले रोक लगाएपछि किसान,व्यवसायी र चालकहरूले राजमार्गमै सयौँ सवारी रोकेर प्रदेशस्तरीय ट्राफिक कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका हुन्।हलुका कृषिजन्य सामग्री ढुवानीमै अनावश्यक अवरोध गरिँदा आन्दोलनको विकल्प नरहेकाले किसानलाई आवश्यक पराल,भुसजस्ता सामग्री ढुवानीमै बाधा पु¥याउँदा उत्पादन चक्र नै प्रभावित भएको भन्दै आन्दोलनमा उत्रिनु परेको किसान तथा चालक रमन तिमल्सिनाले बताए ।
उनका अनुसार पछिल्लो केही दिनयता पथलैयामा एक सयभन्दा बढी ट्रक र ट्याक्टर राजमार्गमै अलपत्र अवस्थामा छन्।प्रहरीको मनपरी रोकतोकका कारण “पैसा बुझाए मात्रै सवारी चलाउने”जस्तो वातावरण बनाइएको उनीहरुको आरोप छ।जिल्लामा ट्राफिक प्रहरीले “ओभरलोड”को नाममा अनावश्यक रोकतोक र जरिवाना गर्न खोजेको भन्दै चालकहरू आन्दोलन सुरु गरेको सवारी चालक गौतम मोक्तानले बताए ।उनका अनुसार पहिले कुनै रोकटोकबिना चल्दै आएका पराल र भुस बोकेका गाडीहरूलाई अचानक पक्राउ गरी जरिवाना थोपर्न खोजिएपछि विवाद बढेको हो। प्रहरी उपरीक्षक सिलवालले मधेश प्रदेशको ट्राफिकको जिम्मेवारी सम्हालेपछि भारतीय ओभरलोड ट्रकसँग पैसा लिएर छुट दिने तर नेपाली चालकहरूलाई साना–सानामै दुःख दिने गरेको पनि चालकहरुको आरोप छ।चालकहरूले चिट नदेखाइ दिए मात्र रु २५ सय “घुस”तिर्नुपर्ने बाध्यता बनाइएको चालकहरुले दाबी गरेका छन्।
ट्राफिक प्रहरी एकै ठाउँमा मात्र नभई थुप्रै बिन्दुमा जाँच गर्न खटाइएपछि ढुवानी व्यवसायी र चालकहरू पीडित बनेका नेपाल यातायात स्वतन्त्र मजदुर प्रतिनिधि नवराज कार्कीले बताए।उनका अनुसार बारामा मात्रै डेढ सय भन्दा बढी ट्रक सडकमै रोकिएपछि पराल तथा भुस ढुवानी प्रभावित भएको छ।तराईका जिल्लाबाट हेटौंडा,चितवन,धादिङ,काठमाडौं र पोखरातर्फ जान लागेका ट्रकहरू समेत अवरुद्ध भएको चालकहरूको भनाइ छ।
त्यस्तै,पशुपालन तथा च्याउ खेतीमा प्रयोग हुने पराल भण्डारण गर्ने महत्वपूर्ण सिजनमा ट्राफिकले अवरोध गरेपछि किसान समेत मारमा परेका नेपाल च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले बताए।उनका अनुसार कच्चा पदार्थ बाटोमै रोकिँदा कृषि तथा पशुपालनमा सीधा प्रभाव परिरहेको छ। व्यवसायी र किसानहरूले दीर्घकालीन समाधानका लागि सरकारसँग स्पष्ट,व्यवहारिक र कृषि–मैत्री मापदण्ड निर्माण गर्न पनि आग्रह गरेका छन्।
यता,प्रहरी उपरीक्षक सिलवाल आफुले कुनै गैर कानुनी कार्य नभएको दाबी गरेका छन्।उनले भुस तथा परालले ट्रकको उचाइ अत्यधिक बढाएकाले विद्युतीय तारमा ठोक्किन सक्ने,सडकमा जोखिम बढ्ने र दुर्घटना हुने सम्भावना रहेकाले नियन्त्रणका लागि चेकजाँच गरिएको बताए ।
जरिवाना बाहेक चालकसँग अन्य एक रुपैयाँ पनि नलिएको प्रहरी उपरीक्षक सिलवालले बताए ।चालकहरूको अनुसार ट्राफिक प्रहरीको दोहोरो व्यवहार भारतीय ओभरलोड ट्रकलाई सजिलै छोड्ने तर नेपाली गाडीमाथि कडाइ गर्ने गरेका कारण व्यवसायी त्रसित बन्दै गएका छन्।लगातारको विवाद र अविश्वास बढेपछि चालकहरू धर्नामा बस्न बाध्य भएका हुन्।आफूहरू कानुनी मापदण्ड अनुसार मात्र कारबाहीमा उत्रिएको र तोकिएको सीमाभन्दा बढी भार बोकेका सवारी रोकिएको प्रहरी उपरीक्षक सिलवालले बताए ।