सर्लाहीको लालबन्दी नगरपालिका १ मा निर्माणाधीन अवस्थामा रहेको फुटबल रङ्गशालाको अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्थलगत अवलोकन गरेका छन् ।
लालबन्दी नगरपालिका १ नवलपुरको जीवेश्वर यूवा क्लबले निर्माण गरेको नवलपुर फुटबल रङ्गशालाको एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ,उपाध्यक्ष दावा लामा र प्रवक्ता सुरेश साहलगायतले स्थलगत अवलोकन गर्दै निर्माणाधीन फुटबल रङ्गशालाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका जीवेश्वर यूवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।उनका अनुसार मधेश प्रदेशकै उत्कृष्ट रङ्गशाला निर्माण भइरहेको प्रति एन्फाले खुसी व्यक्त गर्दै कागजी प्रक्रिया पूरा गरेर आए रङ्गशालामा आवश्यक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने एन्फाले प्रतिवद्धता व्यक्त गरेको छ ।
आफूहरुले अब लगत्तै प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकाले त्यसका लागि पनि सहयोग गरिदिन एन्फा नेतृत्वसँग आग्रह गरिएको क्बलका अध्यक्ष बुढाथोकीले बताए।“फिफा फुटबल फर स्कुल्स प्रोगाम”का लागि मधेश प्रदेश आइपुगेको एन्फा नेतृत्वले एक करोड बढी खर्च गरेर निर्माण गरिएको नवलपुर रङ्शालाको निरीक्षण गरेको हो ।
फुटबल रङ्गशालाको निरीक्षणमा मधेश प्रदेश फुटबल संघका महासचिव दीपक साह,सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ (विष्णु),महासचिव शिवहरि गौतम, जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसी,पूर्व अध्यक्ष अर्जुन चौधरी, लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिबहादुर भट्टराई,लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष एवम सर्लाही जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष गणेश बहादुर थापा, लालबन्दी नगरपालिका ६ का निवर्तमान वडाध्यक्ष उज्वल कुमार कार्कीलगायतको सहभागी रहेको थियो ।