दुधौली नगरपालिकालाई नेकपाको ध्यानाकर्षण र अख्तियारको छापामारी

221 Shares

सिन्धुलीको दुधौली नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी विभिन्न महत्वपूर्ण कागजात बरामद गरेको छ।दुधौली नगरपालिकाका विभिन्न विषयमा अख्तियारमा धेरै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले छापा मारेको हो। 
शिक्षामा भएको अनियमितता र शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयका साथै खरिद तथा भुक्तानी प्रक्रियामा अनियमितता भएको आरोपमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ ।दुधौली नगरपालिकाका विकास आयोजनासँग सम्बन्धित ठूला परियोजना,राजस्व हिनामिना, आर्थिक प्रशासन तथा खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरूको प्रतिलिपि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
त्यसैगरी,दुधौली नगरपालिकामा देखिएका शिक्षा,कृषि,स्वास्थ्य र पूर्वाधारसम्बन्धी गम्भीर समस्या तथा विवाद प्रति नेपाली कम्युनिष्ट पार्टी दुधौली नगर समितिले गम्भीर ध्यानाकर्षण गराएको छ ।उक्त ध्यानाकर्षण पत्रमा मंसिर २८ गते सञ्चालन गरिएको शिक्षक छनोट परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनु अघि नै उत्तरसहित सार्वजनिक भएको घटनालाई गम्भीर लापरबाहीको संज्ञा दिँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी दुधौली नगर समितिले शिक्षक छनोट जस्तो संवेदनशील विषयमा गोपनीयता र निष्पक्षता कायम हुन नसक्दा सामुदायिक विद्यालय र नगरपालिकाप्रति जनविश्वास कमजोर भएको उल्लेख गरिएको छ ।
यसका साथै अविरल वर्षाका कारण कृषकहरूले ठूलो क्षति व्यहोर्नु परेको भन्दै क्षतिग्रस्त किसानहरूलाई यथोचित राहत उपलब्ध गराउन,जनस्वास्थ्यतर्फ दुधौली नगर अस्पताल सिर्थौलीबारे विभिन्न विवाद सार्वजनिक भएपछि गठन गरिएको छानबिन समितिले ढिलाइ नगरी छिटो सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र नियमित स्वास्थ्य सेवा तत्काल सुचारु गर्न,सिन्धुली–जिनाखु–अरुणकुमार–कटारी सडकखण्ड अन्तर्गत जिनाखु खोलामा निर्माणाधीन पुलको विषयमा देखिएको लापरबाही,उक्त पुल सिन्धुली–दुधौली–कटारी जोड्ने महत्वपूर्ण संरचना भएकाले निर्माण कार्यमा संलग्न ठेकेदार,प्राविधिक तथा अनुगमनकर्ताको जिम्मेवारी निर्धारण गरी दोषीमाथि कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टी दुधौली नगर समितिले जोडदार माग गरेको छ।नेपाली कम्युनिष्ट पार्टी दुधौली नगर समितिले स्थानीय सरकारलाई जनताको शिक्षा,स्वास्थ्य, कृषि र पूर्वाधारप्रति जिम्मेवार बन्न आग्रह गर्दै यथाशीघ्र समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी समेत दिएको छ । 

सम्बन्धित समाचार