मधेश प्रदेशका छ जिल्लालाई छोएर निर्माण हुने पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको पथलैया–ढल्केबर–कमला एक सय ३० किलोमिटर सडकको स्तरोन्नतिका लागि सर्लाहीको विभिन्न चार स्थान सहित पाँच स्थानमा अन्डरपास सडक निर्माण हुने भएको छ ।
करिब रु ३६ अर्ब ९२ करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको पथलैया–ढल्केबर–कमला एक सय ३० किलोमिटर सडकको स्तरोन्नतिका लागि सर्लाहीको लालबन्दी,नवलपुर,हरिवन र नयाँरोडका साथै धनुषाको वीरेन्द्र बजारमा अन्डरपास सडक निर्माण हुने वन तथा वातावरण मन्त्रालयले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकनमा उल्लेख गरिएको छ ।
एसियाली विकास बैंक (एडीबी)ले निर्माण गर्ने पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको पथलैया–ढल्केबर–कमला एक सय ३० किलोमिटर सडकको स्तरोन्नतिका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रस्तावक रहेको छ । सिरहाको कमला नदीबाट सुरु भएर बाराको पथलैया सम्म पथलैया–ढल्केबर–कमला एक सय ३० किलोमिटर सडकको स्तरोन्नति हुने भएको हो ।
मधेश प्रदेशको सिरहाको कमला नदीदेखि धनुषा,महोत्तरी,सर्लाही,रौतहट र बाराको पथलैया सम्म गरी छ जिल्लाका १५ नगरपालिका र एक उपमहा नगरपालिकालाई छोएर एक सय ३० किलोमिटर सडकखण्ड स्तरोन्नति हुने छ । यो सडकको हालको दुई लेन सडक र आवश्यकता अनुसार पुलहरूलाई चार लेनमा स्तरोन्नति गरिने वातावरणीय प्रभाव मूल्यांकनमा उल्लेख गरिएको छ।प्रस्तावित सडकको क्षेत्राधिकार मध्य रेखाबाट दुवैतर्फ २५/२५ मिटरको रहेको छ।
६ लेनको सडकमा दुई मिटरको साइकल ट्रयाक र ठाउँ अनुसार फुटपाथ र अन्य सुविधाहरू निर्माण गरिने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख गरिएको छ। प्रस्तावित सडकको क्षेत्रअधिकारभित्र ६४ घरधुरीका जम्मा ६६ वटा संरचनालाई आयोजनाले प्रत्यक्ष असर पार्ने छ।प्रभावित ६४ घरधुरीमध्ये २५ घरधुरीले आवास गुमाउने छन् भने ३५ घरधुरीले व्यापारिक घर गुमाउने र चार घरधुरीले आवास तथा व्यवसाय गुमाउने रिपोर्टमा उल्लेख गरिएको छ,साथै रिपोर्टमा करिब दुई सय चार अन्य विस्तारित आवास संरचनाहरू र चार वटा पेट्रोल पम्पका संरचनाहरू हटाउनु पर्ने उल्लेख छ।
यसैगरी,आयोजनाबाट थप दुई सय १६ वटा सार्वजनिक तथा सामुदायिक संरचनाहरू हटाउनु पर्ने छ।जसमा ३५ साना मन्दिर,आठवटा इनार,५५ बरपिपल चौतारा,६९ प्रतीक्षालय,पाँच वटा गेट, १२ वटा पर्खाल,चार वटा प्रहरी बिट,तीनवटा सार्वजनिक शौचालय,दुई वटा विद्यालयको विस्तारित संरचनाहरू,तीनवटा हाटबजारको छाना, एक सैनिक सुरक्षा जाँच पोष्ट,दुई प्रहरी जाँच पोष्ट,एक प्रहरी प्रतीक्षालय र १६ वटा सैनिक ब्यारेकका संरचनाहरू प्रभावित रिपोर्टमा उल्लेख छ ।
यसबाहेक सडक विस्तार गर्दा दुई हजार दुई सय २१ विद्युतीय पोल र ३३ हजार एक सय ६० मिटर पानीको पाइप लाइनमा बाधा पुग्न सक्ने रिपोर्टमा उल्लेख छ।प्रभावित हुने संरचनाहरूका क्षतिपूर्ति पुनवार्स कार्यायोजनामा रु एक करोड ४० लाख १६ हजार खर्च हुने अनुमान गरिएको छ। सार्वजनिक तथा सामुदायिक संरचनाहरूको पुनस्थापनाका लागि रु १० करोड ५६ हजार खर्च हुने अनुमान गरिएको छ।विद्युतीय पोल सार्न रु १५ करोड ५४ लाख ४७ हजार र खानेपानीका लागिका लागि रु आठ करोड २२ लाख २६ हजार खर्च हुने अनुमान गरिएको छ। साथै आदिवासी जनजाति विकास योजनाका लागी रु १६ लाख ८५ हजार खर्च हुने समेत रिपोर्टमा उल्लेख छ।
सम्रगमा वातावरणीय र सामाजिक व्यवस्थापनका लागि रु एक अर्ब दुई करोड १० लाख ५१ हजार खर्च हुने अनुमान गरिएको छ।यस सडक खण्डको विस्तार गर्ने चर्चा लामो समयदेखि भई रहेको भएपनि काम सुरु हुन भने सकेको छैन् ।