सर्लाही क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ।सर्लाही क्षेत्र नं. १ मा क्षेत्रीय कार्य समिति,महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि बसेर सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ हरिपुर नगरपालिका ७ का रामचन्द्र चौधरी,लालबन्दी नगरपालिका १३ का शम्भुलाल श्रेष्ठ र लालबन्दी नगरपालिका १ की मन्दिरा आचार्यको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चन्दा चौधरी,दीपक अधिकारी,योगराज देवकोटा लगायतले इच्छा व्यक्त गरेका थिए ।
यस्तै क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ इश्वरपुर नगरपालिका ८ की सुशीला कार्की र लालबन्दी नगरपालिका २ का इस्किलाल पासवानको नाम सिफारिस गरिएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ ले जनाएको छ ।राष्ट्रिय सभामा चन्द्रनगर गाउँपालिका ७ का सत्यदेव सिंह दनुवार,इश्वरपुर नगरपालिका ११ का महेन्द्र महतो र लालबन्दी नगरपालिका ७ का सीताराम दाहाल लगायतले दावी गरेका छन् ।
यस्तै सर्लाही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ मलंगवा नगरपालिका ८ का जयहरि श्रेष्ठ (राजु),कौडेना गाउँपालिका २ का डा.सरोज कुमार राय यादव र हरिपुर्वा नगरपालिका ८ की धनमन्तरी यादवको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति एवम प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री कौशलकिशोर रायले बताए।उनका अनुसार सर्लाही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा समानुपातिकतर्फ मलंगवा नगरपालिका ११ का लक्ष्मण राय र हरिपुर्वा नगरपालिका ५ की अनिता देवी यादवको नाम सिफारिस गरिएको छ।राष्ट्रिय सभामा ईश्वरपुर नगरपालिका १५ का ब्रम्ह नारायण चौधरी र मलंगवाका सहरुल खातुनको नाम सिफारिस गरिएको छ ।त्यसैगरी,सर्लाही क्षेत्र नम्बर ३ को क्षेत्रीय भेला हुन बाँकी रहेकाले उम्मेदवारहरुको नाम टुङ्गो लगाउन बाँकी रहेको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले बताए ।उनका अनुसार शुक्रबार सर्लाही क्षेत्र नम्बर ३ को बैठक शुक्रबार बोलाइएको छ ।
त्यसैगरी सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय महामन्त्री गगन कुमार थापा र प्रदेश सभा सदस्य एवम नेपाली कांग्रेस मधेशका उपसभापति वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस भइसकेको छ।क्षेत्र नम्बर ४ बाट राष्ट्रिय सभामा पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय यादवको एकल नाम सिफारिस भइसकेको छ ।प्रादेशीक समितिहरुले चयन गरेर पठाएको नामावलीलाई जिल्ला कार्य समितिले बैठक बसेर प्रदेश तथा केन्द्रीय कार्य समितिमा नामावली पठाउने नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोजले बताए ।