नगर अस्पताल सिर्थौलीमा पनि अख्तियारको छापा,सोधपुच भएको स्वीकार

277 Shares

सिन्धुलीको दुधौली नगरपालिका र दुधौली नगर अस्पताल सिर्थौलीमा अख्तियार दुरुपयोग पनि अख्तियारले छापामारी गरेको भएपनि नगर अस्पतालमा अख्तियारले मारेको छापामारीलाई गुपचुप राखिएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार औषधी खरिद प्रक्रियामा अनियमितता,मेडिकल सुपरिटेन्डेन्टको तलब तथा सेवा–सुविधा,आवश्यक मेसिन तथा उपकरण खरिद सम्बन्धी विषयमा अख्तियारमा उजुरी परेपछि छापा मारिएको हो।तर अख्तियारले नगर अस्पतालमा छापामारी गरेको भएपनि अस्पताल प्रशासन र सरोकारवालाले उत्त विषयलाई गुपचुप राखेपछि स्थानीयस्तरबाट प्रश्न उठ्न थालेको छ।
अख्तियारमा परेको उजुरीमा नगर अस्पतालभित्र नीतिगत तथा आर्थिक अनियमितता भएको उल्लेख गरिएको छ।छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले नेपाल सरकारले तोकेको तलब भत्तामै दुई वर्ष सेवा गर्नुपर्ने स्पष्ट सम्झौता हुँदाहुँदै मासिक रु चार लाख २७ हजार तलब दिइएको,भिडियो एक्स–रे सेवामा ७० प्रतिशत शुल्क लिइएको तथा मनोचिकित्सा सेवा अत्यावश्यक नहुँदा पनि चिकित्सकलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिइएको उजुरीमा उल्लेख रहेको स्रोतले जनाएको छ।
त्यसैगरी अ.हे.व तथा अ.न.मी. पदका लागि विज्ञापन गर्दा मासिक रु १८ हजार मात्रै तलब तोकिए पनि पछि नेपाल सरकारले तोके अनुसारको तलब–भत्ता दिइएको,समितिको निर्णय अनुसार अस्पतालको आम्दानी तीन दिनभित्र बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था कार्यान्वयन नभएको र रकम अपचलन भएको आशंका गरिएको छ।नीति,विधि र प्रक्रिया विपरीत पहुँचका आधारमा नगर अस्पतालमा कर्मचारी नियुक्त गरी तलब–भत्ता दोहन गरिएको भन्दै नियुक्तिको आधार खोजी गरी कारबाही गर्नुपर्ने मागसमेत उजुरीमा गरिएको छ।आवश्यक कागजात नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान सुरु गरेको भएपनि नगर अस्पताल प्रशासन र दुधौली नगरपालिकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन्।अख्तियारको छापामारीलाई गोप्य राखिएपछि दुधौली नगर अस्पतालको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठेको स्थानीयको भनाई छ।
यता,अख्तियारले अस्पतालमा छापामारी नगरी केही सोधपुछ गरेको दुधौली नगर अस्पताल सिर्थौलीका प्रमुख डा.सुमन सिंह कार्कीले बताए।विशेषज्ञ चिकित्सकले मासिक रु तीन लाख तलब दिने भन्ने दुधौली नगरपालिका÷नगर कार्यापालिकाले निर्णय गरी सम्झौता गरेर संघीय, प्रादेशीक र स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै चिकित्सकहरुले काम गरि रहेको समेत उनले दाबी गरे।दुधौली नगर अस्पताल सिर्थाैलीको विषयमा यस अघिपनि अख्तियारमा उजुरी परेको र सो समयमा नगर अस्पतालको कुनै कमिकमजोरी नरहेको समेत उनले बताए ।नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक जगदीश मण्डल र दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवम दुधौली नगर अस्पतालका कार्य वाहक अध्यक्ष चन्द्र किशोर थारुलाई सो सम्बन्धमा बुझ्न फोन गर्दा उनीहरुको फोन उठेन् ।
त्यस्तै,दुधौली नगर अस्पतालमा अहिले नौ जना विशेषज्ञ चिकित्सक सहित ७० जना स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु कार्र्यरत रहेको नगर अस्पतालमा स्थानीय स्वास्थ्यकर्मीहरुका साथै निजी स्वास्थ्य संस्थाहरुले नगर अस्पताल राम्रो भएको देख्न नचाहेका कारण दुधौली नगर अस्पताल पटक पटक विवादमा पर्दै आएको स्थानीय स्रोतको दाबी छ।स्रोतका अनुसार नगर अस्पतालको सेवा सुविधा राम्रो हुँदा आफुहरुको निजी स्वास्थ्य संस्था धारासाही बन्ने अवस्था देखेपछि उनीहरुको इसारामा नगर अस्पताललाई विवादित बनाईएको हो।केही चिकित्सकहरुले केही समय पहिला पनि अस्पतालमा आन्दोलन गरेका थिए ।

सम्बन्धित समाचार