सर्लाही सदरमुकाम मलंगवामा साना यात्रु बाहक सवारी साधनहरुकाे शान्तिपूर्ण प्रदर्शनका कारण सवारीसाधन सञ्चालन अवरुद्ध भएको छ । मलंगवा नगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै निर्माण भएको नयाँ बस पार्कबाट बस सञ्चालन गर्ने तयारी भए पछि आफुहरुपनि त्यहीबाट सञ्चालन हुन पाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका रौतहट सर्लाही यातायात प्रा.लि.र चमेलीमाई यातायात प्रा.लि.ले मंगलबार बिहानै देखि आफ्ना साना यात्रु बाहक सवारीसाधनहरु ठप्प पारेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन ।
मलंगवा नगरपालिका २ मा निर्माण भएको बसपार्कबाट आफुहरु पनि सञ्चालन हुनु पाउनु पर्ने भन्दै रौतहट सर्लाही यातायात प्रा.लि.का सचिव तुलसीराम कर्मचार्य र चमेलीमाई यातायात प्रा.लि.का अध्यक्ष नविन कुमार पासवानले संयुक्त हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापन पत्र बुझाएका हुन । मलंगवा नगरपालिका ९ स्थित कृषि विकास बैँकको जग्गाबाट सञ्चालन भई रहेको बसलाई पुस १ गते मंगलबारदेखि मलंगवा नगरपालिका २ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैबाट सञ्चालन ल्याउने तयारी गरेको जिल्ला प्रशासन कार्यालयले आफुहरु लामो समयदेखि नयाँ बसपार्कबाटै सञ्चालन भएको भएपनि बस जाने भएपछि आफुहरुलाई जिल्ला समन्वय समितिको प्राङ्गणमा पठाउने तयारी गरेपछि आफुहरुको ध्यानाकर्षण भएको रौतहट सर्लाही यातायात प्रा.लि.का अध्यक्ष राजेश कुमार मैनाली(राजकुमार)ले बताए ।
उनका अनुसार लामो समयदेखि मलंगवा नगरपालिका २ मा निर्माण भएको बसपार्कमा आफुहरुले म्याजिकहरु लगि राखेको भएपनि पछिल्लो निर्णय अनुसार मंगलबारबाट बस नयाँ बसपार्कमा जाने भएपछि म्याजिकहरुलाई जिल्ला समन्वय समितिको प्राङ्गणबाट मात्रै सञ्चालन हुन दिने भनेपछि आफुहरुको ध्यानाकर्षण भएकोले प्रदर्शन गरिएको हो । आफुहरुकाे मागमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले ज्ञापन पत्र बुझाउँन पुगेका आफुहरुलाई वेवास्था गरेका चमेलीमाई यातायात प्रा.लि.का अध्यक्ष नविन कुमार पासवानले बताए ।
सर्लाहीबाट सञ्चालित सार्वजनिक टाटा म्याजिक भ्यानले सर्लाही जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट सर्लाहीको सदरमुकाम मलंगवासम्म विगत १५ वर्षदेखि यातायात सेवा दिदै आइरहेको साथै करिब साढे तीन वर्षदेखि मलंगवा नगरपालिका २ स्थित नयाँ बसपार्कमा म्याजिक भ्यान पार्किङ्ग गरी यात्रुलाई सेवा दिदै आइरहेकोमा जिल्ला प्रशासन कार्यालय र मलंगवा नगरपालिकाले नयाँ बस पार्कमा पार्किङ गर्दै आएका आफुहरुलाई त्यहाँबाट विस्थापित गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा सार्न खोजिएको चमेलीमाई यातायात प्रा.लि.का अध्यक्ष पासवानको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिका मिलेर म्याजिक भ्यानलाई आर्थिक तथा विभिन्न खाले कठिनाई सृजना गर्नुका साथै जिल्लाका विभिन्न पालिकाहरुवाट सदरमुकाम मलंगवा स्थित विभिन्न सरकारी कार्यालयहरु तथा छिमेकी मुलुक भारतको सोनवरसासम्म जानु पर्ने यात्रुलाई सुविधाबाट बञ्चित गराउन खोजिएको साना यात्रु बाहक सवारीधनीहरुकाे आराेप छ ।
आफुहरुलाई पनि साविकै स्थान मलंगवा नगरपालिका २ स्थित नयाँ बसपार्कमै पार्किङ सेवा उपलब्ध गराई सेवा निरन्तता दिने वातावरण बनाइ दिनु दुई यातायात व्यवसायीहरुले माग गरेका छन् ।