प्रथम हरिपुर गोल्डकपको दोस्रो खेलमा चन्द्रनिगाहपुरको जीत

207 Shares

सर्लाहीको हरिपुर नगरपालिकामा प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को दोस्रो खेलमा चिडियादह स्टार चन्द्रनिगाहपुरले जीत निकालेको छ ।हरिपुर नगरपालिका २ सानो जगतपुरस्थित खेल मैदानमा भएको खेलमा चपुरले हेटौंडा फुटबल एकेडेमी मकवानपुरमाथि ३ ० गोल अन्तरले जीत निकालेको आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए।उनका अनुसार चिडियादहलाई जिताउन दुई गोल गर्ने टिम क्याप्टेन विज्ञान खड्काले म्यान अफ द म्याच बन्दै नगद रु एक हजार पाँच सय प्राप्त गरेका छन् । विभिन्न १० वटा टिमको सहभागीतामा आईतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्ट फुटबल एकेडेमी लालबन्दी नगरपालिका ५ ले गोलबजार स्पोर्टस् क्लब सिरहालाई १  ० गोलअन्तरले पराजित गर्दै जीत निकालेको थियो ।
हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ को आर्थिक सहयोगमा नव संघर्षशील यूवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको बिजेतालाई ट्रफीसहित रु एक लाख ५० हजार र उपबिजेतालाई रु ७५ हजार प्रदान गरिने आयोजक हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियारले बताए ।उनका अनुसार पुस १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालन गर्न हरिपुर नगरपालिकाले रु चार लाख र हरिपुर नगरपालिका २ ले रु पाँच लाख गरी कुल रु नौ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई रु एक हजार पाँच सय,प्रतियोगिताभरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार र प्रतियोगिता कै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद रु आठ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगिताको तेस्रो खेलमा मंगलबार हरिपुर युवा समूह हरिपुर र टि.एस.पि. धनुषा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पछिल्लो समय स्थानीयस्तर मै खेलाडी उत्पादन तथा प्रोत्साहन गर्न भन्दै स्थानीय तहहरुले विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी रहेका छन्।सर्लाहीको बागमती नगरपालिकाले मधेश प्रदेश मै सबै भन्दा ठूलो धनराशीको राजर्र्षि जनक कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा नगर प्रमुख भरत कुमार थापालाई भ्रष्ट्राचार सम्बन्धी मुद्धा लागेपछि सो कार्य अहिले अन्यौलमा परेको छ ।

सम्बन्धित समाचार