बुधबार धानको विधिपूर्वक पूजाआजा एवम दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान,गणेश,कुलदेवता,गैडु देवता,गोठ देवता,महारुद्र र महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल,बाबर,पुरी र मालपुवा बनाएर चढाउने परम्परा रहेको छ।
यसअघि नवअन्न प्राशन नगरेकाले आजै नवान्न प्राशन गर्नुपर्ने धर्मशास्त्रविद् एवम नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर,भक्तपुरको अनन्तलिङ्गेश्वर,काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा समेत मेला लाग्ने गर्दछ।
बुधबार योःमरि पूर्णिमा (योमरी पुन्हि)
नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले बुधबार योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो,चाकु र तिलबाट बनाइन्छ।
योःमरि बनाउन बुधबार बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइ धुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ।यो पर्वलाई नेवार समुदायले पनि नवअन्न प्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविदहरु बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन्।साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योःमरि सगुनका रूपमा उपहार पठाउने चलनसमेत नेवार समुदायमा रहेको छ।बुधबार विभिन्न समुदायले आफ्नो कुल पूजा समेत गर्ने गर्छन् ।नेपाल सरकारले धान्यपूर्णि, योःमरि पूर्णिमा (योमरी पुन्हि)को अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।